श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले सुनसरीको देवानगञ्ज घटनापछि सरकारले गम्भीर बन्नुपर्ने भन्दै दमनको नीति अवलम्बन गरे परिस्थिति विस्फोटक बन्न सक्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत साम्पाङले सरकारले सुशासन र शान्ति स्थापना गर्न जिम्मेवारीका साथ गर्नुपर्ने बताएका हुन्।
उनले भने, ‘सरकार गम्भीर बन्नुपर्छ। फोन अफ गरेर बस्नु हुँदैन। सरकारले नै सुशासन र शान्ति बहाली गर्ने हो। दमनको नीति लिए विस्फोट हुन्छ। सबैलाई संयमित बन्न आग्रह र अनुरोध गर्दछु। शान्ति, शान्ति, शान्ति।’
साम्पाङले हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव कायम राख्न आग्रह गर्दै समाजलाई विभाजित गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूको पछि नलाग्न पनि अनुरोध गरेका छन्।
उनले भने, ‘हे मेरा हिन्दु नेपाली दाजुभाइ हो, हे मेरा मुस्लिम नेपाली दाजुभाइ हो, सबै मिलेर बसौँ। नलडौँ, नजुधौँ। हामीलाई जुधाएर आफ्नो रोटी सेक्ने दुई–चार जनालाई छोडेर सबै मिलौँ।’
यसैबीच, आफूलाई विभिन्न घटनासँग जोडेर आलोचना गर्नेहरूलाई लक्षित गर्दै साम्पाङले व्यंग्यात्मक टिप्पणी पनि गरेका छन्।
‘यदि हरेक घटना मेरै कारणले घटेको हो भन्ने हो भने हावा, खोला, वर्षा, सूर्यको प्रकाश र जीवनको अस्तित्व पनि मेरै कारणले भएको हुनुपर्छ। त्यसो हो भने मलाई भगवान वा ईश्वरको रूपमा पूजा गर, विरोध नगर।’
प्रकाशित: १३ श्रावण २०८३ ०८:४९ बुधबार



