समाज

सकसपूर्ण दसैँ यात्रा

फाइल तस्बिर

सामान्य अवस्थामा पनि हरेक वर्ष दसैँको यात्रा निकै सकसपूर्ण हुन्छ। चाहे त्यो हवाईजहाजको यात्रा होस् वा सडक यात्रा, दुवै कष्टकर हुन्छ। 

सङ्घीय राजधानी काठमाडौँ बाहिरका गन्तव्य जाने र दसैँ सकिएपछि गन्तव्य फर्किने नागरिकको सङ्ख्या अत्यधिक भएकाले हरेक वर्ष दसैँको यात्रा कष्टकर हुन्छ। हवाई उडान महँगो भए पनि यात्रुले सहज रूपमा टिकट पाउँदैनन्। बसको टिकट पाउन पनि मुस्किल पर्छ। सधैँजसो दसैँको सकसपूर्ण यात्रालाई यस पटकको प्राकृतिक विपत्तिले झनै सकसपूर्ण बनायो।  

दसैँको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० सम्म निरन्तरको भारी वर्षाले मुलुकभरको जनजीवन प्रभावित भयो। मानवीय क्षति व्यहोर्नुपर्‍यो। राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू अवरुद्ध भए। हवाई आवागमन पनि एक दिन पूर्ण रूपमा अवरुद्ध भयो। असोज १८ गते प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द भए। उक्त दिन प्रतिकूल मौसम र खराब ‘इनरुट’का कारण हवाई उडान रद्द हुँदा उडानमा अत्यधिक चाप बढ्यो।  

वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले हरेक वर्ष दसैँमा उडान चाप व्यहोरिरहेका हवाई कम्पनीलाई यसपटक दसैँमै भएको प्राकृतिक विपत्तिले उडान चाप हुँदा यात्रुले निकै सकस व्यहोर्नुपरेको बताए। उनले भने, ‘दसैँमा सामान्य अवस्थामा पनि हवाई उडानमा अत्यधिक चाप हुन्छ। यसपटक प्राकृतिक विपत्तिले झनै सास्ती दियो। गन्तव्य पुगेकालाई फर्कन झनै सकस भयो। सडक अवरुद्ध हुँदा हवाई उडान चाप बढ्यो।’  

दसैँमा आवतजावत गर्ने महत्त्वपूर्ण माध्यम सडक र हवाई यातायात नै हो। अझ प्रभावकारी यातायातका रूपमा हवाईसेवालाई लिइन्छ। बर्सेनि दसैँमा यात्रुलाई हवाई जहाजको टिकट पाउन सकस हुन्छ। वायुसेवा प्रदायक कम्पनीले दसैँ आउन एक महिनाअघि नै जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन्।  

उसै पनि दसैँमा चाप हुने गरेको हवाई उडानमा वर्षापछिको बाढीपहिरोको विपत्तिले थप समस्या निम्त्यायो। यात्रुले महँगो मूल्य तिरेर पनि हवाई टिकट पाउन सकेनन्। समस्यामा परेका यात्रु दुई÷चार दिनसम्म टिकटका लागि भौतारिनुपर्‍यो। हवाईसेवा कम्पनीलाई पनि यात्रुको चाप र प्रेसर धान्न ठूलै सकस भयो। यात्रुलाई मागबमोजिम टिकट उपलब्ध गराउन नसक्नु र हवाई उडान व्यवस्थापनको चुनौतीले एयरलाइन्स कम्पनीले पनि उत्तिकै सकस व्यहोरे। यात्रुको चाप बढेपछि एयरलाइन्सले केही गन्तव्यमा उडान थपेर पनि सेवा दिए। राति २:०० देखि ३:०० बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता रह्यो।  

दश दिनमा एक लाख ३४ हजारले गरे हवाईयात्रा  
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्याङ्कअनुसार दश दिनमा करिब डेढ लाखले हवाईयात्रा गरे। असोज १२ देखि २१ गतेसम्म कुल एक लाख ३४ हजार ५१५ यात्रुले हवाईयात्रा गरे। यसमध्ये ७४ हजार ५९१ यात्रु बाहिरिए भने ५९ हजार ५४४ यात्रु काठमाडौँ भित्रिए। उक्त अवधिमा एक हजार २८५ उडान र एक हजार २६३ अवतरण गरी कुल दुई हजार ५४८ उडान भए।  

एकै दिन १९ हजार २५५ हवाईयात्रु  
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार गत असोज २० गते आन्तरिकतर्फ एकैदिन १९ हजार २५५ यात्रु आवतजावत गरे। जसमध्ये नौ हजार ९३६ हवाई यात्रु काठमाडौँ भित्रिए भने नौ हजार १३८ बाहिरिए। एक सय ८१ यात्रुले पर्वतीय उडान (माउन्टेन फ्लाइट) गरे। उक्त दिन आन्तरिकतर्फ १६४ उडान र १६० अवतरण गरी ३२४ उडान भए।  

आकडाअनुसार असोज १२ गते १४ हजार १८९, १३ गते १३ हजार १३५, १४ गते ११ हजार ७६९, १५ गते ११ हजार ८९१, १६ गते १३ हजार ३०९, १७ गते १६ हजार ३४५, १८ गते मात्र ६०३, १९ गते १६ हजार ३००, २० गते १९ हजार २५५ र २१ गते १७ हजार ७२२ यात्रुले हवाईयात्रा गरे।  

वर्षाले सडक अवरुद्ध भएपछि सडक सवारीसाधनबाट यात्रा गर्ने यात्रुले पनि हवाईयात्रा रोज्नुपर्ने बाध्यता भएकाले यसपटक हवाई उडानमा बढी चाप भएको सङ्घका अध्यक्ष कार्कीले बताए। यात्रुको चापले एयरलाइन्सलाई उडान व्यवस्थापन गर्न पनि कठिनाइ भएको उनको भनाइ छ।  

दसैँको समयमा भएको प्राकृतिक विपत्तिले एयरलाइन्सलाई उडान व्यवस्था गर्न निकै चुनौती भएको बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले बताए। ‘दसैँको एक दिन सम्पूर्ण उडान रद्द हुँदा त्यसको तीन चार दिनसम्म उडान व्यवस्थापन गर्न कठिन भयो,’ उनले भने, ‘बिहीबारसम्म एयरलाइन्सलाई उडान व्यवस्थापनमा समस्या भएको छ। शनिबारदेखि सामान्य अवस्थामा आउला।’  

बुद्ध एयरले मात्रै असोज २० गते एकै दिन ११ हजार र २१ गते ११ हजार हाराहारी उडान गरेको छ। कम्पनीले अहिले दुईतर्फी दैनिक १६० उडान गर्छ। उडान चाप बढेका बेला प्रतिकूल मौसमले उडान अवरोध हुँदा थप समस्या भएको निर्देशक जोशीको भनाइ छ।  

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दसैँको बेलाको प्राकृतिक विपत्तिले हवाई उडान व्यवस्थापनमा निकै सास्ती व्यहोर्नुपरेको बताए। उनले भने, ‘दसैँमै एक्कासि परेको वर्षाले प्रतिकूल मौसम हुँदा उडानमा समस्या भयो। गत वर्ष दसैँ अगाडि नै मनसुनी वर्षा भएकाले तुलनात्मक रूपमा दसैँमा उडान व्यवस्थापन गर्न कठिन भएको थिएन। यो पटक हवाईयात्रा सकसपूर्ण रह्यो।’ क्षमताभन्दा बढी उडान गर्नुपर्ने र टिकटका लागि यात्रुको प्रेसर थेगिनसक्नु रहेको प्रवक्ता बर्तौलाले बताए। यतीले अहिले दैनिक दुईतर्फी ६० देखि ७० उडान गर्छ।  

यता श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पनि यसपटक उडान व्यवस्थापन र यात्रुको चाप धान्न निकै कठिन भएको बताए। केही गन्तव्यमा उडान थपिए पनि उडान ‘डिले’ हुँदा व्यवस्थापनमा चुनौती बढेको उनले बताए। टिकटका लागि यात्रुको निकै प्रेसर थेग्नुपरेको उनले उल्लेख गरे। श्रीएयरले पनि दैनिक दुईतर्फी करिब ७० उडान गर्छ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको भाडादरअनुसार काठमाडौँदेखि सबैभन्दा लामो गन्तव्य धनगढीमा रु १७ हजार ५७९ र सबैभन्दा नजिक काठमाडौँ–सिमरामा रु तीन हजार ९७८ छ।  

अविरल वर्षापछि आएको बाढीले बिपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध हुँदा हवाईयात्रा गर्ने यात्रुलाई पनि निकै सास्ती भयो। हाइवेको बाटो लामो घुम्ती पार गरेर यात्रा गर्नुपर्ने भएकाले करिब ८ देखि १० घण्टाको यात्रा थप १० घण्टा लामो सकसपूर्ण यात्रा गर्नुपर्ने बाध्यता भयो। बसको भाडा पनि झण्डै दोब्बर तिर्नुपर्‍यो यात्रुले। उदाहरणका रूपमा धरानबाट काठमाडौँ आउने बोलेरो जिपले साबिकमा रु दुई हजार भाडा लिने गरेकामा दसैँमा रु तीन हजारदेखि चार हजारसम्म भाडा लिएको पाइयो। त्यसैगरी, कटारी–काठमाडौँ साबिकमा रु एक हजार २०० भाडा थियो। अहिले यात्रुले रु तीन हजारसम्म तिरेर यात्रा गर्न बाध्य भए।  

हरेक वर्ष दसैँमा गाउँघर पुगेर आफन्त र साथीभाइसँग रमाइलो गर्ने चाहना सबैलाई हुन्छ। तर, दसैँमा एयरलाइन्सको टिकट पाउन मुस्किल हुन्छ। हवाईयात्रुको चाप बढ्छ। सीमित जहाज र पर्याप्त उडान नहुँदा बर्सेनि हवाईयात्रुले सास्ती व्यहोर्छन्। हवाईयात्रा सहज, सुलभ र उडान सहजीकरण बनाउन सम्बन्धित निकायको बेलैमा ध्यान पुग्न जरुरी छ। रासस

प्रकाशित: २४ आश्विन २०८२ ०६:५९ शुक्रबार