राजनीति

रास्वपाको डिजिटल प्लेटफर्म सार्वजनिक, सांसदलाई प्रविधिमैत्री कार्यप्रणालीबारे अभिमुखीकरण

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी र सरकारको कामलाई थप प्रविधिमैत्री तथा जनमुखी बनाउने उद्देश्यसहित सांसदहरूलाई ‘पल्स आरएसपी डिजिटल प्लेटफर्म’ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा सांसदहरूलाई डिजिटल माध्यममार्फत पार्टी, सरकार र नागरिकलाई एउटै प्लेटफर्ममा जोड्ने अवधारणाबारे जानकारी गराइएको हो।

रास्वपाका सांसद खगेन्द्र सुनुवारका अनुसार कार्यक्रममा सरकार र पार्टीका गतिविधिलाई डिजिटल प्रणालीसँग आबद्ध गर्दै अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

उनले भने, “सरकारको कामलाई डिजिटल माध्यमसम्म जोडेर कसरी लैजान सकिन्छ भन्ने विषयमा हामीले छलफल गरेका छौँ। पार्टी सभापति, सांसद, सरकार र आम जनतालाई एउटै प्लेटफर्ममा जोडेर आगामी कामलाई अझ प्रभावकारी बनाउने उद्देश्यले यो प्लेटफर्म विकास गरिएको रहेछ।”

सुनुवारका अनुसार ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्ममार्फत नागरिकका गुनासा, सरकारले गर्नुपर्ने काम तथा जनताका आवाजलाई एकीकृत रूपमा संकलन र व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रममा सभापति रवि लामिछानेले पार्टी ठूलो परिवार भएकाले सबैले जनताका समस्या सुन्नुपर्ने आवश्यकता औँल्याए। उनले सरकारले जनभावना र चुनावी प्रतिबद्धताअनुसार काम गर्न सकेको छ वा छैन भन्ने विषयको नियमित अनुगमन तथा फलोअप पनि यही डिजिटल प्लेटफर्ममार्फत गरिने बताए।

 

प्रकाशित: १९ असार २०८३ १५:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App