राजनीति

सरकारले संसद्को उपेक्षा र नागरिकको अपमान गर्‍यो: प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले संसद्को उपेक्षा र नागरिकको अपमान गरेको आरोप लगाएका छन्।

धादिङ-२ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनमा गरेको बाचाअनुसार सरकारले काम नगरेको बताए।

‘सरकारले संसद्लाई उपेक्षा गरेको छ। नागरिकलाई अपमान गरेको छ। संसदीय व्यवस्थामाथि प्रहार गर्ने काम गरेको छ,’ पौडेलले भने, ‘ती कुराहरू हामीले निरन्तर रूपमा उठाउनेछौं, खबरदारी गर्नेछौं।’

निर्वाचनअघि एउटा कुरा गरेर निर्वाचनपछि त्यसविपरीत व्यवहार गर्न नहुने उनको भनाइ छ।

‘निर्वाचनमा एउटा कुरा बोलेर निर्वाचनमा गइसकेपछि फेरि अर्को व्यवहार गर्न पाइँदैन,’ उनले भने, ‘लोकतन्त्रलाई असुरक्षित गर्ने, लोकतन्त्र समाप्त गर्ने र विधिको शासन अन्त्य गर्ने ढंगबाट सरकार प्रस्तुत हुन्छ भने त्यसका विरुद्ध हामीले खबरदारी गर्नुपर्छ।’

पौडेलले सरकारका कामकारबाहीबारे कांग्रेसले सूक्ष्म अध्ययन गरी तथ्यसहित जनतामाझ ल्याउने बताए। भ्रष्टाचारविरुद्धको अभियानमा नेपाली कांग्रेस सशक्त रूपमा अघि बढ्ने उनले जनाए।

प्रकाशित: १० मंसिर २०८३ १६:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App