भोजपुर, धनकुटा र उदयपुरको सीमाना स्थित सप्तकोशी नदिको त्रिवेणी घाटमा गत कार्तिक ८ गते भएको पानीबोट दुर्घटनको छानविनका लागि कोशी प्रदेश सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्रदेश सचिव आशमान तामाङको अध्यक्षतामा छानविन समिति गठन गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारका प्रवक्ता गोम्बु शेर्पाले जानकारी दिए ।
शेर्पाका अनुसार पानीबोट दुर्घटनाका विषयमा छानविन गरी प्रतिवेदन तयार पार्न समितिलाई ७ दिनको समयसमेत तोकिएको छ । गत आइतबार सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनमामा ३ जनाको मृत्यु भएको थियो भने तीन जना बेपत्ता भएका थिए ।
बैठकले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै हराइरहेका व्यक्तिहरूको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत गरेको प्रदेश सरकारका प्रवक्ता शेर्पाले बताए ।
शेर्पाका अनुसार बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२–८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ । कोशी प्रदेश समन्वयात्मक पर्यटक सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।
प्रकाशित: १० कार्तिक २०८३ १८:०२ मंगलबार
-600x400.jpg)


