राजनीति

बेपत्ताका परिवारलाई ऊर्जामन्त्रीको ढाडस- अझै आशा मार्ने बेला भएको छैन, धैर्य नगुमाउनुस्

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनाका सम्पर्कविहीन कर्मचारीका परिवारलाई भेटेर खोजी तथा उद्धारमा सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन्।

मन्त्रालयमा बुधबार परिवारजनसँगको भेटमा उनले अन्तिम सम्भावनासम्म खोजी प्रयास जारी रहने भन्दै धैर्य नगुमाउन आग्रह गरे।

एक सातादेखि आफन्तको अवस्था अज्ञात रहँदा परिवारले भोगिरहेको पीडा शब्दमा व्यक्त गर्न नसकिने भन्दै मन्त्री श्रेष्ठले हरेक नागरिकको जीवन राज्यका लागि अमूल्य रहेको बताए।

‘एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ परिवारलाई ढाडस दिँदै मन्त्री श्रेष्ठले भने, ‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहने छौं। अझै आशा मार्ने बेला भएको छैन। प्रयास र प्रार्थना सँगसँगै गरौं, आशा जीवित राखौं।’

खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, प्रविधि, दक्ष जनशक्ति र स्रोतसाधन परिचालन गरिएको उनले सुनाए। यद्यपि, सम्पूर्ण स्रोतसाधन लगाउँदा पनि एक सातासम्म अपेक्षित परिणाम नआउँदा चिन्ता बढेको स्वीकार गर्दै उनले यो कठिन घडीमा सरकार परिवारको साथमै रहेको प्रतिबद्धता जनाए।

भेटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले नागरिकको जीवन रक्षा सरकारको प्रमुख दायित्व भएको बताइन्। उनले विभिन्न सरकारी निकायहरूबीच समन्वय र सहकार्य गर्दै उपलब्ध सबै उपाय लगाएर खोजी कार्य अघि बढिरहेको जानकारी गराइन्।

त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक तथा चिलिमे जलविद्युत् कम्पनीका अध्यक्ष दीर्घायुकुमार श्रेष्ठले हालसम्म भइरहेका खोजी प्रयास र प्राविधिक पक्षबारे परिवारजनलाई ब्रिफिङ गरेका थिए।

खोजी कार्यलाई निष्कर्षमा पुर्‍याउन कम्पनीका तर्फबाट सबै संयन्त्र परिचालन गरिएको उनले जानकारी दिए।

प्रकाशित: १७ भाद्र २०८३ १६:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App