ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ५० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रक्रिया सुरु गरिएको छ। बिहीबारबाट प्रसारण लाइनका तारहरूमा लाइन चार्ज गर्ने कार्य थालिएको हो।
आयोजनाका साइट इन्चार्ज असलाल केदेम लिम्बूका अनुसार प्रसारण लाइनका तारमार्फत विद्युत् प्रवाहको अवस्था मापन तथा जाँच गर्ने कार्य सुरु गरिएको छ। प्रसारण लाइनमार्फत विद्युत् प्रवाह ठीक गतिमा भएमा उत्पादित विद्युत् अब नेपाल विद्युत् प्राधिकरणको मेवाखोला गाउँपालिका वडा नं. १, ढुंगेसाँघुस्थित १३२ केभी सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्न सकिनेछ।
हाल प्रसारण लाइनका तारमार्फत विद्युत् प्रवाह सही रूपमा भइरहेको वा नभएको प्राविधिक अध्ययन भइरहेको छ। परीक्षणको क्रममा नतिजा सकारात्मक आएमा उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्य गरिने लिम्बूले बताए।
उनका अनुसार लाइन चार्ज गरिसकेपछि परीक्षणको काम सुरु भएकाले निर्माण गरिएका टावरमा नचढ्न तथा तारमा नछुन र टावर तथा तार नजिक नजान आग्रह गरिएको छ।
मेवाखोला नदी, जो मेरिङदेन गाउँपालिका र मिक्वाखोला गाउँपालिकाको सिमाना भएर बग्छ, सोही नदीमा युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत् उत्पादन गरिरहेको हो। आयोजनाको विद्युत्गृह मेरिङदेन गाउँपालिका वडा नं. ३ खाम्लुङमा रहेको छ।
ढुंगेसाँघु सबस्टेसनसम्म करिब ८ किलोमिटर दूरीमा २८ वटा टावर निर्माण गरी पोल तथा विद्युत् तार व्यवस्थापनमार्फत उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने तयारी गरिएको छ।
आयोजनाको मुहान (हेडवर्क्स) मेरिङदेन गाउँपालिका वडा नं. ५ थुकिमा र मिक्वाखोला गाउँपालिका वडा नं. ३ लिबाङको पुछार क्षेत्रमा रहेको छ।
आयोजनाको कुल लागत ९ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये ७५ प्रतिशत अर्थात् ७ अर्ब रुपैयाँ बैंक ऋणबाट व्यवस्थापन गरिएको छ भने बाँकी २५ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ प्रवर्द्धकहरूको स्वपूँजी (इक्विटी) रहेको छ।
आयोजना करिब ५ वर्षअगाडि निर्माण सुरु गरिएको हो। आयोजनाका लागि करिब ४ हजार ८ सय मिटर लम्बाइको मुख्य सुरुङ मार्ग निर्माण गरिएको छ।
यस आयोजनाबाट हिउँदमा ९७.४४४ गिगावाट घण्टा र वर्षामा २०५.५६७ गिगावाट घण्टा गरी कुल ३०३.०११ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
यो आयोजना सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई निर्माण गर्न दिएको ‘सुपर सिक्स’ आयोजनामध्ये एक हो। ‘सुपर सिक्स’ अन्तर्गतका २३.५ मेगावाटको सोलु खोला र २५ मेगावाटको सिंगटी खोला आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन्। साथै ८२ मेगावाटको तल्लो सोलु, १४.९ मेगावाटको मयाखोला र २४.१ मेगावाटको खारे खोला आयोजना निर्माणाधीन रहेका छन्।
प्रकाशित: ५ चैत्र २०८२ १४:४२ बिहीबार



