अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबारअघि नै इरानसँगको युद्ध अन्त्य गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता सार्वजनिक गर्न सक्ने अमेरिकी उपराष्ट्रपति जेडी भ्यान्सले बताएका छन्।
यसअघि राष्ट्रपति ट्रम्पले उक्त सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका थिए।
उपराष्ट्रपति भ्यान्सले यो समझदारीपत्र (एमओयू) करिब डेढ पानाको र सामान्य रहेको बताएका छन्। सम्झौतामा ट्रम्प, भ्यान्स र इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले इलेक्ट्रोनिक माध्यमबाट हस्ताक्षर गरिसकेको अमेरिकी अधिकारीहरूले जनाएका छन्।
आगामी शुक्रबार जेनेभामा औपचारिक रूपमा सम्झौता पत्रमा हस्ताक्षर भएसँगै रणनीतिक महत्त्वको हर्मुज जलडमरुमध्य (स्ट्रेट अफ हर्मुज) पुनः खुल्नेछ।
इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिका र इरानबीच अन्तिम शान्ति सम्झौताका लागि नयाँ चरणको वार्ता सोही दिन स्विट्जरल्यान्डमा सुरु हुने बताए। फ्रान्समा आयोजित जी-७ शिखर सम्मेलनका क्रममा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको भेटमा ट्रम्पले प्रारम्भिक सम्झौता र हस्ताक्षरबाट आफू निकै खुसी रहेको बताएका थिए।
सम्झौताले ६० दिनका लागि युद्धविराम थप गर्नेछ, जसका आधारमा दुवै पक्षले अन्तिम सम्झौताको विस्तृत विवरणमाथि छलफल गर्नेछन्। कतारसँगै मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले यस सहमतिमा लेबनानसहित सबै मोर्चामा सैन्य कारबाहीको तत्काल र स्थायी अन्त्य समावेश रहेको बताएका छन्।
यद्यपि, अमेरिकी अधिकारीहरूले युद्धविरामको ढाँचाभित्र लेबनान परे पनि लेबनानी क्षेत्रबाट इजरायली सेना फिर्ता हुनु सम्झौताको सर्त नभएको स्पष्ट पारेका छन्। इजरायलले आफ्नो आत्मरक्षाको अधिकार कायम राख्ने उनीहरूको भनाइ छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायली सेना लेबनान, सिरिया र गाजाका सुरक्षा क्षेत्रमा आवश्यक भएसम्म रहने बताएका छन्। उनले सम्झौता भए पनि वा नभए पनि इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याएका छन्।
दक्षिण लेबनानमा हालै भएको इजरायली आक्रमणमा चार जनाको मृत्यु भएपछि हिजबुल्लाहले पनि इजरायली सेनामाथि रकेट र ड्रोन प्रहार गरेको छ। इरानी विदेशमन्त्री अराघचीले लेबनानमाथि इजरायलको कुनै पनि आक्रमण वा सैन्य उपस्थितिलाई यस प्रारम्भिक सम्झौताको उल्लंघन मानिने चेतावनी दिएका छन्।
उनले यस समझदारीमा एकातर्फ अमेरिका र इजरायल तथा अर्कोतर्फ इरान र हिजबुल्लाह पक्ष रहेको बताएका छन्।
यस सम्झौताअनुसार यसै साता इरानको आणविक कार्यक्रमबारे प्राविधिक वार्ताहरू सुरु हुनेछन्। उपराष्ट्रपति भ्यान्सले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई निश्चय नै इरान प्रवेशको अनुमति दिइने बताएका छन्।
सम्झौताको मुख्य बुँदामध्ये एक, आईएईए र अमेरिकाले इरानको उच्च संवर्द्धित युरेनियमको भण्डार नष्ट गर्न सहयोग गर्ने कुरा स्पष्ट उल्लेख गरिएको छ।
समझदारीपत्रमा इरानले क्षेत्रीय शान्ति र स्थिरता कायम राख्ने तथा आतंकवादी संगठनहरूलाई आर्थिक सहयोग रोक्ने प्रतिबद्धता जनाएको छ। आणविक हतियार नबनाउने प्रतिबद्धताको पुष्टि भएपछि मात्र इरानमाथिको प्रतिबन्ध फुकुवा हुने वा रोक्का गरिएका सम्पत्तिहरू खुला हुनेछन्।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले कतारको मध्यस्थतामा तेहरानमा भएको १५ घन्टा लामो वार्तापछि यो सहमति जुटेको बताए। यद्यपि, इरानी विदेश मन्त्रालयले अमेरिकाप्रति अझै अविश्वास रहेको र यो सम्झौता तनाव कम गर्ने एउटा कदम मात्र भएको जनाएको छ।
उता लेबनानका राष्ट्रपति जोसेफ आउनले यस सहमतिको स्वागत गर्दै यसले हिंसाको चक्र अन्त्य गर्न व्यावहारिक कदमको रूप लिने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित: २ असार २०८३ १५:२४ मंगलबार



