राजनीति

जगदिशले विपक्षीलाई ‘तमासा नदेखाउन’ भनेपछि तनाव

प्रतिनिधिसभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदिश खरेलले विपक्षी दलको विरोधलाई ‘तमासा’ भनेपछि सदनमा तनाव उत्पन्न भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को उपस्थिति र जवाफ माग गर्दै अवरोध गरिरहेका विपक्षीलाई लक्षित गर्दै सांसद खरेलले ‘तमासा नदेखाउन’ भनेपछि विवाद चुलिएको हो।

तनावपूर्ण स्थितिका कारण सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन्।

विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री शाहले सदनमा आएर समसामयिक विषयमा जवाफ दिनुपर्ने माग राख्दै उठेर विरोध गरेका थिए। सभामुख अर्यालले प्रधानमन्त्री जवाफ दिन छिटै आउने भन्दै पटक पटक आफ्नो आसनमा बस्न आग्रह गरेका थिए।

तर, विपक्षी पछि नहटेपछि सभामुख अर्यालले होहल्ला र अवरोधकै बीच पेलेरै संसद्को काम कारबाही अघि बढाएका थिए।

सभामुखले जबरजस्ती सदन अघि बढाउँदै ‘पर्यटन विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्तावमा छलफल चलाएपछि रास्वपा सांसद खरेलले सम्बोधन गरेका थिए।

उनले संसद् कानुन बनाउने थलो भएको स्मरण गराउँदै विपक्षीको व्यवहारप्रति आपत्ति जनाए।

सम्बोधनका क्रममा सांसद खरेलले भने, ‘हामी ४८ वर्षदेखि बन्न नसकेको पर्यटनसम्बन्धी कानुन निर्माणको प्रक्रियामा छौं, यस्तो महत्वपूर्ण विषयमा छलफल भइरहँदा विपक्षीले संसद्मा तमासा देखाउनु उचित हुँदैन।’

उनको यो अभिव्यक्तिपछि विपक्षी सांसदहरू थप आक्रोशित बन्दै विरोधमा उत्रिएका थिए।

एकातिर प्रधानमन्त्रीको उपस्थितिविना सदन चल्न नदिने विपक्षीको अडान र अर्कोतिर सत्तापक्षका सांसदको टिप्पणीले संसद्को माहोल मुठभेडतर्फ उन्मुख भएको थियो।

कार्यसूची अघि बढाउने क्रममा सभामुख अर्यालले समेत असन्तुष्टि व्यक्त गरेका थिए। उनले विपक्षी सांसदहरू उभिएर विरोध जनाइरहेको अवस्थामा आफू सदनका काम कारबाही अघि बढाउन नचाहेको बताएका थिए।

प्रकाशित: १२ जेष्ठ २०८३ १५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App