राजनीति

नेपाललाई संसारकै धनाढ्य देश बनाउँछौं: जबरा

जय नेपाल पार्टीका अध्यक्ष डा. धवलशमशेर जबराले समृद्धिको नीतिमार्फत नेपाललाई संसारकै धनाढ्य र पहिलो श्रेणीको देश बनाउन सकिने दाबी गरेका छन्।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष जबराले आफ्नो पार्टी केवल धर्म, संस्कृति र राजाका लागि मात्रै नभई नेपाल र नेपाली जनतालाई आर्थिक रूपमा सम्पन्न र पहिलो बनाउने लक्ष्यका साथ स्थापना भएको बताए।

नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न देश भएको उल्लेख गर्दै जबराले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गरे देशको मुहार फेरिने तर्क गरे।

‘मुगुको काखमा रहेको रारा ताल स्विट्जरल्याण्डको जेनेभा वा भारतका तालहरूभन्दा पनि सुन्दर छ, तर हामीले त्यसको सही उपयोग गर्न सकेका छैनौं,’ उनले भने, ‘कृषि, खनिज, जलस्रोत र पर्यटनका सम्भावनाहरूलाई प्रयोग गरेर नेपाललाई संसारकै धनाढ्य देश बनाउन सकिन्छ।’

नेपाल विविध जाति, जनजाति, भाषा र धर्मावलम्बीहरूको साझा फूलवारी भएकाले सबैलाई समेट्न र अभिभावकत्व प्रदान गर्न ‘राजासहितको हिन्दु अधिराज्य’ आवश्यक रहेको उनले दाबी गरे।

देशमा विद्यमान सबै राजनीतिक प्रयोग तथा व्यवस्थाहरू असफल भइसकेको टिप्पणी गर्दै जबराले अब राजासहितको हिन्दु अधिराज्यको नयाँ परिस्थितिमा जानुपर्ने बताए।

आफ्नो राजनीतिक जीवनमा जनतालाई कहिल्यै नठगेको र सधैँ इमानदार रहेको दाबी गर्दै अध्यक्ष जबराले जय नेपाल पार्टीलाई जनताले विश्वास गरे देशलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २१ श्रावण २०८३ १६:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App