बर्दिया राष्ट्रिय निकुञ्जभित्र सिकार खेल्न गएका एक युवक १७ दिनपछि मृत भेटिएका छन्। सुर्खेतको बराहताल गाउँपालिका–२ रानीघाटका ३३ वर्षीय टोपबहादुर खत्री फागुन २३ गतेदेखि बेपत्ता भएका थिए। उनको शव सोमबार भेटिएपछि घटना रहस्यमय बनेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सोमबार संयुक्त खोजी टोलीले उनको शव फेला पारेको हो। खोजीकार्यमा बाँके र सुर्खेत प्रहरीसँगै निकुञ्जका सुरक्षाकर्मी पनि संलग्न थिए। शव भेटिएको स्थान बर्दिया जिल्लाभित्रै पर्छ।
खत्री सिकार खेल्न ६ जनाको समूह गएको थियो। उनीहरूसँगै बराहताल गाउँपालिका–१ का रेशम समसेली, रविलाल दमाईं, रामबहादुर घर्ती, सुनील समसेली तथा लेकबेँसी नगरपालिका–८ का दुर्गाबहादुर सिजाली रहेका थिए। उक्त समूह भरुवा बन्दुक र घरेलु हातहतियार बोकेर झण्डै १७ किलोमिटर पैदल हिँड्दै निकुञ्ज प्रवेश गरेको बताइएको छ।
घटनापछि फागुन २४ गते साँझ ५ जना मात्रै घर फर्किएका थिए। उनीहरूले खत्री जंगलमै मृत्यु भएको बताएका थिए, तर मृत्युको स्पष्ट कारण खुलाएका थिएनन्। उनीहरु सोही रात परिवारलाई थाहै नदिइ गाउँ छाडेर फरार भएका थिए।
स्थानीयका अनुसार उनीहरू पहिले पनि सिकार खेल्न जाने गर्थे। यस घटनाबारे सुरुमा गाउँमै गोप्य राखिएको थियो। पछि केही दिनपछि मात्रै हल्ला फैलिएपछि प्रहरीसम्म जानकारी पुगेको थियो। त्यसपछि मात्रै खोजीकार्य सुरु गरिएको थियो।
प्रारम्भिक रूपमा खत्री लड्दा बोकेको बन्दुक पड्किएर मृत्यु भएको दाबी गरिए पनि घटनाको यथार्थ कारण अझै खुल्न सकेको छैन। घटनामा संलग्न अन्य पाँच जना हालसम्म सम्पर्कमा नरहेकाले अनुसन्धान जटिल बनेको प्रहरीले जनाएको छ।
यस घटनाले बर्दिया राष्ट्रिय निकुञ्ज भित्र हुने अवैध सिकार गतिविधि र सुरक्षाको अवस्थामाथि पुनः गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीले फरार व्यक्तिहरूको खोजी गर्दै घटनाको वास्तविकता पत्ता लगाउने प्रयास जारी राखेको छ।
प्रकाशित: ९ चैत्र २०८२ १७:१६ सोमबार



