आफूविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएर संकटमा परेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले ५ जना प्रदेशसभा सदस्यलाई पदमुक्त गरेका छन्।
लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित भएको कारण देखाउँदै सभामुख मण्डलले बिहीबार राति उनीहरूलाई पदमुक्त गरेको सूचना प्रदेशसभा सचिवालयले जारी गरेको हो।
पदमुक्त हुनेहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपालका चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसद रहेका छन्।
जसपा नेपालका सारदा शंकर प्रसाद कलवार, मनिष कुमार सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र नागरिक उन्मुक्ति पार्टीका उर्मिला देवी सिंहलाई पद मुक्त गरिएको ।
प्रदेशसभा सचिवालयद्वारा कार्तिक २७ गते जारी सूचनामा नेपालको संविधानको धारा १८० (घ) र प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८४ बमोजिम लगातार १० वटा बैठकमा अनुपस्थित रहेकाले उनीहरूको स्थान रिक्त भएको बताइएको छ।

यसअघि नेपाली कांग्रेससहित सात दलीय गठबन्धनले ६४ जना सांसदको हस्ताक्षरसहित सभामुख मण्डलविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएको थियो।
प्रकाशित: २७ कार्तिक २०८२ २१:४९ बिहीबार



