सरकारले विभिन्न १३ देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्तिहरूको पृष्ठभूमि प्राज्ञिक, कूटनीतिक, सुरक्षा, अर्थतन्त्र, विकास, आप्रवासन, प्रविधि तथा सार्वजनिक प्रशासनसम्म फैलिएको छ।
भारतदेखि अमेरिका, चीनदेखि जापान र खाडी मुलुकसम्मका लागि सिफारिस गरिएका व्यक्तिहरूको अनुभव र विज्ञता फरक–फरक छन्।
१. भारत : डा. निश्चलनाथ पाण्डे
नेपालको परराष्ट्र नीति र दक्षिण एसियाली मामिलाका प्राज्ञिक व्यक्तित्वका रूपमा परिचित डा. निश्चलनाथ पाण्डेलाई भारतका लागि राजदूतमा सिफारिस गरिएको छ। उनी हाल सेन्टर फर साउथ एशियन स्टडिज (CSAS) का निर्देशक छन्।
पाण्डेले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठान (IFA) को कार्यकारी निर्देशकका रूपमा सन् १९९८ देखि २००६ सम्म काम गरेका थिए। उनी सन् १९९६–९७ मा पर्यटन तथा नागरिक उड्डयन विषयमा राष्ट्रिय योजना आयोगका सल्लाहकार, सन् २०१६ मा सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ र २०१७ मा नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत थिए।
त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि र कानूनमा स्नातक गरेका पाण्डे नेशनल इन्स्टिच्युट अफ एडभान्स स्टडिज, बेंगलोरका मानार्थ सह–प्राध्यापक तथा नेशनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एशियन स्टडिजका नन–रेजिडेन्ट सिनियर फेलो हुन्।
उनले जर्मनीको SWP र बेलायतको युनिभर्सिटी अफ हलमा भिजिटिङ फेलोका रूपमा काम गरेका छन्। क्षेत्रीय रणनीतिक अध्ययन केन्द्र, कोलम्बोको सञ्चालक समितिमा सन् २०११ देखि २०१९ सम्म रहे। सेज र मनोहर पब्लिशर्समार्फत तीन पुस्तक तथा नेपालको परराष्ट्र नीति र क्षेत्रीय सहकार्यबारे एक दर्जन सम्पादित कृतिहरू प्रकाशित गरेका पाण्डेले सन् २०१५ मा हार्भरर्ड केनेडी स्कूलको ‘साउथ एशिया लिडर एक्जिक्युटिभ प्रोग्राम’ पूरा गरेका छन्।
२. चीन : डा. कल्याणराज शर्मा
नेपाल–चीन सम्बन्धका जानकार, सिनोलोजिस्ट तथा अर्थशास्त्री डा. कल्याणराज शर्मा चीनका लागि प्रस्तावित राजदूत हुन्। चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित अर्थशास्त्रमा विद्यावारिधि गरेका शर्माको प्राज्ञिक तथा संस्थागत क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ।
उनी फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डशिप फोरम र काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालका अध्यक्ष हुन्। नेपाल–चीन फ्रेन्डशिप फोरमको अध्यक्षका रूपमा उनी सन् २०१३ देखि सक्रिय छन्।
काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कलर रहेका शर्माले ‘डुइङ बिजनेस इन चाइना’ पाठ्यक्रम तयार गरी अध्यापनसमेत गर्दै आएका छन्। उनी एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिका प्रबन्ध निर्देशक हुनुका साथै एपेक्स फण्ड्स लिमिटेड तथा विभिन्न जलविद्युत् र ऊर्जा कम्पनीका स्वतन्त्र सञ्चालक छन्।
नेपाल–चीन सम्बन्धमा योगदान पुर्याएको भन्दै उनलाई नेपाल भूषण (२०१६) र ‘सिल्क रोड फ्रेन्डशिप अवार्ड’ (२०२१) प्रदान गरिएको थियो। उनी नेपाल–चीन आर्थिक कूटनीति, व्यापार र ‘बेल्ट एण्ड रोड’ सहकार्यका विषयमा विश्लेषक तथा वक्ताका रूपमा समेत परिचित छन्।
३. अमेरिका : चिरनजंग थापा
राष्ट्रिय सुरक्षा, संकट व्यवस्थापन र अन्तर्राष्ट्रिय मामिलाका विज्ञ चिरनजंग थापा संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत हुन्। उनीसँग सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ।
थापाले कोलम्बिया युनिभर्सिटीको स्कूल अफ इन्टरनेशनल एण्ड पब्लिक अफेयर्सबाट पूर्ण प्राज्ञिक छात्रवृत्तिमा अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर तथा SUNY जेनेसियोबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन्।
सन् २०१७ देखि अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकार रहेका उनले १५ देशमा जोखिम तथा संकट व्यवस्थापनको नेतृत्व गरेका छन्। यसअघि सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकार र द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र तथा नागरिक–सैन्य सम्बन्ध सल्लाहकारका रूपमा काम गरेका थिए।
यस क्रममा उनले रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीलाई परामर्श दिएका थिए। नेपाली सेनाको पहिलो नागरिक–सैन्य सम्बन्ध पाठ्यक्रम तयार पार्न पनि उनको भूमिका थियो।
उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि सिङ्गापुर र नेपालको स्थायी नियोगमा समेत काम गरेका छन्। हार्भरर्ड केनेडी स्कूलको ‘लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पूरा गर्ने पहिलो गैर–सैनिक नेपाली तथा दुई पटक प्रधानसेनापति प्रशंसापत्र पाउने पहिलो व्यक्ति भएको विवरण उनको प्रोफाइलमा उल्लेख छ।
४. बेलायत : पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा
चार दशकभन्दा बढी नेपाली सेनामा सेवा गरेका पूर्वप्रधानसेनापति गौरव शम्शेर जंगबहादुर राणा बेलायतका लागि प्रस्तावित राजदूत हुन्। उनले सन् २०१२ देखि २०१५ सम्म प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व गरेका थिए।
उनकै नेतृत्वमा विस्तृत शान्ति सम्झौताअनुसार पूर्वमाओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने प्रक्रिया अघि बढेको थियो। संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपालको रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका राणाले सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ लागू गरेका थिए।
सन् २०१५ को भूकम्पपछि उनले ‘अपरेशन संकट मोचन’मार्फत नेपाली सेनाको उद्धार तथा राहत अभियानको नेतृत्व गरे। सो क्रममा १८ विदेशी सैन्य टोलीको सहभागिता समन्वय गरिएको थियो।
यसअघि उनी बलाधिकृत रथी, DGMO विभागका महानिर्देशक तथा दक्षिण लेबनानमा नेपालको UNIFIL शान्ति सेना बटालियनका कमान्डर थिए। पाकिस्तानको कायदे–आजम युनिभर्सिटीबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक गरेका राणा रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट, अमेरिकी आर्मी कमान्ड एण्ड जनरल स्टाफ कलेज तथा पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन्।
उनी हाल कन्जर्भेसन एलायन्स नेपालका अध्यक्ष छन्।
५. जापान : जिज्ञान कुमार थापा
नेपाल–जापान सम्बन्धमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय जिज्ञान कुमार थापा जापानका लागि प्रस्तावित राजदूत हुन्। योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानूनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका थापा सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलाका विज्ञका रूपमा कार्यरत छन्।
सन् २००५ देखि उनले नेपाल–जापान उच्चस्तरीय द्विपक्षीय कार्यक्रमको संयोजन गर्दै आएका छन्। दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीका भ्रमण तथा आदानप्रदानमा उनले सहजीकरण गरेका छन्।
सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापान भ्रमणका क्रममा आयोजित नेपाल–जापान व्यापार संवादको आयोजना पनि उनले गरेका थिए। JICA, UNICEF तथा जापानी स्थानीय सरकारहरूसँग अन्तर्राष्ट्रिय सहकार्य र आप्रवासन सुशासनका क्षेत्रमा काम गरेका थापा नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकारसमेत हुन्।
उनी गैरआवासीय नेपाली संघ जापानका पूर्वमहासचिव र जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। विभिन्न जापानी विश्वविद्यालयमा सह–प्राध्यापकका रूपमा अध्यापन गर्दै आएका उनले JLPT लेभल १ उत्तीर्ण गरेका छन्।
६. इजरायल : सुरेशकुमार कर्ण
सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिको क्षेत्रमा तीन दशकभन्दा बढी कार्यकारी अनुभव भएका सुरेशकुमार कर्ण इजरायलका लागि प्रस्तावित राजदूत हुन्।
कुमारी बैंकमा सन् २००३ देखि २०१५ सम्म प्रमुख सूचना तथा विपणन अधिकृत रहेका कर्णले नेपालको पहिलो मोबाइल वालेट ‘कुमारी मोबाइल क्यास’को अवधारणा तयार गरी सञ्चालनमा ल्याएका थिए। उक्त सेवा दक्षिण एसियाको ‘एमबिलियन्थ अवार्ड’बाट सम्मानित भएको थियो।
सन् २०१५ देखि २०१९ सम्म नेपाल बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतका रूपमा उनले बैंकलाई एकीकृत कोर बैंकिङ प्रणालीमा रूपान्तरण गर्ने कार्यको नेतृत्व गरे। सन् २०२४ देखि उनी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७९ अन्तर्गत नेपालको पहिलो जापानी प्रत्यक्ष वैदेशिक लगानीको प्रविधि संस्था कुमो ल्याब्स प्रालिका अध्यक्ष छन्।
कर्णले कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघको अध्यक्षका रूपमा दुई कार्यकाल काम गरेका छन्। उनी नेपालको आईटी काउन्सिल र सूचना प्रविधि उच्चस्तरीय आयोगका सदस्यसमेत थिए। नेपालको पहिलो राष्ट्रिय आईटी नीति २००० को मस्यौदामा पनि उनको योगदान रहेको विवरण छ।
बेइजिङ नर्मल युनिभर्सिटीको बेल्ट एण्ड रोड स्कूलबाट अन्तर्राष्ट्रिय व्यापार, लगानी तथा पूर्वाधार अर्थशास्त्रमा MBA गरेका कर्ण ‘इन्स्टिच्युसन अफ इन्जिनियर्स (इन्डिया)’का फेलो हुन्। उनलाई राष्ट्रिय ICT उत्कृष्ट पुरस्कार २०१९ प्रदान गरिएको थियो।
७. स्पेन : प्राप्ति शेरचन
अन्तर्राष्ट्रिय विकास तथा साझेदारीको क्षेत्रमा १५ वर्षभन्दा बढी अनुभव भएकी प्राप्ति शेरचन स्पेनका लागि प्रस्तावित राजदूत हुन्। दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकामा काम गरेकी शेरचन सन् २०१५ देखि विश्व बैंक समूहअन्तर्गत इन्टरनेशनल फाइनान्स कर्पोरेसन (IFC) मा लैंगिक समाधान तथा प्रभावका लागि सञ्चालन अधिकृतका रूपमा कार्यरत छन्।
उनले IFC इन्डियाको ‘जेन्डर कन्ट्री प्रोग्राम’को नेतृत्व गरेकी छन्। IFC को महिला बीमा कार्यक्रमको एसिया प्रमुखका रूपमा काम गर्दा एसिया र अफ्रिकामा १३ लाखभन्दा बढी महिलालाई समेट्ने तथा ९ हजार ५०० रोजगारी सिर्जनामा सहयोग गर्ने साझेदारी विस्तार भएको विवरण छ।
नेपाल, बंगलादेश र श्रीलंकालाई समेट्ने बहु–देशीय वाणिज्य बैंकिङ अनुसन्धानको नेतृत्व गरेकी शेरचनले ASEAN इन्स्योरेन्स काउन्सिलसँग मिलेर १० देशीय क्षेत्रीय अध्ययन पनि सञ्चालन गरेकी थिइन्।
ब्रान्डिस युनिभर्सिटीको हेलर स्कूलबाट दीगो अन्तर्राष्ट्रिय विकासमा MBA तथा नेशनल युनिभर्सिटी अफ सिंगापुरबाट समाजशास्त्रमा स्नातक गरेकी उनी उच्चस्तरीय अन्तर्राष्ट्रिय मञ्चमा IFC को प्रतिनिधित्व गरिसकेकी छन्। उनी ‘वुमेन लिड नेपाल’को अमेरिकी बोर्ड सह–अध्यक्ष तथा ‘IFC मिलेनियल+ रिसोर्स ग्रुप’की सह–संस्थापक हुन्।
८. जर्मनी : सरू जोशी
वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यमा २५ वर्षभन्दा बढी अनुभव भएकी वरिष्ठ नीति विज्ञ सरू जोशी जर्मनीका लागि प्रस्तावित राजदूत हुन्।
नेपालको वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ र वैदेशिक रोजगार नीति २०६८ निर्माणमा योगदान गरेकी जोशीले युएन वुमेनमा सन् २००२ देखि २०१२ सम्म दक्षिण एसियाका लागि क्षेत्रीय कार्यक्रम प्रबन्धक तथा श्रम कूटनीति प्रमुखका रूपमा काम गरिन्।
त्यसपछि युएन वुमेन नेपालमा कार्यक्रम विज्ञ, महिला आर्थिक सशक्तीकरण इकाई प्रमुख तथा रणनीतिक साझेदारी विज्ञका रूपमा जिम्मेवारी सम्हालिन्। सन् २०१८ देखि स्वतन्त्र वरिष्ठ नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाताका रूपमा काम गर्दै आएकी उनले विश्व बैंक, ग्लोबल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट तथा COP28 लगायतका अन्तर्राष्ट्रिय प्रक्रियामा नेपालको प्रतिनिधित्व गरेकी छन्।
सन् २०२४ देखि नेपाल पोलिसी इन्स्टिच्युटको कार्यकारी बोर्ड सदस्य रहेकी जोशी नेपाली आप्रवासी श्रमिकको मताधिकारसम्बन्धी राष्ट्रिय वकालतमा सक्रिय छिन्। उनले इन्स्टिच्युट अफ सोसल स्टडिज, द हेगबाट महिला तथा विकासमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। उनी ‘एउटा सिन्को भाँचेर हेर्दा’ पुस्तककी लेखिका हुन्।
९. ओमान : डा. पद्माक्षी राणा
दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यमा १५ वर्षभन्दा बढी अनुभव भएकी डा. पद्माक्षी राणा ओमानका लागि प्रस्तावित राजदूत हुन्।
सन् २०२२ देखि इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक तथा सह–संस्थापक रहेकी राणाले इम्प्याक्ट हब ग्लोबल एसोसिएसन तथा एसिया–प्रशान्त क्षेत्रीय क्लस्टरमार्फत UK Aid/FCDO, युरोपेली संघ, UNDP, UNICEF, UNESCAP, विश्व बैंक र रोयल एकेडेमी अफ इन्जिनियरिङसँग साझेदारी निर्माण गर्दै आएकी छन्।
क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट फर म्यानुफ्याक्चरिङबाट खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्वमा विद्यावारिधि गरेकी उनले क्याम्ब्रिजबाट वातावरण, समाज तथा विकासमा MPhil र वेबस्टर युनिभर्सिटी थाइल्यान्डबाट MBA गरेकी छन्।
इम्प्याक्ट हबअघि क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान तथा अध्यापन गरेकी राणाले सिंगापुरमा दिगोपन नवप्रवर्तन परामर्श संस्था ‘द इन्सेप्टरी’ सह–स्थापना गरेकी थिइन्। हिन्दू कुश हिमालय क्षेत्रमा दिगो व्यावसायिक मोडल तथा विपद्पछिको पर्यटन पुनरुत्थानबारे उनका समकक्षी–समीक्षित अनुसन्धान प्रकाशित छन्।
१०. मलेसिया : चूडामणि खरेल
मानविकी, अंग्रेजी, राजनीतिशास्त्र र कानूनको प्राज्ञिक पृष्ठभूमि भएका चूडामणि खरेल मलेसियाका लागि प्रस्तावित राजदूत हुन्।
खरेलले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक र स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक गरेका छन्। उनी हाल नेपाल योग खेलकुद संघका महासचिव छन्।
यसअघि उनले नेपाल स्केटिङ तथा स्केटबोर्ड संघका महासचिव तथा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत सातौँ राष्ट्रिय खेलकुद उपसमितिका सदस्य सचिवका रूपमा काम गरेका थिए।
उनको प्राज्ञिक यात्रामा कसमस कलेज र जोन बाउर कलेजमा अंग्रेजी विषयको अध्यापन पनि समावेश छ। शिक्षा, खेलकुद प्रशासन, कानुनी दस्तावेजीकरण तथा संस्थागत व्यवस्थापनको अनुभव उनको प्रोफाइलमा देखिन्छ।
११. दक्षिण कोरिया : प्रा. डा. सङ्गम श्रेष्ठ
अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता र जलसुरक्षा कूटनीतिमा २५ वर्षभन्दा बढी अनुभव भएका प्रा. डा. सङ्गम श्रेष्ठ दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत हुन्।
उनी हाल एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT), थाइल्यान्डको स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्राध्यापक तथा पूर्व डिन र ग्लोबल वाटर एण्ड स्यानिटेसन सेन्टरका संस्थापक सह–निर्देशक हुन्।
उनले एसियाली विकास बैंक, विश्व बैंक, गेट्स फाउन्डेसन, संयुक्त राष्ट्रसंघका विभिन्न निकाय, युरोपेली संघ, FAO र UNESCO सँग साझेदारीमा अन्तर्राष्ट्रिय अनुदान तथा कार्यक्रम सञ्चालन गरेका छन्। ३० भन्दा बढी देशका सरकार तथा कूटनीतिक नियोगसँग काम गरेको अनुभव उनको प्रोफाइलमा उल्लेख छ।
जापानको यामानाशी युनिभर्सिटीबाट एकीकृत नदी बेसिन व्यवस्थापनमा विद्यावारिधि गरेका श्रेष्ठले २०० भन्दा बढी अनुसन्धानपत्र प्रकाशित गरेका छन्। उनको ह–इन्डेक्स ५२ रहेको विवरण छ। ScholarGPS ले जलवायु परिवर्तन तथा नदी अध्ययनमा उनलाई विश्वका शीर्ष अनुसन्धातामध्ये नवौँ स्थानमा राखेको र उनी स्ट्यान्फोर्ड युनिभर्सिटीको शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा पटक–पटक परेको विवरण पनि दिइएको छ।
उनी बेइजिङ नर्मल युनिभर्सिटी तथा नेशनल युनिभर्सिटी अफ लाओसका आमन्त्रित प्राध्यापक हुन्।
१२. श्रीलंका : डा. मंचला झा
सुशासन, सार्वजनिक नीति तथा संक्रमणकालीन न्यायको क्षेत्रमा काम गरेकी डा. मंचला झा श्रीलंकाका लागि प्रस्तावित राजदूत हुन्।
झाले नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा सन् २०१५ देखि २०१९ सम्म काम गरेकी थिइन्। त्यस क्रममा उनले संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आयोगको प्रतिनिधित्व गर्दै श्रीलंकामा नेपालको अनुभवसमेत प्रस्तुत गरेकी थिइन्।
उनी त्रिभुवन विश्वविद्यालयकी सह–प्राध्यापक हुन्। सन् २०२१ देखि २०२४ सम्म उनले सुशासन तथा भ्रष्टाचार निवारणसम्बन्धी स्नातकोत्तर कार्यक्रममा अध्यापन गरेकी थिइन्।
भारतको बी.आर. अम्बेडकर युनिभर्सिटीबाट हिन्दी साहित्यमा विद्यावारिधि तथा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी झा संयुक्त राष्ट्रसंघको ‘इस्तानबुल प्रोग्राम अफ एक्शन’का लागि राष्ट्रिय कार्यान्वयन तथा अनुगमन समितिकी आमन्त्रित विज्ञ सदस्यसमेत थिइन्।
उनले UNSCR १३२५ र १८२० अन्तर्गत महिला, शान्ति तथा सुरक्षाका विषयमा सरकारी तथा नागरिक समाजका सरोकारवालालाई प्रशिक्षण दिएकी छन्। निर्वाचन पर्यवेक्षक तथा नेपाली राजनीति र सुशासनसम्बन्धी सञ्चार विश्लेषकका रूपमा समेत काम गरेकी उनलाई तत्कालीन राजा वीरेन्द्रबाट सन् १९९६ मा ‘महेन्द्र विद्याभूषण’ प्रदान गरिएको थियो।
१३. साउदी अरेबिया : गिरीबहादुर सुनार
समाजशास्त्री तथा विकास क्षेत्रका विज्ञ गिरीबहादुर सुनार साउदी अरेबियाका लागि प्रस्तावित राजदूत हुन्। अन्तर्राष्ट्रिय विकास, नीतिगत परामर्श तथा बहु–सरोकारवाला सुशासनमा उनको २५ वर्षभन्दा बढीको अनुभव छ।
सामाजिक संरक्षण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, समुदायमा आधारित जलवायु अनुकूलन र गुनासो सुनुवाइ संयन्त्र उनको मुख्य प्राविधिक कार्यक्षेत्र हुन्। उनले विश्व बैंक र एसियाली विकास बैंकका ठूला पूर्वाधार तथा खानेपानी कार्यक्रमहरूमा यी क्षेत्रमा काम गरेका छन्।
त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधिका शोधार्थी रहेका सुनारले सन् २०१९ मा एमफिल गरेका छन्। उनी ‘Empowering Women Through Self-Defense’ पुस्तकका लेखक हुन्।
उनका १०० भन्दा बढी नीतिगत लेख ‘द हिमालयन टाइम्स’, ‘द अन्नपूर्ण एक्सप्रेस’ र ‘रिपब्लिका’ लगायतका राष्ट्रिय दैनिकमा प्रकाशित भएका छन्। राष्ट्रिय टेलिभिजनमा सार्वजनिक कूटनीतिका वक्ताका रूपमा समेत देखिँदै आएका सुनार ‘सामाजिक, वातावरण तथा ग्रामीण विकास नेपाल’ (SERD-Nepal) का सचिव हुन्। उनी नेपाली, अंग्रेजी र हिन्दी भाषामा निपुण छन्।
प्रकाशित: २ आश्विन २०८३ १८:५७ शुक्रबार



