भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्यु प्रकरणमा एक छात्र र चार छात्रा गरी पाँच जनाविरुद्ध किटानी जाहेरी परेको छ।
भारत बिहार राज्यअन्तर्गत बेतिया बैरियाका आयुष रन्जनलाई मुख्य र किट विश्वविद्यालयमा अध्यनरत चार नेपाली छात्रालाई सहयोगी प्रतिवादी बनाएर प्रिसाका बुवा श्यामप्रसाद साहले एफआइआर (जाहेरी) दर्ता गराएका हुन्।
प्रिसा शाहको शंकास्पद मुत्युबारे नागरिक दैनिकले भुवनेश्रवरबाट निरन्तर स्थलगत रिपोर्टिङ प्रस्तुत गरेको थियो। भारतीय न्यायसंहिता २०२३ को धारा १०८ र ३ (५) अन्तर्गत २०२५ मे १९ तारेखमा भुवनेश्वर प्रहरीमा मृतक प्रिसाका बुवा श्यामले किटानी जाहेरी दर्ता गराएका छन्। जाहेरी दर्ता भएपछि भुवनेश्वर प्रहरीले आयुषको खोजी सुरु गरेको थियो।
तर आफू अध्ययनरत इन्स्टिच्युट अफ चार्टर्ड फाइनान्सियल अनालाइसिस अफ इन्डिया (आइसिएफएआई) देहरादुनबाट उनी फरार भएको भुवनेश्वर प्रहरीले जनाएको छ। आयुष त्यहाँ फेला नपरेपछि पुलिस कमिस्नर भुवनेश्वर, इन्फोसिटी पुलिस स्टेसनले आइसिएफएआईलाई २०२५ मे २३ तारेखमा पत्राचार गर्दै आयुषबारे जानकारी दिन आग्रह गरेको छ।
‘आयुष रञ्जन नेपालको मधेस प्रदेशअन्तर्गत सर्लाही कविलासी–८ हरिपुरकी १९ वर्षीया प्रिसा साहको मृत्यु प्रकरणमा शंकास्पद देखिएका छन्, उनी आरोपित हुन्,’ पत्रमा उल्लेख छ। किट विश्वविद्यालयमा अध्ययनरत प्रिसा आयुषकै कारण आत्महत्या गर्न बाध्य भएको उल्लेख गर्दै आरोपपत्र दर्ता भएको हो।
अनुसन्धानका क्रममा आयुष आफ्नो घर र अध्ययनका लागि बसेको स्थानबाट फरार रहेकाले उनीबारे आवश्यक जानकारी दिन आइसिएफएआई विश्वविद्यालयलाई भुवनेश्वर प्रहरीले पत्रमार्फत आग्रह गरेको हो।
किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको अनुसन्धान भइरहेका चार विद्यार्थीमाथि छानबिन भइरहेको विषयमा नागरिक दैनिकले यसअघि नै समाचार प्रकाशित गरेको थियो। यद्यपि उनीहरूको नाम भने बाहिर ल्याइएको छैन।
साथै एक किशोर आरोपित भएको विषयमा त्यहाँको प्रहरीले औपचारिक जानकारी दिएको छ। यो विषयमा प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ। उडिसा राज्यको भुवनेश्वरस्थित इन्फोसिटी पुलिस स्टेसनमा प्रिसाका बुबा श्याम साहले उजुरी दिएपछि पाँचैजना अनुसन्धानमा तानिएका छन्।
भुवनेश्वर प्रहरी कमिस्नार डा. सुरेशदेव दत्तसिंहले प्रिसाको बुवाले दिएको किटानी जाहेरीको आधारमा आरोपितलाई अनुसन्धानको दायरामा ल्याएर न्यायीक प्रक्रिया पूरा गरिने बताएका छन्। ‘हाम्रो अनुसन्धानबाट पनि केही कुरा देखिएका छन्, अझ आरोपितलाई नियन्त्रणमा लिएर सोधपुछ गरेपछि विस्तृत खुल्नेछ,’ कमिस्नर सिंहले नागरिकसँग भने।
प्रिसाका बुवा श्यामले भने, ‘आयुषले गरेको ह्यारेसमेन्ट सहन नसकेर छोरी प्राण त्याग्न बाध्य भएकी हुन्। प्रिसालाई ह्यारेसमेन्ट गरेको जानकारी गराइए पनि सो विषयमा किट विश्वविद्यालय प्रशासन मौन बसेको उनको आरोप छ। प्रहरीले चार जना छात्रासँग सोधपुछ गरिरहेको छ।
अहिलेसम्म ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्टका आधारमा प्रहरीले अनुसन्धानलाई अघि बढाइरहेको छ। भुवनेश्वर प्रहरीले दिएको जानकारीअनुसार पोस्टमार्टम रिपोर्टमा कुनै संदिग्ध विवरण फेला परेको छैन। मोबाइल र ल्यापटपमा देखिएको विवरण आधार मानेर आरोपित आयुषसँगको सोधपुछ पनि अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ।
किट विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको मृत्युको तीन महिनापछि वैशाख १८ गते सर्लाही स्थायी घर भई पर्सा बस्दै आएकी प्रिसा साह किट विश्वविद्यालयको क्युसी ०४ होस्टेलको कोठामा मृत भेटिएकी थिइन्। किटमा भारतीय पछि धेरै नेपाली विद्यार्थी अध्ययन गर्छन्। त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार किटमा नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन्।
भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह र प्रकृति लम्सालको शंकास्पद मृत्यु हुँदा पनि नेपाल सरकारले भने अझसम्म बलियो उपस्थिति देखाउन नसकेको प्रिसाको परिवारको गुनासो छ।
प्रकृति लम्सालको मृत्यु भएको बेला नेपालस्थित भारतीय दूतावासबाट नेपाल प्रहरीका काउन्सेलरसहितको टोली गएर १० दिन बसे पनि उनीहरूले नेपाली विद्यार्थीलाई नेपाल सरकार रहेको अनुभूति दिलाउन सकेका थिएनन्। प्रिसाको मृत्युमा त नेपाल सरकारका प्रतिनिधिले ओडिसा पनि नपुगी नयाँ दिल्लीबाटै काम चलाइरहेका छन्।
प्रिसाको मृत्यु भएको एक महिनाभन्दा बढी समय बितिसक्दा पनि भारतस्थित नेपाली दूतावासबाट नेपाली विद्यार्थीहरूको अवस्थाबारे विश्वविद्यालय प्रशासनसँग बुझ्नेबाहेक केही काम भएको छैन। ओडिसास्थित किट विश्वविद्यालयमा अध्ययन गर्ने एकजना विद्यार्थीसँग पनि छलफल गर्ने र उनीहरूका समस्याबारे जानकारी लिने काम दूतावासले नगरेको अध्यनरत्त नेपाली विद्यार्थी बताउँछन्।
तीन महिनाको अन्तरमा दुई शंकास्पद मृत्युले नेपाली विद्यार्थी तनाबमा छन्। पुलिस कमिस्नरको कार्यालय भुवनेश्वरले भने नेपालीसहित विदेशी विद्यार्थीलाई सुरक्षित वातावरण उपलब्ध गराउन प्रयत्न गरिरहेको छ। कमिस्नर सुरेशदेव दत्तको पहलमा किटमा अध्यनरत्त नेपालीसहित विदेशी विद्यार्थी (छात्रा)हरूलाई काउन्सिलिङ कार्यक्रम गरेर सुरक्षित अनुभूति गराउन प्रयास गरिरहेको छ।
छिमेकी देश भएकाले र तुलनात्मक रूपमा अन्य मुलुकहरूमा भन्दा शैक्षिक शुल्क पनि कम लाग्ने हुनाले नेपाली विद्यार्थीका लागि भारतका विश्वविद्यालय आकर्षक गन्तव्य बनेका छन्। किट विश्वविद्यालयका विभिन्न संकायमा मात्रै करिब एक हजार तीन सय नेपाली विद्यार्थी अध्ययनरत छन्।
नेपालबाट भारत कुनै प्रवेशाज्ञा नचाहिने भएकाले नेपाली विद्यार्थीको विद्यालय वा उच्च शिक्षा, दुवैका लागि भारत पहिलो रोजाइ हुने गरेको छ। भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले दुई देशनजिक भएकाले पनि अभिभावकले आफ्ना सन्तानलाई शिक्षाका लागि भारत पठाउने गरेका छन्।
यसरी युगौंदेखि स्थापित शैक्षिक तथा जनस्तरको सम्बन्धलाई पछिल्ला घटनाले बिथोल्ने संकेत देखिएको छ। अझ किट विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीलाई गरेको व्यवहारले त झन् सम्बन्ध बिथोलिने अवस्था बनेको त्यहीँ अध्ययनरत नेपाली विद्यार्थी बताउँछन्।
भारतमा अध्ययनरत हजारौं नेपाली विद्यार्थी हेपिनुपर्ने र कतिले मृत्युसम्म वरण गर्नुपर्ने बाध्यता सिर्जना हुँदा अभिभावकमा मात्र होइन, विद्यार्थीहरूसमेत चिन्तित छन्। तर दिल्लीस्थित नेपाली दूतावासले किट विश्वविद्यालयको सहकार्यमा वा आफ्नो पहलमा विद्यार्थीलाई सरकार भएको आभास अझै दिलाउन सकेको छैन। किटमा अध्ययनरत नेपाली छात्रा प्रिसाको मृत्युबारे भुवनेश्वरस्थित पुलिस कमिस्नर डा. सुरेशदेव दत्त सिंहले अपराधको अनुसन्धानलाई निचोडमा पुर्याउने विश्वास दिलाएका छन्।
‘अपराधको अनुसन्धानमा नेपाल वा भारत कुनै देशको सीमा हुँदैन, विदेशी–स्वदेशी नागरिकमा भेदभाव हुँदैन। प्रिसाको अभिभावकलाई आश्वस्त पार्न चाहन्छु कि प्रिसा साहको मृत्यु प्रकरणमा प्रहरीले राम्रोसँग अनुसन्धान गर्दै छ,’ उनले भने, ‘अपराध गर्ने नागरिक जहाँको भए पनि अपराधी नै हुन्छ। उसलाई कानुनी दायरामा ल्याउन कोही कसैले छेक्दैन, कारबाहीको दायरामा ल्याइन्छ।’
प्रकाशित: २० जेष्ठ २०८२ ०७:१९ मंगलबार



