राजनीति

टसमस रामकुमारी झाँक्री, एकीकृत समाजवादी नरम

प्राय: राष्ट्रिय राजनीतिक वृत्तमा चर्चामा रहिरहने पूर्वमन्त्री रामकुमारी झाँक्री पुन: बहसको पात्र बनेकी छन्। पार्टी अध्यक्ष माधवकुमार नेपालका प्रति दिएको एउटा अभिव्यक्तिका कारण उनी अहिले बहसको पात्र बनिरहेकी छन्।

गत असार १५ गते लुम्बिनीमा आयोजित पार्टीको भ्रातृ सङ्गठन युवा संघ नेपालको भेलालाई सम्बोधन गर्ने क्रममा उनले भनेकी थिइन्— पार्टीमा सङ्कट छ, अध्यक्षकै बारेमा सङ्कट आयो। अब के गर्ने ? अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो। सङ्कट आयो भनेर भाग्ने भनेको होइन। पार्टीलाई पुनर्गठन गरौँ। कसरी गर्ने ? कानूनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरु कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ। अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन। अर्ली महाधिवेशन गरौँ। पुनर्गठन गरेर अध्यक्ष बनाऔँ। कहाँ हुन्छ यसरी ? म त भन्छु।

त्यसअघि जेठ २२ गते एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। अख्तियारले हदबन्दी छुट जग्गा बेचबिखन र सट्टापट्टा गर्न दिने तत्कालीन सरकारको निर्णयमा जिम्मेवार भएको दाबी गर्दै नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। यही पृष्ठभूमिमा झाँक्रीले उल्लिखित अभिव्यक्ति दिएकी थिइन्।

तर, त्यही अभिव्यक्तिलाई लिएर पार्टीले उनलाई स्पष्टीकरणसम्म सोध्यो। पार्टी उपाध्यक्ष जगन्नाथ खतिवडाले झाँक्रीलाई गत असार १७ गते नै स्पष्टीकरण सोधिसकेको जानकारी दिए। तर, पार्टीले स्पष्टीकरण सोधेको बताए पनि झाँक्रीले भने आफूले स्पष्टीकरणपत्र प्राप्त नगरेको बताउँदै थिइन्।

यसपछि मङ्गलबार (हिजो) पार्टीले थप साता दिनका लागि समय थप गर्‍यो। प्रचार विभाग उपप्रमुख दामोदर अर्यालका अनुसार पार्टीले थप सात दिनको समय दिएर आत्मालोचना गर्नका लागि अनुरोध गरेको छ। ‘आत्मालोचनाका लागि उहाँलाई पार्टीले थप समय दिएको हो। पार्टीले त्यही आग्रह गरेको छ,’ अर्यालले भनेका छन्।

यसबीचमा नेताहरूले झाँक्रीलाई तारन्तार फोन गरेर पनि आत्मालोचनाका लागि आग्रह गरिरहेका छन्। त्यसमा पनि मुख्यत: महासचिव घनश्याम भुसालले जोड गरिरहेको पार्टी स्रोत बताउँछ। झाँक्री जतिको नेतालाई नगुमाउने ध्येयका साथ नेताहरूले फलो गरिरहेको स्रोत बताउँछ। ‘उहाँलाई नेताहरूले फोनमार्फत पनि आत्मालोचना गर्नुस्, बाँकी छलफल पार्टीमै गरौँला भनेर भनिरहनुभएको छ,’ स्रोतले भन्यो।

नेताहरूको फोनदेखि स्पष्टीकरणका लागि समय थपसम्म गरेर पार्टीले नरमपना देखाइरहँदा झाँक्री भने टसमस छिन्। उनले आफूले आफ्नो भनाइ नसच्याउने अड्डी कसेकी छन्। बरु नसच्याएबापत् जे पनि भोग्न तयार छिन् उनी। ‘माफी माग्छु, जानिनँ, बिगारेँ भन्न भो त ? रामकुमारी झाँक्री स्टेटमेन्ट करेक्सन गर्ने मान्छे त होइन, बरु लियाबिलिटी बोकेर आएने मान्छे हो। म बोलेको जे लियाबिलिटी लाग्यो, म त्यत्रो सम्भावना भएको पार्टी छोडेर आएँ। स्टेटमेन्ट त नेभर करेक्सन, मैले जिम्मेवारीपूर्ण रूपमा बोलेको हो। सुझबुझमै बोलेको हो। करेक्सनचाहिँ गर्दिनँ। गरेकै छैन। यसका लागि जे पनि भोग्न तयार छु,’ झाँक्रीले एक अन्तर्वार्ताका क्रममा भनेकी छन्।

त्यसो त पछिल्लो समय अध्यक्ष नेपालसँग झाँक्रीको सम्बन्ध राम्रो छैन। झाँक्री ती नै हुन्, जसले नेपाललाई एमाले विभाजन र एकीकृत समाजवादी गठनका बेला दह्रो साथ दियो। तर, पछिल्लो समय नेपाल-झाँक्री सम्बन्ध राम्रो छैन। सहरी विकास मन्त्रीबाट हटेकोदेखि पार्टी उपाध्यक्ष हारेकोसम्मको विषयका कारण झाँक्री त्यति सन्तुष्ट छैनन् भनिन्छ। पछिल्लो 'मरेको सिनो'सम्मको अभिव्यक्तिसम्म आइपुग्दा उनीहरूबीचको तिक्तता झनै गहिरिएको छ।

प्रकाशित: २५ असार २०८२ २२:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App