समाज

गणेशपुर झडप: १० सुरक्षाकर्मी घाइते, अवरुद्ध सडक खुल्यो

भारतको सीमा बजारमा खुला रूपमा पाइने लागू औषध सेवनले गर्दा दुई युवाको मृत्यु भएपछि आन्दोलित स्थानीयबिच झडप हुँदा १० जना सुरक्षाकर्मी घाइते भएका छन्।

सीमावर्ती लौकाही बजारमा खुलेआम रूपमा पाइने लागू औषध खाँदा गुलरिया नगरपालिका-११ बस्ने दाजु ३६ वर्षको सुरेश खटिक र भाइ ३० वर्षको बहुरन खटिकको मृत्यु भएको भन्दै गुलरिया-नेपालगन्ज सडक खण्डको गणेशपुरमा सडक अवरुद्ध गर्दा दुई पक्षबिच झडप भएको हो।

घाइते ७ जना प्रहरीमध्ये तीन जना गम्भीर रहेको र एक जनालाई नेपालगन्ज रिफर गरिएको डीएसपी प्रमेश विष्टले जानकारी गराए। सशस्त्र प्रहरीतर्फ तीन जना सामान्य घाइते छन्। प्रहरीले अश्रुग्यास प्रहार गरेर भीड तितरबितर पारेपछि सडक सुचारु भएको छ।

प्रकाशित: १० चैत्र २०८२ १३:५० मंगलबार