जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिनुपर्ने अडानबाट पार्टी पछाडि नहट्ने बताएका छन्। बस्नेतले तराई मधेसलाई मरुभूमिकरण गर्न ल्याइएको विधेयक फिर्ता लिनुपर्ने भन्दै पार्टी आफ्नो पूर्ववत् अडानबाट पछाडि नहट्ने दाबी गरेका हुन्।
बस्नेतले भने, ‘वन क्षेत्रको जग्गामा हुने अतिक्रमण रोक्न एवं जैविक विविधता र वातावरणको संरक्षण गर्न तथा जल, जंगल र भूमिको रक्षा गर्न पार्टी प्रतिबद्ध छ। मुलुक र जनताको हित विपरीत रहेको उक्त भूमि विधेयकका विरुद्ध पार्टी देशव्यापी आन्दोलनमा छ। आन्दोलन निरन्तर जारी रहन्छ।’
उनले भने, ‘पार्टीले भूमि विधेयकमा उठाएका प्रश्नको उचित सम्बोधन नभई विधेयक पारित गर्ने कुरा सरकारले नसोचेपनि हुन्छ।’ भूमि विधेयक पारित गर्न सरकारले निरंकुश रवैया देखाए पार्टी कडा प्रतिकारमा उत्रने उनको भनाइ छ।
पार्टीले भूमि विधेयकको विरुद्धमा गरिरहेको देशव्यापी प्रदर्शनमा सक्रिय सहभागी हुन सम्पूर्ण जनसमुदायहरूमा बस्नेतले अपिलसमेत गरेका छन्।
जसपा नेपालले देशका विभिन्न ठाउँहरूमा भूमि विधेयकको विरुद्धमा प्रदर्शन गरिरहेको छ।
प्रकाशित: १४ भाद्र २०८२ ०८:५९ शनिबार



