वैशाख ६ गते वीरगञ्जको जय माँ विन्दावासिनी पोल्ट्री फर्मले चितवन मिट मार्ट नारायणगढका लागि तोकेर पाँच सय बोइलर कुखुरा पठाएको थियो, तर गुणस्तरीय कुखुरा नदेखेपछि चितवन मिट मार्टले झार्न मानेन।
ना ३ च ३६२५ नम्बरको सेतो बोलेरो पिक अपमा आएका कुखुरा फिर्ता भए। वीरगञ्ज फर्कने क्रममा टाँडीको हिमालय फ्रेस हाउसमा कुखुरा झारियो। फ्रेस हाउसमा पुग्दासम्म १५ वटा हाराहारीमा कुखुरा मरेका थिए। मरेका कुखुरालाई पनि सामेल बनाएर बेचिएको एनिमल नेपालको अध्ययनमा देखिएको छ।
‘यहाँ पशु कल्याण भन्ने नै छैन’, दुई महिनाअघिको घटना सुनाउँदै एनिमल नेपाल चितवनकी प्रमुख सुमेधा गौतम मैनालीले भनिन्, ‘कुखुरा बोक्ने सेतो बोलेरो पिकअप पछ्याउँदै गर्दा टाँडीमा मरेका कुखुरासमेत झारेको भेटियो।’
चितवनमा यसरी नै मरेका कुखुरासमेत बेच्ने गरेको उनले बताइन्। एनिमल नेपाल चितवन शाखाले गरेको अध्ययनअनुसार भरतपुर, नारायणगढ, टाँडी, सौराहा क्षेत्रमा मरेका कुखुरा बेचेको पाइएको हो। ‘रामपुरमा एउटा कुखुरा सप्लायर्स हुनुहुन्छ। बेच्ने क्रममा पिकअपमा मरेका कुखुरा ल्याएर आफैं बेचेको भेटेका छौं’,उनले भनिन्।
कुखुरा मात्र नभई मरेको भैंसी पनि ल्याएर बेच्ने गरेको उनले बताइन्। ‘एक साताअघि मात्रै धनगढीबाट काठमाडौं ल्याउँदै गर्दा बीच बाटोमै मरेका भैंसी गैंडाकोटको थुम्सीमा काटेको भेटेका छौं’,उनले भनिन्, ‘प्रहरी र क्वारेन्टाइनको यसप्रति ध्यानै छैन।’नेपालमा पशुपन्छीको कल्याण हुन नसकेको बताइन्। सन् २००९ मा नेपालमा स्थापना भएको एनिमल नेपालले हाल १४ जिल्लामा पशु कल्याणसम्बन्धी काम गर्दै आएको छ।
यो अवधिमा अध्ययनका क्रममा भैंसी कोचेर लामो यात्रा गराउने गरेको भेटिएको उनले बताइन्। ‘कैलालीदेखि काठमाडौंसम्म भैंसी कोचेर यात्रा गराइएको हुन्छ। यात्राका क्रममा ३६ घन्टासम्म दाना पानी पनि दिइएको हुँदैन’,उनले भनिन्, ‘चार घन्टाको दूरीमा होल्डिङ सेन्टरमा राखेर दाना पानी दिनुपर्ने हो। यहाँ होल्डिङ सेन्टर नै छैन।’
पशुको होल्डिङ सेन्टर चितवन उपयुक्त हुने उनले बताइन्। अहिले रामनगरमा रहेको पशु क्वारेन्टाइनले चिठीका आधारमा पशुपन्छीलाई आवातजावत गर्न दिने गरेको छ। पशुपन्छीको स्वास्थ्य अवस्थाबारे कुनै चेक जाँच गरिँदैन। होल्डिङ सेन्टर भएर चेक जाँच गर्न सजिलो हुने उनले बताइन्। नेपालमा कम्तीमा पनि पाँचवटा होल्डिङ सेन्टर आवश्यक रहेको उनको भनाइ छ। व्यवसायीले पशुपन्छीलाई ढुवानी गर्दा अपनाउनुपर्ने मापदण्डसमेत पालना गरेका छैनन्।
चितवनमा पोल्ट्री र बारामा भैंसीलार्ई विशेष क्षेत्र बनाएर अध्ययन गरिएको छ। मैनालीका अनुसार चितवनमा सन्तुलित वातावरणमा कुखुरासमेत पालिएको छैन।
प्रकाशित: १३ असार २०८० ०१:४१ बुधबार


