शिक्षा

१२ सामुदायिक विद्यालयको भौतिक विकासमा ६२ करोड बढी लगानी

काठमाडौं महानगरपालिकाले १२ वटा सामुदायिक विद्यालयको पूर्वाधार विकास तथा सुधारका लागि करिब ६२ करोड २८ लाख रुपैयाँ लागतमा खरिद प्रक्रिया अघि बढाएको छ।

विद्यालयको विद्यार्थी संख्या, जग्गाको स्वामित्व, भौगोलिक जोखिम तथा विद्यमान पूर्वाधारको आवश्यकताका आधारमा लगानीको योजना तयार गरी छुट्टाछुट्टै बोलपत्रमार्फत प्रक्रिया अघि बढाइएको महानगरले जनाएको छ।

महानगरका अनुसार सहरी योजना आयोगले गरेको अध्ययनबाट प्राप्त तथ्य र विद्यालयको वास्तविक आवश्यकतालाई आधार बनाएर पूर्वाधार विकासका योजना छनोट गरिएको हो।

विद्यालयमा बालमैत्री सिकाइ वातावरण, प्रविधिमैत्री कक्षाकोठा, प्रयोगात्मक अभ्यास, वातावरणीय सुधार तथा आवश्यक भौतिक संरचना निर्माणलाई प्राथमिकता दिइएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले सामुदायिक शिक्षाको गुणस्तरलाई प्रतिस्पर्धी र समयअनुकूल बनाउन महानगरले पूर्वाधारमा लगानी बढाएको बताइन्। उनका अनुसार भौतिक पूर्वाधारमा सुधार हुँदा शिक्षकलाई प्रभावकारी शिक्षणका लागि प्रोत्साहन मिल्नुका साथै विद्यार्थीमा सिकाइप्रतिको रुचि बढ्ने अपेक्षा गरिएको छ। 

शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले माध्यमिक तहसम्मका विद्यालय व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भएकाले संघ सरकारसँगको सहयोग र समन्वयमा आर्थिक, प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको बताए।

शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार विद्यालयमा लगानीको प्रस्ताव तयार गर्न प्रत्येक विद्यालयको जीपीएस लोकेसन, विद्यार्थी संख्या र जग्गाको अनुपात तथा बाढीलगायत प्राकृतिक जोखिमको अवस्था अध्ययन गरिएको छ। 

महानगरका अनुसार शिक्षा विभागमार्फत वडा नम्बर १४ स्थित जनविकास माध्यमिक विद्यालय र वडा नम्बर २८ स्थित पद्मोदय माध्यमिक विद्यालयको भवन निर्माण प्रक्रिया अघि बढाइएको छ।

जनविकासको भवन निर्माणका लागि ५ करोड ६७ लाख ६८ हजार ८६२ रुपैयाँ र पद्मोदयका लागि १५ करोड ३५ लाख ८४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।

त्यस्तै, सार्वजनिक निर्माण विभागमार्फत विभिन्न विद्यालयका थप ६ वटा योजना अघि बढाइएको छ। वडा नम्बर २४ को श्री कान्ति ईश्वरी राज्यलक्ष्मी आधारभूत विद्यालयको भवन निर्माणका लागि ५ करोड ५७ लाख ४९ हजार रुपैयाँ, वडा नम्बर २६ को शान्ति विद्यागृह माध्यमिक विद्यालयका लागि ८ करोड ५७ लाख ४२ हजार रुपैयाँ र वडा नम्बर २९ को अटिजम स्कूल निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार रुपैयाँ लागत अनुमान गरिएको छ।

यसैगरी दरबार हाइस्कूलको बहुउद्देश्यीय सभा कक्ष निर्माणका लागि १ करोड ८३ लाख २९ हजार रुपैयाँ, महेन्द्र बौद्ध माध्यमिक विद्यालयको मर्मतका लागि ८४ लाख १२ हजार रुपैयाँ र कन्या माध्यमिक विद्यालयको छात्रावास तथा कक्षाकोठा निर्माणका लागि ९ करोड ६२ लाख ५४ हजार रुपैयाँ लागतमा खरिद प्रक्रिया अघि बढाइएको छ।

वडा नम्बर १३ ले ज्ञानोदय माध्यमिक विद्यालयको भवन निर्माणका लागि १ करोड ६६ लाख ७२ हजार रुपैयाँ, वडा नम्बर ३ ले रानीदेवी माध्यमिक विद्यालयको भवन निर्माणका लागि २ करोड २६ लाख ८५ हजार रुपैयाँ तथा वडा नम्बर २२ ले आदर्श माध्यमिक विद्यालय, गणवहालको जमिन तलाको मर्मत तथा सुधारका लागि ७० लाख २९ हजार रुपैयाँ लागतमा प्रक्रिया अघि बढाएका छन्।

महानगरका अनुसार विद्यालयअनुसार जग्गाको स्वामित्वसम्बन्धी कानुनी जटिलता र उपलब्ध क्षेत्रफल फरक रहेकाले सबै विद्यालयमा एउटै प्रकृतिको संरचना निर्माण गरिएको छैन।

आवश्यकताअनुसार कतिपय विद्यालयमा नयाँ भवन, कतिपयमा मर्मत तथा सुधार र अन्य विद्यालयमा कक्षाकोठा तथा सभा कक्ष निर्माणलाई प्राथमिकता दिइएको छ। 

काठमाडौं महानगरपालिकाभित्र दुईवटा कारागारमा सञ्चालित विद्यालयसहित ८३ वटा सामुदायिक विद्यालय रहेका छन्। 

प्रकाशित: २३ श्रावण २०८३ १७:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App