राजनीति

पत्रकार धरपकडबारे रास्वपा सचेतकले भने : 'पुलिस स्टेट' बन्द गर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक तथा प्रतिनिधिसभा सदस्य प्रकाशचन्द्र परियारले समाचारको विषयलाई लिएर सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गर्ने र धरपकड गर्ने प्रयासको घोर भर्त्सना गरेका छन्।

शुक्रबार भएको घटनाप्रति आपत्ति जनाउँदै परियारले भर्त्सना गरेका हुन्। उनले प्रहरीको शैली ‘पुलिस स्टेट’ अर्थात् ‘प्रहरी राज’ उन्मुख देखिएको टिप्पणी गरेका छन्।

पत्रकार विश्वमणि सुवेदी पक्राउ प्रकरण र नयाँ पत्रिकाको कार्यालयमा सादा पोशाकका प्रहरी पुगेको घटनालाई लोकतान्त्रिक राज्य नेपालको सामान्य चरित्र नभएको उनको भनाइ छ।

‘संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली पुलिस स्टेट अर्थात् प्रहरी राज उन्मुख देखियो,’ परियारले जारी गरेको वक्तव्यमा भनिएको छ।

उनले बिदाको मुखैमा गरिएको प्रहरीको उक्त हर्कत छानबिनयोग्य रहेको उल्लेख गर्दै सरकारसँग ‘मिडिया धरपकड प्रकरण’ को छानबिन गर्न विशेष माग गरेका छन्।

पत्रकार तथा सञ्चारमाध्यमसँग सम्बन्धित विषयको निरूपण प्रेस काउन्सिल नेपालबाटै गर्ने अभ्यास गर्नुपर्नेमा जोड दिँदै परियारले त्यसका लागि जोडदार मागसमेत गरेका छन्।

उनले शुक्रबारको घटनालाई लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रतासँग जोड्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: १४ कार्तिक २०८३ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App