राजनीति

प्रधानमन्त्री कवि पनि हुन्, ‘एक्लो’ को अर्थ हामी सबै हौं: लामिछाने

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ’ भनेर लेखेको स्टाटस विवादमा परेपछि रास्वपा सभापति रवि लामिछानेले त्यसको प्रतिरक्षा गरेका छन्।

प्रधानमन्त्री एक सर्जक र कवि पनि भएकाले उनको साहित्यिक अभिव्यक्तिलाई राजनीतिक रूपमा गलत अर्थ लगाउन नहुने लामिछानेको भनाइ छ।

केही दिनअघि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका थिए, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्। सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’

दुई-तिहाइ बहुमतको सरकारका प्रमुखले एक्लै लड्नुपर्छ भन्दै स्टाटस लेखेपछि सञ्जालमा चर्को व्यङ्ग्य भएको थियो।

बुधबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको बचाउ गर्दै साहित्य र राजनीतिको फरक बुझ्न आग्रह गरे।

‘प्रधानमन्त्रीज्यू एउटा कवि र कलाकार पनि हुनुहुन्छ,’ लामिछानेले भने, ‘यत्रो भीडमा पनि कहिलेकाहीँ एक्लो महसुस हुन सक्छ। तर हरेक शब्दको राजनीतिक अर्थ खोज्न गयौं भने त्यसले गलत सन्देश दिन्छ।’

प्रधानमन्त्री एक्लो नभएको र आफूहरु सबै एक ढिक्का भएर साथमै उभिएको उनले सुनाए। ‘म यहीँ सँगै उभिएको छु, सिङ्गो पार्टी यहीँ सँगै छ। उहाँ कहाँ एक्लो हुनुहुन्छ ?’, लामिछानेले प्रतिप्रश्न गरे।

सत्ता समीकरण बनेको चार महिना पूरा भई पाँचौँ महिनामा प्रवेश गरेको उल्लेख गर्दै उनले वर्तमान सरकार देशको भविष्य र इतिहास निर्माणको गहन जिम्मेवारीका साथ अघि बढिरहेको बताए।

सामान्य अभिव्यक्तिलाई लिएर सत्ता गठबन्धनभित्र दरार आएको भनी गरिएका अड्कलबाजी निराधार रहेको उनको दाबी छ।

प्रकाशित: ३ भाद्र २०८३ १६:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App