राजनीति

बुद्धभूमि नगरपालिकामा जिल्लामै पहिलो आधारभूत कर सेवा सुरु

बुद्धभूमि नगरपालिकामा जिल्लामै पहिलोपटक आधारभूत कर सेवा प्रवाह गर्ने कार्यको शुभारम्भ गरिएको छ। नगरपालिकाको आयोजना र आन्तरिक राजस्व कार्यालय कृष्णनगरको संयोजनमा मंगलबारदेखि उक्त सेवाको शुभारम्भ गरिएको हो।

यससँगै करसम्बन्धी आधारभूत सेवाहरू पालिकाभित्रैबाट प्राप्त गर्न सकिने भएको छ। सोसम्बन्धी कर कार्यालय र नगरपालिकाबीच सम्झौता गरी सेवा हस्तान्तरणसमेत गरिएको छ। कर कार्यालयका प्रमुख कृष्णप्रसाद न्यौपाने र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

ब्यानर पढेर सेवाको उद्घाटन गर्दै नगर प्रमुख केशवकुमार श्रेष्ठले यहीँबाट प्यान बनाएका दुई संस्थालाई प्यानको प्रमाणपत्रसमेत हस्तान्तरण गरेका थिए। उनले अब करसम्बन्धी आधारभूत सेवा लिन कृष्णनगर पुग्नुपर्ने बाध्यता हटेको बताए।

उनले करसम्बन्धी सेवाका लागि अब सेवाग्राहीको झन्झट कम हुने तथा समय र पैसाको समेत बचत हुने बताए। नगरपालिकाबाट प्रदान गरिने सेवाहरूलाई प्रविधिमैत्री, पारदर्शी र सेवाग्राहीमैत्री बनाइने बताउँदै उनले पालिकाभित्रै अन्य सेवा पनि थप्दै जाने जानकारी दिए।

अब बुद्धभूमि नगरपालिकाबाटै नयाँ प्यान दर्ता, प्यान नवीकरण, कर चुक्ता प्रमाणपत्रलगायतका आधारभूत कर सेवाहरू प्राप्त गर्न सकिने भएको छ।

प्रमुख कर अधिकृत कृष्णप्रसाद न्यौपानेले कपिलवस्तु जिल्लामै पहिलोपटक स्थानीय तहबाट आधारभूत कर सेवा प्रवाह सुरु गरिएको बताए। उनले स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च बचत हुने बताए। यसले कर प्रशासनलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

कर अधिकृत पिताम्बर न्यौपानेले करसम्बन्धी विभिन्न विषयमा सहभागीहरूलाई जानकारी गराएका थिए।

नगर प्रमुख श्रेष्ठको अध्यक्षता तथा वरिष्ठ कर अधिकृत विजय भुसालको सञ्चालनमा भएको कार्यक्रममा नगरपालिकाका वरिष्ठ लेखा अधिकृत रेणुराम ज्ञवालीले स्वागत गरेका थिए।

प्रकाशित: २६ श्रावण २०८३ १९:३५ मंगलबार