‘मेरो बोल्ने मुखलाई नथुन, आउने समाजको अह्वान गर्छ मेरो मुखले। मेरो लेख्ने कलमलाई नथाम, आगामी सत्यलाई अंकित गर्छ मेरो कलमले। मेरो गोडामा नेल नलाऊ, नयाँ बाटोलाई पैल्याउँछ मेरो गोडाले।’ नेपाली कांग्रेसका संस्थापकमध्येका एक बिपी कोइरालाले आफूमाथि लागेका विभिन्न मुद्दाहरूको बयान दिने क्रममा अभिव्यक्ति विचारको एक अंश हो यो।
बिपीसहितका चार पुस्ता देश र जनताका लागि जुनसुकै बलिदान गर्न निरन्तर तयार रहेको देखिएको छ। भदौ २३ गते जेनजी अन्दोलन त्यही संकल्पको एउटा अभिव्यक्ति हो। जनताको आवाज (सामाजिक सञ्जाल) बन्द गर्ने सरकारी निर्णयविरुद्ध युवाहरू त्यसकै माध्यमबाट संगठित हुँदै सडकमा उत्रिए। त्यसविरुद्ध सरकारले बल प्रयोग गर्यो। भित्री कारणहरू धेरै छन् तर २३ गतेको हिंसालाई देखाउँदै २४ गते विध्वंश मच्चाउने काम भयो। त्यसबाट मुलुक आहत बनेको छ। साथै देशको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनको नेतृत्व गर्दै आएका नेपाली कांग्रेसजस्ता पुराना दलहरू सत्ता राजनीतिको किनारामा पुगेका छन्। प्रतिनिधिसभा विघटन भएको छ। फागुन २१ गते निर्वाचन गराउने गरी भदौ २७ गते सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ। व्यवस्था कायमै छ तर अवस्था फेरिएको छ।
बदलिएको अवस्थापछिको रणनीति बनाउन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने वा नगर्ने दलहरू आन्तरिक छलफलमा जुटेका छन्। कतिले नयाँ परिस्थिति अनुसारको सांगठनिक र नीतिगत निर्णय लिन पार्टीका अधिवेशनहरू बोलाउने निर्णयसमेत गरिसकेका छन्। केही भने छलफलमै छन्।
विगतमा पथ प्रदर्शक कांग्रेस भदौ २४ गतेपछि दिशाविहीन बन्न पुगेको छ। एक सय चार वर्ष लामो राणा शासन अन्त्यदेखि संविधानसभाबाट संविधान जारी र कार्यान्वयनसम्मको अगुवाइ गरेको कांग्रेसले भदौ २४ पछिको अवस्थालाई कसरी लिन्छ? उसले कस्ता नीति र विधि बनाउँछ भनेर देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय समुदायमा पनि चासोका साथ हेरिँदै गरेको स्थिति छ तर कांग्रेसका नेताहरू अहिले नीति, कार्यक्रम, विधि, विधान, अनुशासनको कसीमा उभिएर विगतमा जस्तै मुलुकलाई निकास दिएर इतिहास बनाउन होइन नेता तथा गुटप्रतिको बफादारी खोजी गरिरहेका छन्।
देशलाई कसरी निकास दिने होइन, अब पार्टीमा आफ्नो स्थान र भविष्य के हुन्छ भन्ने चिन्ता र चिन्तनमा नेताहरू रुमलिएका छन्। भदौ २४ गतेको जगमा असोज २८ गतेदेखि कांग्रेस केन्द्रीय समितिको बैठक सुरु भएको हो।
बैठकको पहिलो दिनमै सभापति शेरबहादुर देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। त्यसपछि केन्द्रीय समितिको बैठकमा कांग्रेस मूल अजेन्डामै प्रवेश गरेको छैन। पार्टीको १५औं महाधिवेशन फागुन २१ गतेको निर्वाचनभन्दा अघि गर्ने कि पछि भन्ने विवादमा अल्झेको छ।
कांग्रेसमा चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने वैधानिक व्यवस्था छ। त्यस अनुसार मंसिरमा कांग्रेसको १५औं महाधिवेशन गर्नुपर्ने हुन्छ तर भाषणमा बाहेक कांग्रेसले अहिलेसम्म महाधिवेशनको कुरै भएको छैन।
कुन पार्टी कति लोकतान्त्रिक भन्ने मापन अराजकता र विधिविहीनताले गर्दैन। जथाभाबी बोल्दैमा वा गर्दैमा पनि लोकतान्त्रिक र क्रान्तिकारी बनिने होइन। अहिले कांग्रेसका कतिपय नेताले लोकतान्त्रिक अभ्यास र पार्टीका रूपमा यसलाई नै व्याख्या गर्दै आएका छन्। विधि र विधान अनुसार चल्ने र चलाउने कुरालाई होइन। आफूलाई केन्द्रमा राख्दै आफ्नो स्थान सुरक्षित गर्ने गरी विधि र विधानको व्याख्या र उपयोग गर्न खोज्दा कांग्रेस कुहिरोको काग जस्तो बन्न पुगेको छ।
२००३ सालमा बिपी कोइरालासहितका नेताहरूले राणाशासन अन्त्यका लागि स्थापना गरेको कांग्रेस पार्टी जनताको माग र समयको आवश्यकताअनुसार निर्णय लिँदै अघि बढ्दा झन्डै ८० वर्ष मुलुकको मियो बन्न पुगेको थियो। कांग्रेसभन्दा पहिला अन्य पार्टी गठन नभएर होइन, राणा शासन अन्त्यका लागि प्रजापरिषद् पहिला नै स्थापना भएको थियो तर समयको माग र जनताको आवश्यकता नीति बनाउनुभन्दा नेता प्रधान हुँदा प्रजापरिषद्सहितका धेरै दल इतिहासका पानामा सीमित बनेका छन्।
कांग्रेसको स्थापनासँगै नेता को बन्ने भन्ने विवाद पटकपटक नभएका होइनन्। २००८ सालमा बिपी र मातृकाप्रसाद कोइराला, २०१५ सालमा बिपी र सुवर्ण शमशेर राणा, २०४८–५० मा कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, २०५९ मा शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाहरूबिच विवाद र संघर्ष भए।
बिपी, सुवर्ण, कृष्णप्रसादले व्यक्तिगत स्वार्थभन्दा पार्टीको बृहत्तर हितलाई केन्द्रमा राखे। नेताभन्दा नीतिलाई प्राथमिकता दिए। देशलाई निकास दिए। मुलुक र पार्टीलाई अघि बढाए। गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवाहरूले विगत महसुस गरेर पार्टी एकता गरे। हिंसात्मक आन्दोलनमा रहेको माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याए र दुई सय ४० वर्ष लामो राजतन्त्र सधैंका लागि बिदाइ गर्ने नेतृत्व गरे।
नेतृत्वको तीव्र प्रतिस्पर्धामा उत्रिएका सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलहरू मिलेर नै संविधानसभाबाट संविधान लेख्ने जनताको २००७ सालदेखिको सपनालाई साकार बनाए तर जनताले त्यसमा मात्र चित्त बुझाएनन्। जनताले मुलुकमा भ्रष्टाचार, कुशासन बढ्दै गएको गुनासो गर्नुका साथै सुशासनसहित तीव्र आर्थिक विकास हुनुपर्नेमा पनि जोड दिए।
विधिविहीन दलहरूलाई सच्चिन जनताले आग्रह गरे। त्यसलाई आत्मसात् गर्दै कांग्रेसको १४औं महाधिवेशनले विधि र विधानको वकालत गर्ने बहुसंख्यक नेतालाई पार्टीको पदाधिकारीमा महाधिवेशन प्रतिनिधिले निर्वाचित गराए। पार्टीभन्दा पनि जेठा शेरबहादुर देउवा सभापतिमा दोहोरिँदा झन्डै ३० वर्ष कान्छा विश्वप्रकाश शर्मा र गगनकुमार थापा महामन्त्रीमा निर्वाचित भए। उनीहरूकै उमेर हाराहारीका बद्री पाण्डे, किशोरसिंह राठोर, जीवन परियारहरू सहमहामन्त्रीमा निर्वाचित भए।
पदाधिकारीमा युवा पुस्ता निर्वाचित भएपछि उनीहरूले पार्टीमा सकारात्मक हस्तक्षेपको अपेक्षा पार्टीभित्र र बाहिरबाट गरिएको थियो। पाका, अनुभवी र युवा पुस्ताको समिश्रणले कांग्रेसले विधि र विधानअनुसार चल्ने र देशलाई निकास दिने मात्र होइन, विकासको अगुवाइ पनि गर्ने छ भन्ने विश्वास गरिएको थियो।
त्यति मात्रै होइन, युवा पुस्तामा राजनीतिप्रति बढ्दै गएको वितृष्णा र निराशालाई आशामा बदल्न कांग्रेसको सकारात्मक भूमिका रहने बुझाइ धेरैमा थियो। महाधिवेशन भएको एक वर्षभित्र तीन तहको निर्वाचन भयो तर अपेक्षाअनुसार कांग्रेसको मत बढेन।
चार लाख सदस्यता बढाएर १४औं महाधिवेशनमा झन्डै नौ लाख क्रियाशील सदस्यता बनाएको कांग्रेसले पछिल्लो आम निर्वाचनमा अघिल्लोमा भन्दा सात लाख ५४ हजार मत गुमाउँदै २७ लाख १५ हजार दुई सय २५ (२५.७१ प्रतिशत) मत मात्र पायो।
कांग्रेसले २०७४ सालको आमनिर्वाचनमा ३२.७७ प्रतिशत मत पाएको थियो। उपनिर्वाचनमा दाइ होइन चुनावी कमान्डर बनेर भाइहरू नै गए । जनताको मन र मत बदलिएन। विधि र विधानअनुसार पार्टी चलाउन नसकेको भन्दै विगतमा अरुलाई ‘नालायक’ करार गर्ने पुस्ता आफू लायक बन्न सकेन। १४औं महाधिवेशनको चार वर्ष बित्न लाग्दा गुटका आकार बदलिए पनि कांग्रेस विधि, विधान वा संस्थागत ढंगबाट सञ्चालन हुन सकेन।
लोकरिझ्याइँबाहेक पार्टीको नर्सरी नेपाल विद्यार्थी संघसहितका भ्रातृ संगठनको एक दशकदेखि महाधिवेशन पनि गर्न नसकेको कांग्रेस जनहितभन्दा धनवाद, डनवाद र गुटवादमा रुमलिन पुग्यो। देश र जनतालाई भन्दा आफू र आफ्नालाई केन्द्रमा राख्दा देशभित्र युवा र पाका पुस्ता मात्र होइन, वयस्कहरूको पनि साथ र समर्थन गुमाएको छ। छिमेकी र मित्रहरूसँगको विश्वास पनि टुटेको छ।
बाहिरबाट कांग्रेस ठुलो रुखजस्तो देखिए पनि ओत लाग्न नमिल्ने ठुटो बनेको छ। जराहरू मर्दै जाँदा जमिनमाथि अजंगको देखिए पनि रुखमा पालुवा पलाउन छाडेका छन्, हाँगा मक्किँदै झर्न थालेका छन्। जरा बाँकी भएन भने ठुटो रूखमा जति पानी र मल हाले पनि पालुवा पलाउँदैन। त्यसैले एउटा व्यक्ति होइन, जनताले राजनीतिक दलहरूको प्रवृत्तिमाथि नै प्रश्न उठाएका छन्। दुई/चार नेता वा व्यक्ति मात्र होइन, एउटा प्रवृत्तिको अन्त्यसहित समग्रतामा देश र जनताले रूपान्तरण खोजेका छन्। त्यो तत्कालका लागि पार्टी र निश्चित व्यक्तिका लागि प्रतिकूल भए पनि जनभावना र समयको पदचापअनुसारको नीति, प्रवृत्ति र नेतृत्व परिवर्तन गर्ने राजनीतिक दल र व्यक्तिको मात्र सान्र्दभिकता रहने हो।
बिपी कोइरालाले २०३६ सालको जनमतको परिणाम बहुदलको पक्षमा आउँदैन भन्ने जान्दाजान्दै निर्वाचनमा गए र परिणामलाई स्वीकार गरे। २०६४ सालको संविधानसभाको परिणाम पार्टीको प्रतिकूल आउँदा भन्ने बुझेर पनि गिरिजाप्रसाद कोइरालाले निर्वाचन गराए। २०७४ सालको आम निर्वाचनमा एमाले र माओवादी मिलेपछि कांग्रेस पराजित हुने पक्का थियो तर कांग्रेस चुनाव छाडेर भागेन। परिणामलाई स्वीकार गर्यो।
फागुन २१ गतेको निर्वाचनको परिणाम कांग्रेसको पक्षमा नआउन सक्छ तर चुनौतीलाई अवसरमा बदलेर इतिहास बनाएको कांग्रेस र तिनका नेताले पार्टी र आफूलाई केन्द्रमा राखे इतिहास बनाउने होइन, इतिहास बन्ने छ।
नेताभन्दा माथि पार्टी र पार्टीभन्दा माथि देश, जनता र लोकतन्त्रलाई राखेर निर्णय गरे कांग्रेसले फेरि नयाँ इतिहास बनाउने छ। मुलुक विघटन हुने त होइन भन्ने संशयबाट आम नागरिकलाई आश्वस्त बनाउँदै लोकतन्त्रको राजमार्गलाई अझ फराकिलो बनाउन सक्छ। त्यसले मात्र कांग्रेसको सान्दर्भिकतालाई पुनर्पुष्टि गर्न सक्छ।
प्रकाशित: १६ कार्तिक २०८२ ०८:२७ आइतबार



