प्रतिनिधिसभामा सहभागी प्रमुख राजनीतिक दलका नेताहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो महाधिवेशनबाट राजनीतिक र वैचारिक रूपमा स्पष्ट भएर आउने विश्वास व्यक्त गरेका छन्। पार्टी स्थापनाको छोटो समयमा नै संसद्को सबैभन्दा ठुलो शक्तिशाली राजनीतिक दलका रूपमा स्थापित रास्वपाको गन्तव्य र विचाराधार स्पष्ट हुन नसकेको पुराना दलका नेताहरूले टिप्पणी गरेका छन्।
एमाले नेता प्रदीप ज्ञवालीले रास्वपा महाधिवेशनबाट स्पष्ट विचार निर्माण गर्न सकोस् भन्ने कामना गरे। ‘रास्वपा राजनीतिक पार्टीका रूपमा संस्थागत हुन सकेको छैन,’ उनले थपे, ‘यो पार्टी अभियानका रूपमा फलोअरहरूको समुहको जस्तो देखिएको छ। त्यसैले यस महाधिवेशनले निश्चित गन्तव्य र विचाराधारासहितको पार्टी बनोस् भन्ने हाम्रो कामना हो।’
आन्तरिक लोकतन्त्र र पार्टीको आन्तरिक जीवनको स्वस्थ्य परिचलानमा पार्टीहरूले भोग्दै आएको पनि उनको बुझाइ छ। रास्वपामा पनि यस्तो देखिन थालेको बताउँदै उनले भने, ‘त्यसैले यस महाधिवेशनबाट यसको व्यवस्थापन गर्न सकोस् भन्ने हाम्रो कामना छ। रास्वपाले जनादेश कसरी पायो, त्यो अहिले नभनौं। जनादेशलाई जनताको हितमा प्रयोग गरोस् र अलोकतान्त्रिक मार्गमा पार्टी नजाओस् भन्ने हाम्रो मान्यता हो।’
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख युवराज दुलालले सत्तारूढ दलको महाधिवेशन सबैका लागि चासोको विषय बनेको बताए। भर्खरै सम्पन्न निर्वाचनमा यस पार्टीले अपार जनमत पाएको जनाउँदै दुलालले महाधिवेशनले के नीतिगत निर्णय गर्छ भन्ने कुराले राजनीतिमा ठुलो अर्थ राख्ने बताए। ‘अहिलेसम्म रास्वपाको आइडोलोजी छैन र राजीतिक दृष्टिकोण पनि छैन,’ उनले भने, ‘यस महाविधेशनले पार्टीको राजनीतिक दृष्टिकोण स्पष्ट पार्छ भन्ने हामीले अपेक्षा गरेका छौं।’
रास्वपा सत्तारूढ दल भएकाले संघीय लोकतान्त्रिक गणतन्त्र र अहिलेको व्यवस्था सफल बनाउन तथा संविधान कार्यान्वयन गर्न यस पार्टीले भूमिका निर्वाह गर्छ भन्ने नेकपाको मान्यता रहेको उनले बताए।
नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले रास्वपा निराशा बाँडेर आएको अस्वाभाविक समूह तथा जत्था भएको आरोप लगाए। यसको राजनीतिक अजेन्डा केही नभएको र मान्छे जम्मा गरेर व्यक्तिगत लोकप्रियता बाँड्ने र स्टन्ट गर्ने काम रास्वपाले गर्ने गरेको पनि बताए।
हरेक घटनामा स्टन्ट गर्ने गरेको जनाउँदै उनले भने, ‘पहिले सुकुम्बासी बस्तीमा डोजर चलाएर स्टन्ट गर्यो। त्यसमा अलोकप्रिय भयो। फेरि अर्को स्टन्ट गर्यो।’
यस पार्टीको महाधिवेशनपछि यसको वास्तविक रूप अब देखिने उनले जनाए।
प्रकाशित: ६ असार २०८३ १०:४१ शनिबार



