रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हराइरहेका उदयपुरका १६ जनामध्ये एक जनाको शव फेला परेको छ।
ज्याला मजदुरी गर्न रसुवा पुगेका कटारी नगरपालिका-५ भोर्लेका ४० वर्षीय मोहनबहादुर सार्कीको शव चितवनमा भेटिएको हो।
बाढीपछि कटारी-५ भोर्लेबाट मात्रै ५ जना बेपत्ता भएका थिए। जसमध्ये एक जना केही दिनअघि सकुशल सम्पर्कमा आएका थिए भने बाँकी ४ मध्ये सार्कीको शव फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। प्रहरीले प्राप्त गरेको शवको तस्बिर हेरेर आफन्तले प्रारम्भिक रूपमा मोहनबहादुरकै भएको पहिचान गरेका छन्।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी उपेन्द्र खरेलले तस्बिरबाट आफन्तले पहिचान गरे पनि भौतिक रूपमा शवको तथ्य पुष्टि गर्न बाँकी रहेको बताए। शव यकिन गर्न र बुझ्नका लागि सार्कीका आफन्तजन शुक्रबार चितवनतर्फ जान लागेको उनले जानकारी दिए।
रसुवामा आएको बाढीमा उदयपुरका विभिन्न स्थानीय तहका २१ जना नागरिक बेपत्ता भएका थिए। जसमा ३ जना नेपाली सेना, २ जना जलविद्युत् आयोजनाका इन्जिनियर र अन्य पावरहाउस तथा सुरुङमा काम गर्ने मजदुरहरू रहेका थिए।
तीमध्ये हालसम्म ५ जना भने जीवितै सम्पर्कमा आएका छन्। सकुशल सम्पर्कमा आउनेहरूमा कटारी-५ का ४५ वर्षीय प्रेम रोक्का, उदयपुरगढी-१ बाहुनीटारका सुमन तामाङ र जीवन तामाङ, त्रियुगा नगरपालिका-९ गहिरुनका भोलाराज कार्की र त्रियुगा नगरपालिका-२ खैजनपुरका अनिल कामी रहेका छन्।
बाँकी १५ जना नागरिक अझै पनि सम्पर्कविहीन छन्। आफ्ना मान्छे हराएको लामो समय बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारजन भावविह्वल अवस्थामा छन्।
प्रकाशित: १८ भाद्र २०८३ २२:२२ बिहीबार



