बारा, कपिलवस्तु, रोल्पा, सप्तरी र पर्सा जिल्लामा सोमबार र मंगलबार भएका विभिन्न आगलागीका घटनामा करिब ४१ लाख ६८ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
बाराको विश्रामपुर गाउँपालिका–५ इटियाहीस्थित बारा डिस्टीलरी प्रालिमा विद्युत सर्ट भई भएको आगलागीमा २६ लाख ६८ हजार रूपैयाँको क्षति भएको छ।
कपिलवस्तु नगरपालिका–३ सिकटवास्थित सुदामा कुखुरा फर्ममा गए राति भएको आगलागीमा ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
यस्तै, रोल्पा नगरपालिका–१० खरबुङमा दुर्गालाल विकको कच्ची घर पूर्णरूपमा जलेर ५ लाख रूपैयाँको क्षति भएको छ।
सप्तरीको कञ्चनरूप नगरपालिका–८ कञ्चनपुर बजारमा माँ दुर्गा हार्डवेर पसलमा विद्युत सर्टका कारण भएको आगलागीमा ४ लाख रूपैयाँको धनमाल नष्ट भएको छ।
पर्साको जगरनाथपुर गाउँपालिका–१ पिडरिगुठ्ठीमा मोजामिल राय भगत र हाफिज राय भगतको घरमा भएको आगलागीमा १ लाख रूपैयाँ बराबरको क्षति भएको छ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको छ भने घटनाहरूको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।
प्रकाशित: २० जेष्ठ २०८२ १२:३० मंगलबार