समाज

गुणस्तरहीन कामको विरोध गर्दा मन्त्रीकै स्वकीयबाट कुटिए युवक

कुटिएका ठाकुर उपचार गराउँदै। तस्बिरः नागरिक

सिरहाको गोलबजार नगरपालिकामा भइरहेको काम गुणस्तरहीन भएको भन्दै विरोध गर्ने एक एक स्थानीय युवक मधेस प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधन सिंह कोइरीका स्वकीय सचिव सतिशचन्द्र सिंहबाट कुटिएका छन् ।

गोलबजार नगरपालिका–६, डोहटिया टोलका ३४ वर्षीय नारायण ठाकुर मन्त्री कोइरीका स्वकीय सचिव सतिशचन्द्र सिंहबाट कुटिएका हुन्। उनको अहिले गोलबजारकै लाईफलङ्ग पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

ठाकुरमाथि सोमबार साँझ साढे ८ बजे मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहका स्वकीय सचिव सतिशचन्द्र सिंहसहितका व्यक्तिले कुटपिट गरेको उनका परिवारले बताए ।

डोहटिया गाउँमा मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट प्राप्त रकममध्ये ३० लाख रुपैयाँको बजेटमा निर्माण भइरहेको नालाको कामको गुणस्तरमाथि ठाकुरले प्रश्न उठाएका थिए । गुणस्तरहीन काम सच्याउनुपर्ने भन्दै ठाकुरले आवाज उठाएका थिए । ठाकुरका अनुसार नाला निर्माण गर्दा माटोको लेबल नमिलाइएको तथा गिट्टीको मात्रा पनि कम प्रयोग भएको देखेपछि  सच्याएर मात्र काम अघि बढाउन भन्दा उनीमाथि कुटपिट भएको थियो ।

निर्माणमा रड कवाडीबाट ल्याएर  प्रयोग गरेको ठाकुरको दाबी छ । उक्त काम स्थानीय एमाले कार्यकर्ता श्यामकुमार यादवको अध्यक्षतामा गठन गरिएको उपभोक्ता समितिबाट सिंह लगायतकै संलग्नतामा भइरहेको उनको दाबी छ । आफूले गुणस्तरहीन काम भइरहेको बारे नियामक निकायलाई समेत जानकारी गराएको उनले बताए ।

तर, नियामक निकाय पूर्वाधार विकास कार्यालय सिरहामा गुनासो गरेको १५ मिनेटपछि स्वास्थ्य मन्त्रीका स्वकीय सचिव सिंहले आफूलाई फोन गरी निर्माण स्थलमा बोलाएको र गालीगलौज गर्दै कुटपिट गरेको ठाकुरले सुनाए ।

पेट, पिठ्युँ र टाउकोमा चोट लागेर घाइते ठाकुरले प्रहरीलाई समेत घटनाबारे जानकारी गराएको बताए ।  ‘मुक्का प्रहार गरेकोले भित्र चोट छ,’ उपचाररत उनले भने, ‘ डाक्टरले अहिले अवजरभेसनमा बस्नुपर्छ भनेका छन् ।’

यता, सतिशचन्द्र सिंहले आफूले कुटपिट नगरेको दाबी गरेका छन् । ‘मैले कुटेको होइन, बरु उनलाई बचाएको हुँ,’ सिंहले भने, ‘यो त्यति ठूलो कुरा होइन, यस्तो भइरहन्छ ।’

घटनाबारे पीडितको जानकारी प्राप्त भएको र यसबारे विस्तृत बुझ्ने प्रक्रिया अघि बढिरहेको इलाका प्रहरी कार्यालय, गोलबजारले जनाएको छ ।

प्रकाशित: १३ जेष्ठ २०८२ १६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App