प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका ठूला आयोजनाहरू रातारात सम्पन्न नहुने भन्दै यस्ता विषयमा व्यंग्य गर्नुभन्दा भविष्यका सन्ततिको सुविधालाई ध्यानमा राख्न आग्रह गरेका छन्।
दाङको टरिगाउँ विमानस्थल र पोखरा-काठमाडौं रेलमार्गबारे सांसदले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले दीर्घकालीन योजनाअनुसार काम गरिरहेको बताएका हुन्।
बुधबार संसदमा बोल्दै प्रधानमन्त्री ओलीले दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि सरकारले निरन्तर प्राथमिकता दिएको बताए।
उनले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा एक-एक करोड बजेट विनियोजन भएको स्वीकार्दै यो रकम विमानस्थल विस्तारका लागि नभई हवाई सेवा सञ्चालनलाई सहज बनाउन मात्रै भएको स्पष्ट पारे। ‘सरकारको दीर्घकालीन योजनाअनुसार यस विमानस्थलको स्तरोन्नति कार्य अगाडि बढाइने कुरा म स्पष्ट पार्न चाहन्छु,’ उनले भने।
पोखरा-काठमाडौं रेलमार्ग अन्तर्गत कुश्मामा स्टेसन बनाउने विषयमा बजेट नपरेको भन्ने सांसदको प्रश्नमा प्रधानमन्त्रीले व्यंग्यात्मक टिप्पणी गरे।
‘माननीयज्यूले कुश्मामा रेल्वे स्टेसन भनेर व्यंग्य गर्न खोज्नुभयो जस्तो लाग्छ,’ उनले भने, ‘हिजो बेलुका बनाउनु भनेको रेल्वे बिहानसम्म तयार भएन भन्ने प्रश्न हो ? रेल भनेको बेलुका भनेर बिहानसम्म वा रातिभरिमा तयार हुने हो र ?’
उनले स्वस्थानी व्रतकथामा शिवजीले पार्वतीलाई देखाएको महल जस्तो विकास निर्माण नहुने भन्दै यसको आफ्नै प्रक्रिया र पद्धति हुने बताए। ‘विकास निर्माणको कामको आफ्नो प्रक्रिया हुन्छ, आफ्नो तौरतरिका हुन्छ,’ उनले थपे।
प्रधानमन्त्री ओलीले विगतमा रेलको कुरा गर्दा उडाइएको खिल्लीको पनि स्मरण गरे। ‘जनकपुरमा रेल चलाइएको छ। चल्दै चल्दैन भनेर रेलमा यो गफ मात्रै हो भन्नेहरू पनि थिए,’ उनले भने।
उनले दैलेखमा ग्यास उत्खननको कुरा गर्दा पनि व्यंग्य गरिएको तर अहिले १० अर्ब घनमिटर ग्यास रहेको पुष्टि भइसकेको र अर्को वर्षदेखि उत्पादन सुरु हुने अवस्थामा पुगेको बताए।
‘त्यतिबेला व्यंग्य गर्नेहरूले अहिले यसमा हाम्रो पनि योगदान छ भन्न थालेका छन्,’ उनले भने, ‘यो रेलमार्गको बारेमा पनि अहिले व्यंग्य गर्ने माननीयले पछि हाम्रो पनि योगदान छ, एकलौटी जस लिन पाइँदैन भन्नुभयो भने म खुसी नै हुनेछु।’
प्रधानमन्त्रीले सरकारले आजको लागि मात्र नभई भविष्यका सन्ततिको सुविधा, विकास र सौलियतलाई समेत ध्यानमा राखेर काम गरिरहेको बताए।
प्रकाशित: ७ श्रावण २०८२ १५:२० बुधबार



