समाज

कोशीमा ८९ प्रतिशत रोपाइँ सकियो

कोशी प्रदेशमा ८९ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विकास निर्देशनालय, विराटनगरको तथ्याङ्क अनुसार साउन १९ गतेसम्म प्रदेशभर ८९ .०३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको हो ।  

प्रदेशका उच्च पहाडी जिल्लाहरू मध्ये सोलुखुम्बुमा ९४.९६ प्रतिशत रोपाइँ सकिएको छ । ताप्लेजुङमा ७३.२९ र सङ्खुवासभामा ७५ प्रतिशत रोपाइँ सकिएको छ । मध्य पहाडका ८ वटा जिल्ला मध्ये ओखलढुङ्गामा सबै भन्दा बढी १०० प्रतिशत रोपाइँ सकिएको छ । यस्तै खोटाङमा ९६.८७ पाँचथरमा ८३,भोजपुर ८०, इलाममा ८७,उदयपुरमा ८५.८७, धनकुटामा ७३ र तेह्रथुममा ६६ प्रतिशत मात्रै रोपाइँ भएको छ । तराईका जिल्लाहरू मध्ये मोरङमा ९२, सुनसरीमा ९४ र झापामा ८९.४७ प्रतिशत रोपाइँ सकिएको छ । 

गत वर्ष साउन १८ गते सम्ममा कोशी प्रदेशका ९५.०१ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।  गत वर्षको तुलनामा यो वर्ष ६ प्रतिशतले रोपाइँ कम भएको छ । कोशी प्रदेशमा २ लाख ७६ हजार ३ सय ८६.७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हाल सम्म २ लाख ४६ हजार ६५.४४ हेक्टर क्षेत्रफलमा  धान रोपाइँ सकिएको छ । मध्ये पहाडी र उच्च पहाडी क्षेत्रमा रोपाइँ गर्ने सिजन लगभग सकिइसकेको छ भने तराईका जिल्लाहरूमा विगत तीन दिन देखिको वर्षाका कारण रोपाइँ हुन बाँकी ठाउँमा धमाधम रोपाइँ भइरहेको छ ।  पर्याप्त वर्षा नभएको र ढिलो गरी वर्षा भएका कारण यो वर्ष गत वर्षको तुलनामा धान उत्पादन सामान्य घट्न सक्ने देखिएको कृषि विज्ञहरूको अनुमान छ ।  

प्रकाशित: १९ श्रावण २०८२ १७:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App