समाज

बर्खामा त्रासपूर्ण यात्रा

फेरि सुरु भयो बाढी र पहिरो र डुवानको जोखिम

खोटाङ् खोटेहाङ् वडा नं. ३ की मनिषा राई इटहरीको जनता बहुमुखी क्याम्पस वीए तेस्रो वर्षमा अध्ययन गर्छिन् । हिउँदको बेला थुप्रैपटक आउँजाउँ गरेपनि बर्खाको बेला पहाड (भित्ता) झरेको झल्झली सम्झँदा उनलाई घर जाने हिम्मत नै आउँदैन् ।  

उनी घर आउँजाउँ गर्ने बाटो उदयपुरको बेलका नगरपालिकाको रामपुर हुँदै गाइघाटबाट साउनेपोखरीटार हुँदै रसुवाको सिमपानीबाट खोटाङ्को ठाटी भञ्ज्याङ् पुग्न बर्खाका बेला ठूलै युद्द जितेर सफलता मिलेजतिकै हुन्छ । यो सडक खण्डमा अहिलेसम्म दुई पटक दुर्घटना भइसकेको छ । ‘हिउँदकै बेला पनि यो सडक हिड्दा त्राहीमाम हुने गर्छ, बर्खाको समयमा उदयपुरको रसुवा पहाडको पुरै भिरालो भाग छ । यो पहाडको भागमा  अलिकति सानो त्रुटी भएमा सोझै कोशीमै पुगिन्छ, पहाडबाट सोझै कोशीमा झरेपछि बाँच्ने आश त हुँदै हुँदैन्,’ उनले भनिन् ।  

कोशी प्रदेशका लाइफलाइन मानिएका मुख्य तथा सहायक राजमार्गमध्ये धेरैजसो बर्खाका बेला पानी पर्दा कतिपय हिलाम्मे हुने अवस्था छन् भने कतिपय सडकमा पहिरो खसेर अबरुद्द हुँदा सर्वसाधारणले सास्ती पाउने गरेका छन् । कतिपय सडक निर्माण ठेकेदार व्यवसायी इमान्दार नहुँदा सर्वसाधारणले दुःख पाएका छन् । ‘जहिले मनमा त्रास बोकेर यात्रा गर्नुपर्छ, बर्खाका बेला त घरबाट हिडेपछि गन्तब्य नपुग्दासम्म सवैलाई चिन्ताले सताउने गर्छ,’ खोटाङ्कै दिक्तेल रुपाकोट मझुवागढी वडा नं. ३ की समिता राईले भनिन् ।  

गत वैशाख २३ गते कोशी राजमार्ग अन्तर्गत संखुवासभाको मकालु वडा नं. ३ नयाँ वस्तीमा पहिरो गएपछि सडक एकतर्फी सुचारु छ । कोशी राजमार्ग अन्तर्गत संखुवासभाको माथिल्लो भाग भोटखोला–मकालु क्षेत्रमा बर्खा लाग्नेवित्तिकै पहिरोको उच्च जोखिम हुने गर्छ, अनि सडक कति बेला अबरुद्द हुने कुनै टुङ्गो हुँदैन् । यस्तै, सिलीचोङ्, बाला र सभापोखरी पुरै क्षेत्र पनि पहिरोकै जोखिममा हुने गरेको छ ।  

यी तीनवटै क्षेत्रलाई सुरक्षा निकायले उच्च संवेदनशील क्षेत्र मानेर सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राख्ने गरेको छ । ‘बाढी र पहिरोले सडकमा त असर गर्छ नै मानवीय क्षती हुन नदिनका लागि तीनवटै सुरक्षा निकायको बैठक बसेर समन्वय गरेर अघि बढ्ने निर्णय भएको छ,’ जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मेघराज अर्यालले भने ।  

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ८ की एजिना बस्नेतका अनुसार यतिबेला चैनपुरदेखि पाँचखपनको सडक बाढी आएर पुरै बिग्रिएको छ । यहाँ हिउँ खोला पर्छ । यहाँ बाढीले बगाउँदा विगतका वर्षमा मानवीय क्षती समेत हुँदै आएको छ । यस क्षेत्रमा पानी पर्नासाथ पहाड खसेर पहिरो जान्छ । जसले गर्दा यहाँका बासीन्दाको सम्पर्क चैनपुरसँग टुट्छ । बर्खाका बेला अति आवश्यक कामका लागि खाद्यबारी जाने गर्छन् ।  

बर्खा मौसम लागेर पहाडमा श्रृखलाबद्द रुपमा बाढीसँगै पहिरोले गर्दा वैशाख अन्तिममा मध्य पहाडी लोकमार्गकै भोजपुर नगरपालिका वडा नं. ५ बोखिममा बाढी असर गरियो । यतिबेला सडक एकतर्फी सुचारु भएको छ । भोजपुर सदरमुकाम हुँदै दक्षिणी क्षेत्र दलगाउँ र भुल्के जाने सडक पनि केही दिनअघि पहिरोले गर्दा अवरुद्द भएकोमा तत्काल सुचारु गरिएको थियो ।  त्यहाँ एक महिनाअघि बाढी आएको थियो ।  

सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिप्रसाद खनालका अनुसार अब बर्खाको बेला श्रृखलाबद्द रुपमा पहिरो र बाढीले सडक अवरोध गर्ने हुँदा त्यस्तो हुने वित्तिकै ट्रयाक खोल्ने तयारी भएको छ । ‘सडकको अवरोध हटाउने हामीसँग सामग्री पनि जगेडा गरेका छौं,’ उनले भने, ‘स्थानीय तहका प्रमुखसँग एक चरण बैठक पनि गरि सकिएको छ, सवैसँग समन्वय गरेर तत्काल सडक अवरोध हटाउने योजना छ ।’ भोजपुरको हकमा खहरे आउँदा केही समय अवरुद्द हुने र बाढी तथा पहिरो आउँदा पनि भिरालो पहाड भएकाले गर्दा अवरोध हटाउन सजिलो हुने गरेको अनुभव खनालले सुनाए ।  

एक साताअघि अविरल वर्षासँगै आएको बाढी र पहिरोले पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको याङवरक गाउँपालिका क्षेत्रको सडक यतिबेला अबरुद्द छ । याङ्वरक गाउँपालिका वडा नं. ३ ओयाम, वडा नं. २ को दोभान र वडा नं. ३ को रिजालभिरमा बाढी र पहिरोले गर्दा सडक पूर्ण रुपमा अवरुद्द छ ।  बाढीले पाँचथर र ताप्लेजुङ्लाई जोड्ने निर्माणाधीन पक्की मोटरएबल पुल पनि बगाएको छ ।  

पाँचथरकै याङवरक गाउँपालिकामा पर्ने दोभाने खोला र त्यहा सञ्चालित हाइड्रो पावरसहित अन्य संरचनामा क्षति पुगेको छ । सडक माथिदेखि आएको पहिरोका कारण मध्यपहाडी राजमार्ग अन्तर्गत च्याङथापु–थर्पु खण्ड अवरुद्ध छ । तमोर कोरिडोर अन्तर्गत पुल फलाम खोला, मेवा खोला र ठाडो खोलामा पुल नहुँदा वर्खामा बाढी आएर सडक अवरुद्द हुने गरेको छ । जसले गर्दा यात्रा गर्न जोखिम हुने गरेको छ ।  

पाँचथरका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालका अनुसार वर्खाभरी समस्या आइरहन्छ । खासगरी मध्य पहाडी राजमार्ग अन्तर्गत फलाम खोला, मेवा खोला र ठाडो खोलामा पुल नहुँदा पानीको सतह बढ्नेवित्तिकै यातायात सञ्चालनमा समस्या हुने गर्छ । अर्कातिर माथिबाट झरेका पहिरो खोलामा पुग्दा बाटो पन्छाउन छिटै भएतापनि खोलामा झरेको पहिरो पन्छाउन भने समय लाग्छ ।  

‘सडकमा झरेको पहिरो पन्छाइ सकेपछि खोलामा झरेको पहिरो पन्छाउन अझै दुई–तीन दिन लाग्छ, फेरि पहिरो गयो वा बाढी आयो भने दिन लम्बिनेछ,’ उनले भने, ‘पहिरो र बाढी जेठदेखि भदौं–असोजसम्मै आइरहन्छ, त्यसलाई पन्छाई रहनुपर्छ ।’ उनका अनुसार एकैदिन थुप्रै स्थानमा पहिरो र बाढीले असर गरेको अवरोधलाई हटाउन स्रोत र साधनले धान्न नसक्ने हुँदा कतिपय अवस्थामा केही दिन लाग्ने गरेको छ ।  

मेची राजमार्ग अन्तर्गत इलामको माइखोला राजदवाडी खण्ड उच्च जोखिममा रहेको छ । ठूलो वर्षा हुनासाथ कुनै पनि बेला बाटो अबरुद्द हुन सक्छ । इलामको रोम गाउँपालिका वडा नं. ४ कोलवुङ् उच्च जोखिममा छ । यहाँ सडक मर्मतको काम भइरहेकाले गर्दा माथि भिरबाट पहिरो झर्ने जोखिम रहेको छ । इलाम वडा नं. १ को सार्खेजुङ्मा पनि वर्षा ठूलो आउनासाथ सडक अबरुद्द हुने गर्छ । सडक डिभीजन इलामले यस क्षेत्रका सडकमा कुनै पनि बेला हुने खतरालाई टार्नका लागि ‘हाइअर्लट’ मा रहेर काम गर्ने गरेको छ ।  

कोशी प्रदेशकै सवैभन्दा महत्वपूर्ण राजमार्ग एशियन हाइवे अन्तर्गत तीनवटा प्याकेज ठेक्का लागेर झापाको काकडभिट्टादेखि सुनसरीको इटहरी वडा नं. १७ लविपुरसम्म ९५.७६० किलोमिटर सडक अहिले निर्माण भइरहेको छ । जसमा छवटा मुख्य पुलहरु पनि निर्माणधीन अवस्थामा छन् । यी पुलहरु पूर्ण रुपमा पुरा नभईकन ड्राइभर्सनबाट गाडी कुदाउँदा भासिने खतरा रहन्छ ।  

एशियन हाइवे विस्तार गर्दा पुरानो पिच उक्काइएको छ । जसले गर्दा थुप्रै स्थानमा सडक पुरै खाल्डाखुल्डी रहेका छन् । सडकमा थुप्रै स्थानमा ड्राइभर्सन छन् । जब बर्खाको बेला पानीको वहाव आउने गर्छ, त्यो बेला ड्राइभर्सन बगाएर लैजान्छ भने सडकका धेरै स्थानमा पानी जन्छ । ‘अप्रत्यासित रुपमा बाढी आयो भने निकै गाह्रो छ,’ एशियन हाईवे सडक निर्माण परियोजना इटहरीका इन्जिनियर जितेन्द्रकुमार साहले भने ।  

बर्खाका बेला बढी मात्रमा दुर्घटना समेत हुने गरेका छन् । अघिल्लो जेठ, असार र साउन महिनामा मात्र कोशी प्रदेशमा एक हजार ४१६ वटा दुर्घटनाका घटना भएको प्रदेशस्तरीय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । जसमा जेठमा ४९१, असारमा ४७२ र साउनमा ४५३ वटा सडक दुर्घटनाका घटना भएका थिए ।  

एशियन हाइवेपछिको व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत चीन र भारतसँगको सोझो ‘लिङ्क’ रोडको रुपमा  विस्तार भएको विराटनगरको रानी धरान सडक खण्डमा पनि बर्खाका बेला ठूलो पानी पर्नासाथ इटहरीको खनार क्षेत्रमा समस्या हुने गरेको छ । इन्जिनियर दुर्गा मण्डलका अनुसार झण्डै एक किलोमिटर सडकमा पानी जम्ने र हिलो सडकमा आउने गरेको छ । सडक पूर्व साइडमा रहेको टेङ्ग्राको व्यवस्थापन नगर्दा सडकमा हिलो र पानी जम्ने गरेको हो ।  

२०६९÷०७० बाट सुरु भएर सात वर्षभित्रमा छ लेन सडक बिस्तार गर्ने लक्ष्य राखिएकोमा अझै केही स्थानमा सडक निर्माण हुन बाँकी छ । जसमा धरानमा पाँच किलोमिटर हाराहारी ठेक्का लाग्न बाँकी छ । दुहवी बजार क्ष्क्षेत्रमा पनि ५४५ मिटर सडक ठेक्का लाग्न बाँकी छ । इन्जिनियर मण्डका अनुसार केही स्थानमा फुटपाथ पनि निर्माण गर्न बाँकी छ ।  

पूर्वी तराईको हुलाकी राजमार्ग अन्तर्गत झापा, मोरङ र सुनसरीमध्ये झापाको कन्काईमा पुल नबन्दा बर्खाको बेला समस्या हुने गरेको छ । ७२५ मिटर लम्बाईको कन्काई पुल ठेकेदार कम्पनीले पटकपटक  म्याद थप गर्दा पनि पूरा नगरेपछि यतिबेला ठेक्का तोडिएको छ । २०६८ जेठ ३० गते पप्पु÷महादेव जेभीले ३४ करोडमा ठेक्का लिएको पुल छ पटक म्याद थप्दा पनि ठेकेदार कम्पनीले कामलाई अघि बढाउन अटेर गरेकाले गर्दा ठेक्का तोडिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीका सूचना अधिकारी इन्जिनियर उपेन्द्र दासले बताए । उनका अनुसार पुल नहुँदा बर्खाको बेला वल्लोपल्लो गाउँका मानिसहरु वारपार गर्न पुरै सकस हुने गरेको छ ।  

हुलाकी राजमार्ग अन्तर्गत पुलबाहेक झापाको भद्रपुरदेखि राजगढसम्म ५०० मिटर सडक बन्न बाँकी छ । यस्तै, मोरङको नयाँ बजार हाटखोलासम्म चार किलोमिटर सडक एक पटक ठेक्का लागेर काम नभएपछि फेरि नयाँ ठेक्का प्रक्रियामा रहेको छ । मोरङकै गान्धी मनमोहन मार्गको उत्तर–दक्षिण ३० किलोमिटर सडक पनि निर्माणाधीन अवस्थामा छ । यद्यपी, काम भने सुस्त गतिमा छ । यो सडक कान्छाराम ठेकेदार कम्पनीले लिएर काम गरि रहेको छ ।  

सुनसरीको सदरमुकाम इनरुवा–कप्तानगञ्ज हुँदै कौवाखोज जोड्ने २२ किलोमिटर सडक पनि ठेक्का तोडेर नयाँ लगाउने प्रक्रियामा रहेको छ । यो सडक गौरी पार्वती÷देव एण्ड सायर तथा भूमि जेभीले ठेक्का लिएर काम नगरेपछि ठेक्का तोडिएको हो । हुलाकी राजमार्ग अन्तर्गत केही सीमित स्थानमा सडक बन्न बाँकी रहेतापनि ती स्थानमा बर्खाको बेला पुरै हिलाम्य भएर सर्वसाधारणलाई असहज हुने गरेको इन्जिनियर साहले नागरिकलाई बताए ।  

त्यसो त कोशी प्रदेशका जिल्लामा २२ वटा पुल नबन्दा पनि बर्खाका बेला कष्टकर हुने गरेको छ । कोशी प्रदेश क्षेत्रको सडक विभाग पुल सेक्टर निर्माण आयोजनाका इन्जिनियर नवीनकुमार साहका अनुसार प्रायः बढी मात्रमा पुल निर्माण गर्न पहाडी जिल्लामा बढी मात्रमा रहेका छन् ।  

उदयपुरको त्रियुगा, भोजपुरको रानीटार, खोटाङ्को धापलाङ, ओखलढुङ्गा–खोटाङ् जोड्ने तल्वा, इलामको रिकुवा, देउमाई, धनकुटाको मुगासँगै एक्चानाधा, पाँथचरको हेवा, लोरीपा र लकुवामा पुल नबन्दा बर्खाका बेला सर्वसाधारणलाई आवातजावतमा समस्या हुने गरेको हो । तमोर कोरिडोरमा मावा खोलामा पानी परेर पानी सतह बढ्नेवित्तिकै गाडी नै सञ्चालन हुँदैनन् । पुल निर्माण आयोजनाका प्रमुख इन्जिनियर आशिष थापा मगरले भने विपद्का बेला अरुले भन्दा आफै सचेत हुनुपर्ने बताए । ‘काँही पुल नभएका कारण समस्या हुन्छ भने आफैँ सचेत हुनुपर्छ,’ उनले भने ।  

बर्खामा कोशी प्रदेशका विभिन्न स्थानमा श्रृखलाबद्द रुपमा हुने गरेको सडक अवरोधसँगै पानीले क्षती गर्दा त्यसलाई सहज बनाउन हेभीइक्विपमेन्ट डिभिजन इटहरी सक्रिय रुपमा जुट्दै आएको छ । हेभीइक्विपमेन्टका सूचना अधिकारी प्रेमकुमार झाका अनुसार बढी जोखिम सडकको सूचीकरण गरि ती सडकमा अगाडि देखि अवरोध हटाउने सामग्री पठाउने गरिएको छ ।  

कोशी प्रदेश अन्तर्गत बढी मात्रमा सुनसरीको चतरा–बराहक्षेत्र सडक खण्ड, धरान–भेडेटार सडक, धनकुटाको मुलघाटदेखि माथि, संखुवासभाको तुम्लिङ्टार, इलाम–पाँचथर, ओखलढुंगाको थप्र्रु, गाइघाट–दिक्तेललगायतका सडकमा बारम्बार पहिरो खसेर सडक अवरुद्द हुने गरेको छ । कार्यालयले लोडर, जेसिबी र आवश्यकता अनुसार एक्साभेटर प्रयोग गरेर सडकको अवरोध पन्छ्याउने गरेको छ ।  

पहाडको भित्ता खसेर विशेषगरी, पहिरो जान्छ । पहिरो कहाँ कुन बेला जान्छ, कुनै टुङ्गो हुँदैन् । यसरी पहाड सडकमा खस्दा माटोमा गाडी चिप्लिदा दुर्घटनाको उच्च जोखिम हुने र उकालोमा गाडी फस्दा चाँडो बिग्रिने इटहरी–हिले सडक खण्डमा गाडी चलाउने ग २ ख ४७७ नम्बरका चालक सानु घिमिरेले बताए ।  

वर्षेनी बाढी र पहिरोले धनजनको क्षती बढ्दो क्रममा रहेका बेला कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संकट क्षेत्रको पहिचान गरि सर्तकता अप्नाउने भएको छ । मन्त्रालयका उपसचिव एवम् प्रवक्ता अर्जुन निरौंलाका अनुसार संकट क्षेत्रको पहिचान गरेर ती स्थानमा ध्यान केन्द्रीत गर्नेसँगै विपद् व्यवस्थापन समितिको मापदण्डले तोकेका कार्य गर्ने गरि तयारी भइरहेको छ ।  

अघिल्लो वर्ष बर्खाको समयमा भएको बाढी र पहिरोमा परेर कोशी प्रदेशमा ५२ जनाको मृत्यु भएको थियो । पछिल्लो चार वर्षको तथ्याङ्कका आधारमा अघिल्लो वर्ष नै उच्च मानवीय क्षती भएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१–०८२ मा ४५, ०८०–८१ मा ३१ र ०७९–८० मा २३ जनाको मृत्यु भएको थियो ।  

यसैगरी, आर्थिक वर्ष २०८१–०८२ मा २४, ०८०–८१ मा ४४ र ०७९–८० मा १२ जना घाइते भएका थिए । बर्खाको समयमा आएको पानीसँगै बाढी र पहिरोले गर्दा अघिल्लो तीन हजार ४२२ वटा चौपाय मरेका थिए । यस्तै, आर्थिक वर्ष २०८१–०८२ मा ७८९, ०८०–८१ मा ३८३ र ०७९–८० मा एक हजार ९५ वटा चौपायको मृत्यु भएको थियो । अघिल्लो वर्ष घर, बालीनालीसहित १२ करोड ४० लाख १७ हजार ४५० बराबरको आर्थिक क्षती भएको थियो ।  

प्रकाशित: १५ जेष्ठ २०८३ १८:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App