सरकार र आन्दोलनरत शिक्षक महासंघबीच बुधबार सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको छ।
वार्तामा शिक्षक आन्दोलन स्थगन गर्ने र यो संसदीय अधिवेशनबाट विद्यालय शिक्षा ऐन पारित गर्ने सहमति भएको स्रोतले बतायो।
“वार्ता सकारात्मक भएको छ। ११ बुँदे मस्यौदामा सहमति जुटेको छ। मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि सहमतिमा हस्ताक्षर हुनेछ,” स्रोतले भन्यो।
सहमतिलाई अनुमोदन गर्न मन्त्रिपरिषद् बैठक बस्ने तयारी छ। बैठकपछि शिक्षक महासंघले पत्रकार सम्मेलनमार्फत औपचारिक जानकारी सार्वजनिक गर्ने जनाएको छ।
वार्तामा सरकारका तर्फबाट गृहमन्त्री रमेश लेखक, शिक्षामन्त्री रघुजी पन्त, नेपाली कांग्रेस र नेकपा (एमाले) का प्रमुख सचेतकहरू सहभागी थिए भने महासंघबाट अध्यक्षसहितको टोली उपस्थित थियो।
एमाले मुख्य सचेतक महेश बर्तौलाले छलफल सकारात्मक भएको र बुधबारै सहमति सार्वजनिक गर्ने तयारी रहेको बताए।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि सहमति भएको पुष्टि गर्दै मन्त्रिपरिषद् बैठकपछि हस्ताक्षर प्रक्रिया पूरा हुने जानकारी दिए।
विगत २९ दिनदेखि काठमाडौंमा सडक आन्दोलनमा रहेका शिक्षकहरूको माग सम्बोधनका लागि भएको यो सहमतिले पठनपाठन सहज हुने अपेक्षा गरिएको छ।
हाल मन्त्रीहरू मन्त्रिपरिषद् बैठकमा सहभागी भएकाले शिक्षकहरू पर्खाइमा छन्। सहमतिको विस्तृत बुँदाहरू मन्त्रिपरिषद् निर्णयपछि सार्वजनिक हुनेछ।
प्रकाशित: १७ वैशाख २०८२ १९:५२ बुधबार