मुख्य सडक बिस्तारको नाममा घर र भौतिक संरचना भत्काइएपछि आर्थिक नगरीका रूपमा परिचित वीरगन्ज शहर अहिले उजाड देखिएको छ।
पसल रहेको सटर र कार्यालय रहेको घरहरूलाई सडक डिभिजन कार्यालय हेटौँडाले भत्काएपछि व्यापार–व्यवसाय पनि अहिले ठप्प भएको छ।
गण्डक नहर चोक देखि वीरगन्ज भन्सार सम्मको मुख्य सडकको दुवै तिर रहेका पसल र कार्यालयहरू भत्किएको छ।
सडक विस्तारको नाममा सटर र घरहरू भत्काइएपछि व्यापार, व्यवसाय अनपेक्षित रूपमा घटेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडियाले गुनासो गरेका छन्।
रातारात गत वैशाख ६ र ७ गते गण्डक चोक देखि मितेरी पुलसम्मको मुख्य सडक क्षेत्रको दायाँ–बायाँ २५–२५ मिटर सीमा भित्र पर्ने करिब हजारौँ सटर र कार्यालय रहेको घर तथा भवनमा डोजर चलाइएको उनले बताए।
चार महिना देखि मुख्य सडक छेउको भौतिक संरचनालाई भत्काउने कार्य मात्र गरिएको केडियाले बताए। भत्काइएर खाली गरिएको जग्गामा सडकको निर्माण कार्य कहिले पूरा गर्ने हो कुनै ठेगान नरहेको उनले बताए।
वीरगन्जको मुख्य सडक छेउका घर धनीहरू अहिले तेहरो मारमा परेको उनले दुखेसो गरे। बिना मुआब्जा जग्गा लिएको, त्यस जग्गामा रहेको घर र कार्यालयहरू भत्काइएको र तेस्रो व्यापार ,व्यवसाय ठप्प पारिएको उनले बताए।
सयौँ वर्ष देखिको व्यापार, व्यवसायलाई चलेको मुख्य सडक छेउको व्यापार , व्यवसाय पूर्ण रूपले ठप्प पारिएको उनले बताए।
सटर भत्काउनु पहिला पसल र कार्यालयहरूबाट सात हजार भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएकोमा अहिले उनीहरूलाई राखेर तलब दिने अवस्था नरहेको उनले बताए।
वीरगन्जको घण्टाघर नजिकै रहेको कपडा र रेडिमेट पसल सञ्चालन गरेका श्रवण शर्माले आफ्नो व्यवसाय नै चौपट भएको गुनासो गरेका छन्।
पसल कवलहरू भत्काइएका कारण मालसामान किनमेल गर्न मुख्य सडकमा आउने ग्राहकहरूलाई फर्काउनु परि रहेको शर्माले बताए।
पसल कवल भत्काइए पछि पसलमा रहेका कपडा घरमा लगेर राखिएको उनले बताए। घरमा राखिएका कपडा लाई बिक्री नगरिए त्यसको पनि लगानी डुब्ने डर रहेको उनले बताए।
सडक छेउका घरको पसल कवलमा व्यवसाय गर्ने दोकानदारबाट फुटपाथे व्यापारी बनाउन बाध्य पारिएको गुनासो पनि शर्माले गरे।
मुख्य सडकको पसल कवल भत्काइएपछि वीरगन्जमै रहेका रेल्वे रोड, ३ नम्बर रोड, रानीघाट, आदर्श नगर क्षेत्रमा व्यापारीहरूले सटर भाडामा लिन खोज्दा धेरै महँगो भन्ने गरेको पनि उनले बताए।
सामान्य अवस्थामा एउटा पसल कवलको भाडा प्रतिमहिना पाँच हजार रुपैयाँ लिने घर धनीहरूले अहिले २५ हजार माग्ने गरेको शर्माले बताए।
नयाँ पसल कवल भाडामा लिन जाँदा घरधनीहरूले धरौटी भन्दै चार लाख रुपैयाँसम्म अग्रिम रकम अहिले माग्ने गरेको पनि उनले बताए।
वीरगन्जको सडकलाई राजमार्गको मापदण्ड अनुसार निर्माण कार्य अगाडी बढाइएको कारणले पुराना बस्ती, धार्मिक सम्पदा, व्यावसायिक संरचना पूर्ण रूपमा क्षति गरिएको उनले बताए।
वीरगन्ज ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक महत्त्व बोकेको पुरानो सहर भएकाले त्यसको विकल्प खोज्नुको साटो घर र बस्तीहरू भत्काइएकोमा केडियाले गुनासो गरे।
प्रकाशित: १ भाद्र २०८३ १८:४९ सोमबार



