राजनीति

सिंहदरबार नै जलेको बेला पार्टी कार्यालयको के कुरा : विश्वप्रकाश

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन-जी प्रदर्शनपछि उत्पन्न परिस्थिति र भएको आगजनीको क्षतिले नेपाललाई खर्बौको क्षति पुर्‍याएको बताएका छन् ।  

कांग्रेसको पार्टी कार्यालय पुगेका उनले सिंहदरबार नै जलेको बेला पार्टी कार्यालयको के कुरा गर्ने भन्दै अब सबै नेपाली एक हुनुपर्ने बताए । सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘यतिबेला म नेपाली कांग्रेसको पार्टी कार्यालय छु । सिंहदरबार नै जलेका बेला पार्टी कार्यालय जलेको केही कुरै भएन । सबैले मिलेर पार्टी कार्यालय बनाउन सकिएला । अब सिंहदरबार भूकम्पपछि बल्लबल्ल ठडिँदैथियो । अर्बौ अर्बको क्षति भएको छ । न्याय माग्न जाने हाम्रो ठाउँ सर्वोच्च अदालत त्यसलाई ध्वस्त बनाइएको छ । सबैको आस्थाको थलो नेपालको संसद्, त्यसलाई जलाइएको छ ।’

यो घटना कसरी भयो भन्ने विषय उठान गर्दै भनेका छन्, ‘म जान्दछु जेन-जी पुस्ताको निर्दोष भावना जे थियो, माग जे थियो त्यो मागले कही पनि यो प्रकारको ध्वम्सको परिकल्पना गरेको थिएन ।’  

शर्माले आन्दोलनमा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्दै अब जेन-जीले देखेको सपना पूरा गर्न यही खरानीबाट उठ्नुपर्ने बताए ।  

उनले भने, ‘यो जलेको खर्बो खर्बो सम्पत्ति धुलो भएको छ, यही खरानीलाई हेरेर कसरी उठ्ने अब त्यता लाग्नुछ । हामी कुल दलका हौँ, कुन उमेरका छौँ । जेन-जी हौ कि होइनौँ त्यो दोस्रो कुरा हो । को कांग्रेसका हौँ, को पुरानो दलका को नयाँ दलका ती सबै दोस्रो कुरा पहिलो हामी नेपाली हौँ । नेपालले सबै खरानी भएको विश्व सन्देश दिँदा अब यही खरानीबाट उठ्ने प्रण गर्न आवश्यक छ । हाम्रो नेपाल बनाउन अब फेरि एक पटक हामी जुटौँ ।’

प्रकाशित: २८ भाद्र २०८२ २१:३३ शनिबार