पूर्वमन्त्री तथा नेकपा एमालेकी नेतृ पद्मा अर्याल र पूर्व शिक्षामन्त्री तथा सांसद् महावीर पुनबीच सामाजिक सञ्जालमा सवालजवाफ चलेको छ।
पद्मा अर्यालले आइतबार सामाजिक सञ्जालमा राजनीतिक एवं वैचारिक रूपमा आफु र पुन बीच स्वस्थ मतभेद भएपनि आफूलाई मिडियाको हवाला दिने कुनै पार्टीको मुखपत्रजस्तो फेसबुक पेजमा विषाक्त उद्देश्यले राखिएको मनगढन्ते कुरालाई आधार बनाई अनर्गल टिप्पणी गर्नु अशोभनीय भएको बताएकी छिन्।
उनले लेखेकी छिन्, ‘नयाँ संसदमा तपाईं जस्तो सुःबिख्यात, एवं प्रतिभावान संचार प्रविधि विज्ञको उपस्थितिले सूचना प्रविधि क्षेत्रको सुधार एवं भ्रामक सूचनाको नियन्त्रणका सम्बन्धमा तपाईंसँगको सहकार्यमा म पनि उत्साहित थिएँ। आज तपाईंले गरेको पोस्टले निराश बनाएको छ।’
साथै उनले आफुले नबोलेको विषयमा नियोजित ढंगले राखिएको कन्टेन्टलाई बिना मूल्यांकन प्रचार गरी द्वन्द्वको सृजना गर्दा चिन्ताको विषय बनेको बताएकी छिन्।
यसअघि महावीर पुनले पद्मा अर्याललाई उनका नेताले सिकाए जस्तै साह्रै जान्ने नभए पनि पुराना नेतृत्वहरू कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरू सबैलाई थाहा भएको बताएका थिए। उनले संसारका सबै युवाहरू जान्ने र चलाख भएको भन्दै समय चक्रमा अहिलेका नेपाली युवाहरू पनि नेताहरूभन्दा पनि धेरै नै चेतनशील भएको बताएका थिए ।
‘चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरूले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु विवेकपूर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ सालदेखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ।’ पुनले लेखेका थिए।
प्रकाशित: ८ चैत्र २०८२ १४:२५ आइतबार



