नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थानीय बासिन्दाहरुले बनाएको योजना अनुसार एमालेका नेता तथा कार्यकर्ताहरु उद्धार,राहात,पुननिर्माण तथा पुनस्थापनाको काममा खटिने बताएका छन् ।
बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्ताहरुसँग कुरा गर्दै महासचिव पोखरेलले विगतमा परेका ठूला ठूला प्राकृतिक विपत्तीमा पनि एमालेका नेता कार्यकर्ताहरुले व्यापक रुपमा श्रमदान गरेर उद्धार,राहात,पुनस्थापना तथा पुननिर्माणको काम गरेकोले यस पटक पनि एमाले पूर्ण रुपमा यस काममा खटिने पोखरेलले बताए ।
‘तपाईंहरुले योजना बनाउनुहोस । यस्तो प्रकारको सीप भएका जनशक्ती चाहियो भन्नुहोस । पार्टीले त्यस्ता जनशक्ती पठाउछ’ महासचिव पोखरेलले भने । उहाँले आवश्यकता भन्दा बढी जनशक्ति आएमा उनीहरुलाई फिर्ता पठाउन पनि भनेका छन् । ‘अनावश्यक भिडभाडले मुल काम प्रभावित हुन्छ । त्यसैले आवश्यकता भन्दा बढी भिडभाड नगर्नुहोस ’ पोखरेलले भनेका छन् ।
पोखरेलले उद्धार,राहात तथा बेपताको खोजी गर्नका लागि स्थानीय जनतालाई साथ लिन समेत पार्टी नेताहरुलाई निर्देशन दिएका छन् । ‘वेपताहरुको खोजीमा लाग्नुहोस कोही भेटिएमा स्थानीय प्रशासनलाई खबर गर्नुहोस’ पोखरेलले भने ‘यी सबै कामका लागि स्थानीय,प्रदेश र संघीय सरकारसँग समन्वय गर्नुहोस । ’ पोखरेलले संघीय सरकारबाट गर्नुपर्ने कामको सुची बनाएर पठाएमा पार्टी केन्द्रले त्यसको समन्वय गर्ने बताए । उनले कतिपय कामहरु राज्यका तर्फबाट नै गर्नुपर्ने हुन्छ कतिपय स्थानीयबासीको श्रमदानबाट हुन्छ । त्यसको पहिचान गरेर काममा लाग्न उनले सुझाएका छन् । महासचिव पोखरेलले पार्टीका स्थानीय कमिटीहरुको काममा समन्वय गर्न र प्रदेश तथा केन्द्रमा नियमित रिर्पोटिङ गर्न नुवाकोट जिल्ला कमिटीलाई आग्रह गरेका छन् ।
प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डेले जिल्लामा बाढीले पुर्याएको क्षतीको बारेमा महासचिवको टिमलाई जानकारी गराएका थिए । यसैगरी केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले रसुवामा बाढीले गरेको क्षतीका बारेमा जानकारी गराएका थिए ।
महासचिव पोखरेलको टोलीले बाढीले क्षतिग्रस्त बनाएको ढुंगे बजार,देवीघाट लगायतका ठाउँको निरीक्षण गरेको छ । टोलीले अस्पतालमा पुगेर घाइतेहरुको स्वास्थ्य लाभको कामना सहित उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनसँग आग्रह गरेको छ ।
प्रकाशित: ११ भाद्र २०८३ २२:२० बिहीबार



