समाज

रौतहटमा बक्यौता नतिर्ने चार नगरपालिकाको लाइन काटियो

नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने रौतहटका चार नगरपालिकाको लाइन काटेको छ।

बक्यौता असुली अभियान अन्तर्गत प्राधिकरणको गौर वितरण केन्द्रले सरकारी निकायबाटै लाइन काट्न सुरु गरेपछि ५ करोड ५० लाख रुपैयाँभन्दा बढी राजस्व उठेको छ।

गौर वितरण केन्द्रका प्रमुख धीरेन्द्र यादवका अनुसार महसुल नबुझाउने रौतहटका ईशनाथ, राजदेवी, गरुडा र माधवनारायण नगरपालिकाको विद्युत लाइन काटिएको हो। पटक-पटक ताकेता गर्दा पनि बेवास्ता गरेपछि प्राधिकरण बाध्य भएर ‘एक्सन’ मा उत्रिएको हो।

केन्द्रले गत साउन १ देखि चैत १६ गतेसम्म महसुल नतिर्ने २ हजार ४५ जना ग्राहकको लाइन काटेको थियो। जसबाट ९ करोड ५५ लाख ८३ हजार ३९६ रुपैयाँ असुल गर्ने लक्ष्य राखिएकोमा हालसम्म १ हजार ७७२ ग्राहकबाट ५ करोड ५० लाख १५ हजार ३७७ रुपैयाँ उठिसकेको छ।

बक्यौता तिर्ने ग्राहकको लाइन पुनः जडान गरिएको प्राधिकरणले जनाएको छ।

लाइन पुनः जडान गर्दा लाग्ने ८ प्रतिशत दस्तुरवापत प्राधिकरणले थप १५ लाख ४९ हजार ६३५ रुपैयाँ राजस्व संकलन गरेको छ। चालु आर्थिक वर्षमा ‘कालोसूची’ मा परेका ६० ग्राहकबाट २४ लाख ४९ हजार ६३५ र विद्युत चुहावट गर्ने १२० जनाबाट १५ लाख ७६ हजार १२४ रुपैयाँ जरिवाना समेत असुल भएको प्रमुख यादवले जानकारी दिए।

लाइन काटिएपछि ईशनाथ र राजदेवी नगरपालिकाले बक्यौताको आंशिक भुक्तानी गर्दै बाँकी रकम पनि चाँडै तिर्ने प्रतिबद्धता जनाएका छन्। सम्झौतापछि ती दुई पालिकाको विद्युत आपूर्ति पुनः सुचारु गरिएको छ।

प्राधिकरणले महसुल नतिर्ने अन्य सरकारी कार्यालय तथा निजी प्रतिष्ठानलाई समेत बक्यौता चुक्ता नगरे विना सूचना लाइन काट्ने चेतावनी दिएको छ।

प्रकाशित: १८ चैत्र २०८२ २०:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App