समाज

व्यंग्यचित्रमार्फत सामाजिक विकृति र विसंगतिमाथि सशक्त प्रहार

भक्तपुरमा जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न<br>

नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा (सापारु २०८३) को अवसरमा शुक्रबार भक्तपुर दरबार स्क्वायर क्षेत्रमा कलेज तथा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भएको छ।

कार्यक्रममा बागमती प्रदेश सांसद तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का केन्द्रीय समिति सदस्य सिर्जना सैंजूले विद्यार्थीहरू कक्षाकोठाको पाठ्यपुस्तकीय सिकाइमा मात्र सीमित नरही समाज, परिवार, समुदाय तथा विभिन्न संघसंस्थाबाट समेत ज्ञान र अनुभव हासिल गर्नुपर्ने बताए । उनले समाजमा विद्यमान अपराध, अभाव, बेरोजगारी, शिक्षा तथा स्वास्थ्य क्षेत्रका समस्या र कर प्रणालीबाट सिर्जित कठिनाइका नकारात्मक पक्षलाई व्यंग्यका माध्यमबाट उजागर गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणमा विद्यार्थीहरूले सिर्जनात्मक भूमिका निर्वाह गर्नुपर्ने बताए ।

नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले असफलताबाट समेत सिक्ने संस्कार विद्यार्थीमा विकास हुनुपर्ने बताउँदै हजारौँ शब्दले व्याख्या गर्नुपर्ने विषयलाई एउटा प्रभावकारी व्यंग्यचित्रले छोटकरीमा अर्थपूर्ण ढंगले प्रस्तुत गर्न सक्ने बताए । व्यंग्यचित्रले एकैसाथ प्रहार, हाँसो, उत्सुकता र सोच उत्पन्न गराउने उनको भनाइ थियो।

उनले सामाजिक विकृति र विसंगतिमाथि व्यंग्य गर्दा लैङ्गिक तथा जातीय विभेदप्रति सचेत हुनुपर्नेमा जोड दिँदै गलत प्रवृत्तिलाई निरुत्साहित, नचाहिने कुरालाई रोकथाम तथा राम्रा काम गर्ने व्यक्ति र संस्थालाई प्रोत्साहित गर्ने सन्देशसमेत व्यंग्यचित्रमा समेटिनुपर्ने बताए ।  

प्रतियोगिताका निर्णायक बालकृष्ण बनमालाले समाजमा भइरहेका सामाजिक, आर्थिक तथा राजनीतिक विकृति र विसंगतिलाई व्यंग्यात्मक ढंगले उदाङ्गो पार्नु कार्टुनको प्रमुख उद्देश्य रहेको बताए ।  

व्यंग्यचित्रले समाजको यथार्थलाई सरल, प्रभावकारी र कलात्मक रूपमा प्रस्तुत गर्दै दर्शकलाई सोच्न बाध्य बनाउने उनको भनाइ थियो।

कार्यक्रमका सभापति तथा नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले मानव सभ्यताको विकाससँगै समाजमा देखापरेका विकृति, विसंगति तथा अस्थिर राजनीतिको विध्वंसात्मक प्रभावलाई कार्टुनमार्फत अभिव्यक्त गरिएको बताए । उनले युवापुस्तामा सिर्जनशीलता, सामाजिक चेतना र आलोचनात्मक दृष्टिकोण विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

प्रतियोगिताको आधारभूत तहतर्फ एभरेस्ट इङ्लिस स्कुलका यधवी आचार्य प्रथम, प्रभात इङ्लिस सेकेन्डरी स्कुलका स्वपनिल बासुकला द्वितीय र एभरेस्ट इङ्लिस स्कुलका इच्छा बल्ल तृतीय भए । हिमालयन ग्लोरी इङ्लिस सेकेन्डरी स्कुलका अनुष खर्बुजा र एभरेस्ट इङ्लिस स्कुलका उत्कर्ष मल्ल ठकुरी संयुक्त रूपमा सान्त्वना स्थान प्राप्त गरे ।

त्यसैगरी माध्यमिक तहतर्फ एजे सेकेन्डरी स्कुलका स्पर्श लामा प्रथम, विद्यार्थी निकेतन माविका प्रशिष घेमोसु द्वितीय र ख्वप इन्जिनियरिङ कलेजका रिजन प्रजापति तृतीय बने । बागिश्वरी माविकी क्यारोलिन र प्राइम एकेडेमीका उत्कर्ष पान श्रेष्ठ संयुक्त रूपमा सान्त्वना स्थानमा रहे ।  

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीति, शिक्षा, सामाजिक विकृति तथा विसंगतिलगायतका विषयलाई व्यंग्यचित्रमार्फत प्रस्तुत गरेका थिए। प्रतियोगितामा भक्तपुर जिल्लाका विभिन्न विद्यालय तथा कलेजबाट २२० जना विद्यार्थी सहभागी भएका थिए।

 

 

प्रकाशित: ५ भाद्र २०८३ १९:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App