पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिन थालेका छन्।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन दमन गरेको कसुरमा पक्राउ परेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिन थालेका हुन्।
गत शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य समस्या देखिएका कारण ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
चिकित्सकहरूले अस्पताल बाहिर लैजान अनुमति नदिएपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग अस्पतालमा नै बयान लिन थालिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जानकारी दिएको छ।
कार्यालयका एक कर्मचारीले नाम नबताउने सर्तमा नागरिकन्यूजसँग भने, ‘अस्पतालले बाहिर निस्कन अनुमति नदिएपछि आजदेखि त्यही गएर पूर्वप्रधानमन्त्री ओलीसँग बयान लिन थालेका छौं। अब यो पक्रिया केहीदिन चल्छ।'
यता पूर्व गृहमन्त्री रमेश लेखकको बयान भने पूरा भएको छ। जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका लेखकको बयान पूरा भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको हो।
कार्यालयका एक कर्मचारीले अब प्रहरीले अनुसन्धान गर्ने र अनुसन्धान सकिएपछि दिने सिफारिसको आधारमा प्रक्रिया अघि बढ्ने जानकारी दिए।
‘अब प्रहरीले घटनाका प्रत्यक्षदर्शीको बयान, घटनामा प्रयोग भएका सामग्रीको परीक्षण लगायतका काम गरेर उनीविरुद्ध मुद्दा चलाउने वा नचलाउने सिफारिस गर्छ। त्यसकै आधारमा हामी अघि बढ्छौं।,' उनले सुनाए।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही प्रतिवेदन कार्यान्वयनका क्रममा प्रहरीले ओली र लेखकलाई चैत १४ गते पक्राउ गरेको हो।
प्रकाशित: १९ चैत्र २०८२ १९:०५ बिहीबार