राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पछिल्लो समय तराई–मधेस क्षेत्रमा भएका हिंसात्मक घटनामा सरकारलाई निष्पक्ष अनुसन्धान, दोषीमाथि कारबाही तथा दीर्घकालीन समाधानका लागि पहल गर्न आग्रह गरेको छ।
शुक्रबार काठमाडौंमा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गरेको छ।
पार्टीले विभिन्न घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, धनुषाको रघुनाथपुरस्थित हनुमान मन्दिरको रेखदेख गर्ने व्यक्तिको हत्या भएको घटनाको पनि निन्दा गरेको छ।
राप्रपाले हिंसा, साम्प्रदायिक विद्वेष, धार्मिक असहिष्णुता तथा सामाजिक द्वन्द्व कुनै पनि सभ्य समाजका लागि स्वीकार्य नहुने स्पष्ट गरेको छ।
प्रहरीको गोली प्रहारबाट नागरिकको ज्यान जानुमा भिड व्यवस्थापन र प्रशासनिक कमजोरी देखिएको उल्लेख गर्दै समस्याको समाधान दमन वा गोली प्रहारबाट सम्भव नहुने पार्टीको धारणा छ। लोकतान्त्रिक पद्धतिअनुसार संवाद, सहिष्णुता र विधिको शासनमार्फत समाधान खोज्नुपर्नेमा राप्रपाले जोड दिएको छ।
पार्टीले तराई–मधेसका विभिन्न क्षेत्रमा हिन्दु चाडपर्व र धार्मिक महोत्सवका क्रममा पटक–पटक तनाव र साम्प्रदायिक विवाद दोहोरिनु चिन्ताजनक भएको जनाएको छ। यस्ता घटनाको कारण, सुरक्षा व्यवस्थाको कमजोरी र प्रशासनिक उत्तरदायित्वबारे गहिरो अध्ययन गरी दीर्घकालीन समाधान निकाल्न सरकारसँग आग्रह गरिएको छ। साथै, सर्वपक्षीय समिति गठन गरी तत्काल संवाद प्रक्रिया सुरु गर्न पनि राप्रपाले माग गरेको छ।
धारणामा प्रत्येक नागरिकले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर आफ्नो धर्म, संस्कृति र परम्परा स्वतन्त्र रूपमा अभ्यास गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने बताएको छ।
पछिल्ला हिंसात्मक घटनाप्रति राज्यको उदासीनताले देश द्वन्द्वतर्फ उन्मुख हुन सक्ने भन्दै सबै पक्षलाई विश्वासमा लिएर राष्ट्रिय शान्तिको दीर्घकालीन आधार निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
राप्रपाले २०६२/६३ पछि अवलम्बन गरिएको राजनीतिक र संवैधानिक मार्गचित्रमाथि गम्भीर राष्ट्रिय समीक्षा आवश्यक भएको निष्कर्ष पनि निकालेको छ। राष्ट्रिय पहिचान, सांस्कृतिक निरन्तरता र सामाजिक एकतालाई पर्याप्त महत्व नदिएको दाबी गर्दै पार्टीले संविधान, कानुन र नीतिगत व्यवस्थामाथि पुनर्विचार गर्नुपर्ने धारणा राखेको छ।
यस्तै, पार्टीले वैदिक सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र पुनर्स्थापनाको आफ्नो एजेन्डा कुनै समुदाय वा धर्मको अधिकार सीमित गर्ने उद्देश्यबाट प्रेरित नभएको स्पष्ट पारेको छ।
यस्तै, राप्रपाले सम्पूर्ण नेपालीलाई संयम, सहिष्णुता, विवेक र राष्ट्रिय एकताको पक्षमा उभिन आह्वान गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र दीर्घकालीन शान्ति कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिएको छ।
प्रकाशित: १५ श्रावण २०८३ १८:२० शुक्रबार