समाज

चिसोमा कोरोना संक्रमणको त्रास

कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द रहेका यहाँका विद्यालय खुलेपनि चिसोका कारण प्रभावकारी पठनपाठन हुन सकेको छैन। चिसोले कोरोना संक्रमण फैलन सक्ने भन्दै अभिभावक चिन्तित छन्। शिक्षकले त्रासपुर्ण वातावरणमा अध्यापन गरिरहेका छन्। विद्यार्थीले त्रासकै बीचमा अध्ययन गरिरहेका छन्।  

जिल्लाको पातारासी र तिला गाउँपालिकाले कार्तिक २३ गतेदेखि विद्यालय खुलाएका छन्। यो संगै तातोपानी गाउँपालिका बाहेक सबै स्थानीय तहका विद्यालय खुलेका हुन्। तातोपानी गाउँपालिकाले चिसोका कारण बालबालिका बिरामी पर्न सक्ने र कोरोना संक्रमणको उच्च सम्भावना देखिएको भन्दै माघ महिनासम्मको लागि विद्यालय नखुलाउने निर्णय गरेको छ।  

जुम्लामा फागुन महिनादेखि नयाँ शैक्षिक सत्र प्रारम्भ हुन्छ। चैत ११ गतेदेखि नै लकडाउन भएकोले विद्यालयमा पठनपाठन ठप्प थियो। केन्द्रीय सरकारले स्थानीय सरकारले आफ्नो अनुकुलतामा विद्यालय खुलाउन सक्ने परिपत्र गरेपछि यहाँका विद्यालय खुलेका हुन्। विद्यालय खुलेपनि प्रभावकारी पठनपाठन हुन सकेको छैन।  

जिल्लाको पातारासी गाउँपालिकामा चौरमै पठनपाठन कार्य सुरु भएको छ। कक्षा कोठाभित्र पठनपाठन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना नहुने भएकोले खुला चौरमा पठनपाठन भइरहेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा बताउँछन्।  

उनले भने,‘शिक्षा समितिको निर्णय बमोजिम विद्यालय खुलेका छन्। विद्यालयमा स्वास्थ्य सुरक्षा मापदण्डको भरपुर प्रयोग गर्न परिपत्र गरिएको छ। अहिले सम्म बालबालिका बिरामी परेको विषयमा गुनासो आएको छैन।’

हरेक विद्यालयमा सुरक्षा मापदण्ड अपनाएका छौँ। हरेक सातामा दुई पटक स्वास्थ्यकर्मी स्वास्थ्य जाँचका लागि विद्यालयमा पुग्छन्। गाउँपालिका भित्रका सबै विद्यालयमा थर्मल गन उपलब्ध गरिएको छ। जसले विद्यार्थीको तामक्रम जाँच्ने काम भइरहेको छ। प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले भने,‘मास्क, सेनिटाइजरको व्यवस्थापन भएको छ। पटक पटक प्रधानाध्यापक, व्यवस्थापन समिति र विषयगत शिक्षकका बीचमा छलफल समेत हुने गरेको छ।’ विद्यालय खुलेपछि विद्यालयको ढोकासम्म बालबालिकाले पुग्न त पाए। तर स्वास्थ्य सुरक्षाका विषयमा चुनौति थपियो। जिल्ला बाहिरबाट आउने शिक्षकको अनिवार्य पिसिआर रिपोर्ट चाहिने व्यवस्था मिलाइएको छ। जिल्लाका अन्य स्थानीय सरकारले पनि स्वास्थ्य सुरक्षाको भरपुर पालना गरेर विद्यालय खुलाएको जनाएका छन्।  

स्थानीय प्रशासनले कोरोना संक्रमणको दर विद्यालय स्तरमा देखिएको खण्डमा स्वयम स्थानीय सरकार जिम्मेवार हुनु पर्ने बताउँदै आएको छ। तिला गाउँपालिका ८ स्थित देउराली माविका प्रधानाध्यपक रामभजन यादव कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि उच्च सतर्कता अपनाएको बताउँछन्। उनले भने,‘सरकारले निर्धारण गरेका सबै मापदण्डको पालना गरेका छौँ। पठनपाठन गरीरहेका छौँ। तर चिसोका कारण समस्या सिर्जना हुन सक्ने संभावना बढेको छ।’

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मक्कर भण्डारी जिल्लाको तातोपानी गाउँपालिका बाहेक सबै पालिकाका विद्यालय खुलिसकेको बताउँछन्। केन्द्रीय सरकारले अनुकुलताका आधारमा विद्यालय खुलाउने जिम्मेवारी स्थानीय सरकारलाई छ, उनले भने,‘कोरोनाको संक्रमण भएको खण्डमा स्वयम स्थानीय सरकार नै जिम्मेवार हुने गरि परिपत्र आइरहेको छ। तर विद्यालय खुलाउदा उच्च सतर्कता अपनाउनु जरुरी छ।’

विद्यालय बन्द गर्नु भन्दा खुलाउनु राम्रो पक्ष हो। तर यो चिसो मौसममा कोरोना फैलन सक्ने उच्च संभावना पनि छ। बालबालिकालाई चिसोका कारण रुघाखोकी र निमोनिया जस्ता रोगले प्रभावित बनाउन सक्ने खतरा छ , प्रमुख भण्डारीले भने,‘यो बिषयमा स्थानीय सरकार चनाखो बन्नुपर्छ। जुम्लामा एक सय ६९ विद्यालय छन्। यसअघि एक पटक परेको हिउँ चिसो क्षेत्रमा रहेका विद्यालयमा अझै पग्लेको छैन।  

जिल्ला प्रशासन कार्यालय जुम्लाले स्थानीय सरकारहरुले विद्यालय खुलाएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिल्ला भित्रका कुनै पनि विद्यालयलाई विद्यालय सञ्चालन अनुमति दिइएको छैन, विद्यालयले पनि स्थानीय प्रशासनसंग कुनै समन्वय गरेका छैनन्, प्रशासन कार्यालयको आधिकारी सामाजिक सञ्जालको पेजमा भनिएको छ,‘कोभिड-१९ को संक्रमण,र त्यसबाट हुने क्षतिको सम्बन्धित स्थानीय तह र विद्यालयले जिम्मेवारी लिनु पर्नेछ। विद्यालय खुलाउने कार्यबाट संक्रमण फैलन गएको पाइएमा संक्रमण रोग ऐन २०२० बमोजिम कार्बाही हुनेछ।’

जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न र महामारीको समयमा संवेदशिल बन्न आग्रह गरिएको छ। यो संकटपुर्ण घडिमा जिम्मेवार नागरिकको दायित्व र कर्तब्य निर्वाह गर्दै संक्रमणबाट आफू बच्न र अरुलाई बचाउनको लागि अपिल गरिएको छ।

प्रकाशित: १४ मंसिर २०७७ १०:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App