राजनीति

अन्तत: बागमती सरकारबाट बाहिरियो एमाले, ६ मन्त्रीद्वारा सामूहिक राजीनामा

बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका ६ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। मन्त्रीहरूले राजीनामा दिएसँगै एमाले प्रदेश सरकारबाट बाहिरिएको छ भने सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ।

केन्द्रको निर्देशनअनुसार एमालेका मन्त्रीहरूले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र बुझाएका हुन्।

एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार सोमबार काठमाडौंमा बसेको संसदीय दलको बैठकले पार्टीको औपचारिक निर्देशन नआएसम्म सरकारबाट नबाहिरिने निष्कर्ष निकालेको थियो। तर मंगलबार केन्द्रबाट आएको निर्णयपछि मन्त्रीहरूले सामूहिक रूपमा सरकार छाडेका हुन्।

एमाले मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेरै राजीनामा बुझाउने तयारी गरेका थिए। मुख्यमन्त्री चितवनबाट फर्किन ढिला भएपछि उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा पत्र दर्ता गराएका हुन्।

बागमती प्रदेश सरकारमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा, भरत केसी, जयराम थापा, मधुसूदन पौडेल, किरण थापा र बिन्दु श्रेष्ठ मन्त्री थिए।

नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै प्रदेश सरकारले मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा झारेको थियो। मन्त्रालय पुनर्संरचनापछि एउटै मन्त्रालयमा तीन जनासम्म मन्त्रीलाई विषयगत जिम्मेवारी बाँडेर काम सञ्चालन गर्ने व्यवस्था गरिएको थियो।

तर मन्त्रालय पुनर्गठन भएको एक सातामै कांग्रेस–एमालेबीचको सत्ता सहकार्य अन्त्य भएको हो। एमाले सरकारबाट बाहिरिएसँगै मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका छन्।

यससँगै बागमती प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया सुरु हुने देखिएको छ।

प्रकाशित: ६ श्रावण २०८३ १७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App