गृहमन्त्री सुधन गुरुङले केही दिनअघि आफ्नो निर्वाचन क्षेत्र गोरखा १ का मतदातालाई ‘भोट फिर्ता लैजानुस्’ भनेको अभिव्यक्तिलाई मजाकका रूपमा लिइदिन आग्रह गरेका छन्।
बुधबार रास्वपा सभापति रवि लामिछानेले बोलाएको पार्टीको दलको बैठकमा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै गुरुङले उक्त अभिव्यक्ति मतदातासँगको सामान्य ठट्टा भएको दाबी गरेका हुन्।
सञ्चारकर्मीले ‘भोट फिर्ता लैजानुस्’ भनेको विषयमा प्रश्न गरेपछि गुरुङले झोक्किँदै भने, ‘आफ्नो भोटरसँग जोक गर्न हुँदैन त?’
केही दिनअघि गोरखा १ अन्तर्गत सहिद लखन गाउँपालिका ९ का स्थानीयसँग भेटघाटका क्रममा मतदाताले निर्वाचनका बेला गरेका वाचा पूरा गर्न माग गरेका थिए। विशेषगरी स्वास्थ्य सामग्री उपलब्ध गराउने विषयमा आफूले गरेको प्रतिबद्धता पूरा नभएको भन्दै उनीहरूले गुनासो गरेका थिए।
मतदाताको गुनासोपछि गुरुङले छोटो समयमै सबै क्षेत्रमा कायापलट गर्न नसकिने भन्दै ‘भोट फिर्ता लैजानुस्, अब स्थानीय चुनावमा काम लाग्छ’ भन्ने अभिव्यक्ति दिएका थिए।
प्रकाशित: ३ भाद्र २०८३ १३:५६ बुधबार



