प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले निर्वाचन आयोगले ल्याउन लागेको स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको निष्कर्ष निकालेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको आह्वानमा मङ्गलबार (आज) सिंहदरबारमा बसेको दलहरूको बैठकले उक्त कार्यविधि संविधानविपरीत रहेको निष्कर्ष निकालेको हो।
बैठकमा अध्यक्ष दाहालले सो कार्यविधि हालको संविधान, ऐन तथा कानूनविपरीत रहेको उल्लेख गर्दै सबै दलहरूले त्यसको प्रतिवाद गर्नुपर्ने बताए। यस्तै माओवादी उपमहासचिव वर्षमा पुनले उक्त कार्यविधि सरकारसम्बद्ध दलहरू कांग्रेस-एमालेले नै 'गो अहेड' दिएको सूचना पाएको बताए।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कार्यविधि राजनीतिक दलसम्बन्धी ऐन २०७३ सँग मेल नखाने बताए। उनले कार्यविधिबाट प्रस्तावित समिति, त्यसका संयोजक तथा अधिकारहरू संविधान र कानूनको मर्मविपरीत रहेको बताए।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले कार्यविधिको मनसाय नै गल्तीपूर्ण भएको दाबी गर्दै आफूहरू यसको विरोधमा रहेको प्रष्ट पारे। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता बुद्धिमान तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की नेता नेतृ रेखा यादव, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, नागरिक उन्मुक्ति पार्टीका नेताहरूले पनि कार्यविधि संविधान, लोकतन्त्र र दलको स्वायत्तताविरुद्ध रहेको टिप्पणी गरे।
बैठकमा नाम स्वमूल्याङ्कन भए पनि नियन्त्रणको उद्देश्य रहेकाले यसमा सबै दलले साझा धारणा बनाएर निर्वाचन आयोगसँग छलफल, प्रतिवाद गर्ने र आवश्यक परे आन्दोलनसमेत गर्नुपर्ने आवश्यकता नेताहरूले औँल्याएका थिए।
बैठकमा माओवादी केन्द्र, एकीकृत समाजवादी, रास्वपा, राप्रपा, आम जनता पार्टी, लोसपा, जनमत पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूको सहभागिता थियो।
प्रकाशित: २१ श्रावण २०८२ १८:०४ बुधबार



