राजनीति

हाम्रो पार्टीविरुद्ध यस्तो लहर किन आयो, समीक्षा गर्छौं: गुरुङ

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अप्रत्याशित लहरका कारण आफ्नो दल पराजित भएको भन्दै यस विषयमा गम्भीर समीक्षा गर्ने बताएका छन्।

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसीसँग पराजय भोगेका उनले अब पार्टीको कार्यशैली सच्याएर अघि बढ्ने बताए।

लमजुङमा परम्परागत रूपमा एमाले र नेपाली कांग्रेसबीच मात्र प्रतिस्पर्धा हुने गरेको स्मरण गर्दै उनले यसपटकको नतिजा अप्रत्याशित भएको सुनाए।

‘लमजुङमा एमाले र कांग्रेसका मान्छे मात्र ठोक्किन्थे, तर अप्रत्याशित रुपमा घण्टी बज्यो। व्यापक लहर आयो। यसलाई हामी स्वीकार गर्छौं।’ उनले भने।

चुनावमा देखिएको जनमतलाई सम्मान गर्ने बताउँदै उनले थपे, ‘हाम्रो पार्टीविरुद्ध यस्तो लहर किन आयो भनेर हामी समीक्षा गर्छौ, कार्यशैली सच्याउँछौ। हामी सच्चिएर अघि बढ्छौं।’

सार्वजनिक अन्तिम मतपरिणामअनुसार लमजुङमा रास्वपाका केसीले ३३ हजार ८ सय ९८ मत प्राप्त गर्दै जित हासिल गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष गुरुङले १६ हजार ८ सय ७६ मत पाए।

त्यसैगरी, कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १६ हजार ५ सय ६९ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन्। नेपाल कम्युनिस्ट पार्टीका हरिजङ्ग तामाङले ३ हजार ३ सय ७१ र राष्ट्रिय प्रजातन्त्र पार्टीका केवीन्द्रजंग गुरुङले १ हजार मत पाएका छन्।

हालसम्म देशभर रास्वपाले १ सय १८ सिट जितिसकेको छ भने नेकपा एमाले मात्र ७ सिटमा खुम्चिएको छ।

निर्वाचनमा हार व्यहोरे पनि जनतासँगको आफ्नो सम्बन्ध कहिल्यै नटुट्ने गुरुङले दाबी गरेका छन्। उनले विजयी उम्मेदवार केसीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै आफूलाई मतदान गर्ने मतदाता, चुनावी मैदानमा खटिएका पार्टीपंक्ति र सुरक्षाकर्मीप्रति आभार व्यक्त गरे।

पदमा रहँदा वा नरहँदा लमजुङको विकास र नागरिकको सुख-दुःखमा सधैँ साथ रहने प्रतिबद्धता उनको छ। उनले भनेका छन्, ‘हार र जित एउटा चुनावी प्रक्रिया मात्र हो, तर जनतासँगको मेरो सम्बन्ध कहिल्यै टुट्ने छैन। लमजुङे जनताको सेवक भएर काम गर्ने मेरो प्रतिबद्धता आज पनि उत्तिकै दृढ छ।’

प्रकाशित: २४ फाल्गुन २०८२ १६:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App