समाज

पाँच वर्षदेखि बरातु-सियाँला-रेङ्गिल सडक अलपत्र

कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिकाको बरातु-सियाँला हुँदै रेङ्गिल जोड्ने सडक पाँच वर्षदेखि अलपत्र अवस्थामा रहेको छ।

आर्थिक वर्ष २०७८/७९ देखि निर्माण सुरु गरेको सडक योजना ठेकेदार कम्पनीको लापरबाही, ढिलासुस्ती र सरोकारवाला निकायको उदासिनताका कारण अलपत्र परेका हो। समयमै सडकको काम सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नु परेको छ।

बरातु-सियाँला हुँदै रेङ्गिल जोड्ने सडकको ट्याक खोल्नका लागि २०७८/१/२६ गते मार्गदेवी निर्माण सेवाले २ करोड ८७ लाख ९७ हजारमा सम्झौता गरेको थियो। उक्त मितिले २०७९/६/२५ गते भित्र काम सम्पन्न गरी सक्नुपर्ने थियो। सो समयमा काम सम्पन्न नभएपछि २०८१/६/३० भित्र काम सम्पन्न गर्ने गरी पहिलो पटक म्याद थप भएको थियो। निर्धारित अवधिमा काम नसकिएपछि २०८२/१/२६ मा दोस्रो पटक म्याद थप गरेर २०८२/१२/३० मा सडकको काम सक्नुपर्ने उल्लेख छ। तर हालसम्म सडकको कामले गति लिन सकेको छैन।

मार्गदेवी निर्माण सेवा तथा ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण सडक अलपत्र पारेको खाँडाचक्र नगरपालिकाका युवा महेश भारतीले बताए। सडक निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी काम छाडेर सम्पर्कविहीन भएको उनको भनाइ छ।

पूर्वाधार विकास कार्यालय कालीकोटले पटक-पटक ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्पर्कमा आएका छैनन्। बरातु-सियाँला-रेङ्गिल सडकको अहिलेसम्म २३ प्रतिशत भौतिक प्रगति भएको जनाइएको छ।

सडक स्तरोन्नतिका लागि निर्माण व्यवसायीले काम नगरेका कारण सडक निर्माणमा ढिलासुस्ती भएको पूर्वाधार विकास कार्यालय कालीकोटका प्रमुख प्रभाकरप्रसाद सिंहले जानकारी दिए। निर्माण व्यवसायीलाई कार्यस्थलमा फर्किएर सडक निर्माण सुरु गर्न पटक-पटक निर्देशन दिए पनि अटेरी गरेको उनले बताए।

कार्यालय प्रमुख सिंहले फोन र पत्रमार्फत निर्माण व्यवसायीलाई ताकेता गरिए पनि निर्माण व्यवसायी निर्मल रिजाल सम्पर्कमा नआएको बताए। ‘निर्माण व्यवसायीलाई फोन र पत्रमार्फत ताकेता गरेका छौँ,’ उनले भने, ‘मन्त्रालयमा जानकारी गराएर जमानत जफतका लागि कृषि विकास बैंकलाई दोस्रो पटक पत्राचार गरिएको छ।’  

दोस्रो पटक म्याद थपिएको समय समेत सकिन लाग्दा पनि व्यवसायीले सडकको कामको प्रक्रिया अघि नबढाएको उनले बताए।  

पाँच वर्षदेखिको सडककाे कामले पूर्णता नपाउँदा नागरिकले सास्ती खेप्नुपरेको स्थानीय माधवप्रसाद पाण्डेले बताए। पटकपटक स्थानीयले समेत ध्यानाकर्षण गरेकाे बताउँदै तत्काल कार्यालयले सडक निर्माण कम्पनीलाई कारबाही गर्नुपर्ने भनाइ राखे।

मार्गदेवी निर्माण कम्पनीका निर्मल रिजालले सडकको डिजाइन नै फेल भएको बताए। उनका अनुसार ट्र्याकका लागि मात्र काम दिएको हुँदा धेरै पटक यो सडकको काम सम्पन्न गर्न स्ट्रक्चरको काम मागका लागि पूर्वाधार कार्यालय कालीकोट र प्रदेशको भौतिक पूवाधार मन्त्रालयमा समेत पुग्दा न सच्याइएको बताए। उनले चट्नी र पापड भागमा ग्याविन तथा अन्य स्ट्रक्चरका कुनै काम नभएपछि ट्र्याक खोल्दा धेरै समस्या खेप्नु परेको जिकिर गरे।

अबको केही दिनभित्र काम सुरु गर्ने गरी तयारी थालेको बताउँदै अहिलेसम्म कुनै पनी हकमा काम रोक्न नखोजेको उनको भनाइ छ।

प्रकाशित: १९ चैत्र २०८२ १३:१४ बिहीबार