राजनीति

दर्ताका लागि सर्वोच्चमा पेस भएको निवेदन देउवा पक्षले किन लग्यो फिर्ता?

नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदन त्रुटि देखिएपछि फिर्ता लगेका छन्।

शुक्रबार दिउँसो वारेसमार्फत सर्वोच्चमा पेश गरिएको निवेदन दर्ता हुनुअघि नै देउवा पक्षले फिर्ता लगेको हो। मुद्दा नम्बरलगायत विवरणमा त्रुटि रहेकाले सच्याएर पुनः पेश गर्ने भन्दै निवेदन फिर्ता लगिएको सर्वोच्च अदालतले जनाएको छ।  

रिटमा कांग्रेसको १५औँ महाधिवेशनका सम्पूर्ण प्रक्रिया रोक्न माग गरिएको थियो।

कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वको समितिलाई दिने सर्वोच्चको फैसला पुनरवलोकनका लागि निस्सा प्रदान भइसकेको अवस्थामा महाधिवेशन अघि बढाउन नहुने देउवा पक्षको जिकिर छ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई कांग्रेसको आधिकारिकता दिएको थियो, जसलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो। त्यसविरुद्ध देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले पुनरवलोकनका लागि निवेदन दिएपछि सर्वोच्चले निस्सा प्रदान गरेको थियो।

गगन थापा नेतृत्वले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेर प्रक्रिया अघि बढाएपछि देउवा पक्षले त्यसलाई रोक्न कानुनी बाटो रोजेको हो। देउवा पक्षले रिट फिर्ता लिए पनि सच्याएर पुनः सोमबार सर्वोच्चमा पेश गर्ने बताएको छ।  

पूर्वउपसभापति खड्काले पनि आफू कानुनी तथा राजनीतिक परामर्शमा रहेको बताउँदै रिट दर्ता गराएका छैनन्। 

प्रकाशित: ५ भाद्र २०८३ १९:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App