नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टीको लोकप्रिय मत २८ प्रतिशतबाट घटेर १४-१५ प्रतिशतमा सीमित भएको स्वीकार गर्दै कार्यशैली एलिट र सरकारी जस्तो बन्दा धक्का बेहोर्नुपरेको बताएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै ज्ञवालीले बाह्य प्रहारसँगै पार्टीका आन्तरिक कमजोरीको खुलेर आत्मालोचना गरे।
२०७९ को निर्वाचनमा प्रतिकूलताका बीच पनि समग्र कम्युनिस्ट आन्दोलनको लोकप्रिय मत ४३-४४ प्रतिशत रहेकोमा फागुन २१ को निर्वाचनपछि सबै कम्युनिस्ट पार्टीको मत जोड्दा २२-२३ प्रतिशतभन्दा माथि नपुगेको तथ्यांक उनले प्रस्तुत गरे।
असोजमा सम्पन्न तेस्रो केन्द्रीय कमिटी बैठकबाटै एमालेले संस्थागत रूपमा आफ्ना कमजोरी स्वीकार गरिसकेको उनले बताए।
‘हाम्रो कार्यशैली एकदमै एलिट जस्तो हुन थाल्यो, ठूलठूला होटल चाहिने, मञ्चमा गएर बस्ने तर तल अरूसँग अनौपचारिक कुरा नै नहुने,’ ज्ञवालीले भने, ‘चुनावका बेलामा मात्रै टुरिस्ट जस्तो बनेर भोट माग्न जाने र अरू बेला जनताका समस्यासँग नजोडिने कमजोरी रह्यो।’
ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकले मुख्यतया पाँच कमजोरी औंल्याएको छ। चाहिनेभन्दा बढी सत्ता समीकरणको खेलमा लाग्दा एमाले पनि अरू दल जस्तै उस्तै-उस्तै हो भन्ने सन्देश गएको, जनताबाट सम्बन्ध टुटेको र जनताका सरोकारका मुद्दामा पार्टीले प्रभावकारी हस्तक्षेप गर्न नसकेको उनले बताए।
यसैगरी, युवाहरूसँग ठीक ढंगले संवाद गर्न नसकेको, आन्तरिक एकता बलियो बनाउन नसकेको र पार्टी अलि राजसी, सरकारी जस्तो बनेको निष्कर्ष निकालिएको उनले जानकारी दिए।
विधान महाधिवेशनपछि उमेर हद, कार्यकाल र पूर्वराष्ट्रपतिको सदस्यता जस्ता विवादले आन्तरिक एकता खल्बलिएको पनि उनले स्वीकार गरे।
२०७२ मा संविधान जारी भएपछिको नाकाबन्दीलाई पार्टीको बलियो एकता, संविधान पक्षधर दलको सहकार्य र जनतासँगको सम्बन्धका बलमा परास्त गरेको स्मरण गर्दै ज्ञवालीले भदौ २३-२४ मा भने यी तीनै आधारमा एमाले कमजोर बनेको बताए।
पुराना दलका नेताहरूले आफू स्थापित हुन वा अरूलाई खुइल्याउन एकअर्काविरुद्ध तल्लो स्तरमा ओर्लेर आलोचना गर्दा सबै पार्टी र नेताहरू खराब रहेछन् भन्ने सन्देश गएको ज्ञवालीले स्वीकार गरे।
‘एमालेले कांग्रेसलाई, कांग्रेसले माओवादीलाई, माओवादीले एमालेलाई अनि एमालेले एमालेलाई नै खुइल्याउँदा गलत तस्बिर निर्माण भयो,’ उनले भने।
यसका साथै नेताहरूबीचको ‘इगो’ को टक्कर, नेतृत्वको विधिवत हस्तान्तरण र पद प्राप्तिको वैधानिक बाटोमा नेपालका मुख्य दलहरूभित्र समस्या रहेको उनले बताए।
पार्टीका भेला र प्रदर्शनमा ५० वर्षमाथिको बाहुल्यता देखिएको सन्दर्भमा ज्ञवालीले युवाहरूसँग पार्टीको सम्पर्क केही टुटेको सत्य स्वीकार गरे।
२०५५-२०६० पछि जन्मेको पुस्ताले राजनीतिमा केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल गरी मुख्य तीन पात्रलाई मात्र आलोपालो देखेको र त्यसलाई अझ बढाइचढाइ गरिएको उनको विश्लेषण छ।
शिक्षा प्रणाली र अभिभावकको हुर्काइमा समाजसँग नजोड्ने प्रवृत्ति तथा सामाजिक सञ्जालको प्रभावले युवालाई देशको क्रमिक प्रगतिसँग जोड्न नसकिएको उनले औंल्याए। अब युवाहरूलाई संगठनमा जोड्दै उमेरसँगै परिपक्वता, बुझाइ र क्षमताको विकास गर्नुपर्नेमा उनले जोड दिए।
‘कम्युनिस्ट पार्टीका लागि निर्णायक कुरा जनताको समर्थन हो,’ ज्ञवालीले भने, ‘जहाँ-जहाँ कमजोरी रहे त्यसको चेकलिस्ट बनाएर सुधार गरे एमालेको राजनीतिक स्पेस कसैले खोस्न सक्दैन र पार्टी पुनःस्थापित हुन्छ।’
प्रकाशित: ३ मंसिर २०८३ २०:२८ बिहीबार



