काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले फोहोर व्यवस्थापनको विषयमा एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति अन्त्य गर्दै समाधानमुखी भएर अघि बढ्न सबै पक्षलाई आग्रह गरेकी छन्।
शुक्रबार फोहोर व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनले संघ, प्रदेश र स्थानीय सरकारबीच दोषारोपण गरेर समस्या समाधान नहुने बताइन्।
‘यदि हामीले समाधान खोज्नुको सट्टा पहिले झैँ एक अर्कालाई दोष मात्र लगाइरह्यौँ भने, त्यो फोहोरमा राजनीति गरेको हुन्छ’, उनले भनिन्, ‘अब फोहोरमा राजनीति नगरौँ। समाधानतिर लागौँ। कसको सरकार, के सरकार, रातो, नीलो, हरियो, कालो कुन हो रंग नहेरौँ। सबै कुरा छोडेर समाधान तिर लागौँ।’
महानगरले गर्नुपर्ने सबै कामका लागि आफूहरू तयार रहेको उल्लेख गर्दै उनले निर्णय मात्रै नभएर सुरुदेखिको छलफलमै सहभागी भएर सहकार्य गर्न चाहेको बताइन्।
उनले बैठकमा फरक धारणा राख्ने अधिकार लोकतन्त्रको सुन्दर पक्ष भएको उल्लेख गर्दै असहमतिलाई असम्मानको रूपमा लिन नहुने धारणा राखिन्। ‘वादविवादबाटै संवाद र समाधान खोज्नुपर्छ। आफूले सोचेजस्तो कसैले बोलेन भन्दै रिसाउने वा जथाभाबी बोल्ने प्रवृत्तिले समस्या समाधान हुँदैन,’ उनले भनिन्।
डंगोलले फोहोर व्यवस्थापनको विषयमा विगतदेखि राजनीति हुँदै आएको स्मरण गराउँदै अब त्यसलाई अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
‘अब फोहोरमा राजनीति कसैले हिजो गर्नुभएको छ भने पनि छोडौँ, ऊ त्यो बैठक कोठाभित्र आउनु अगाडि छोडेर आऔँ । फोहोरमा राजनीति नगरौँ। फोहोरको साँच्चिकै नै समस्या छ भने समाधानतिर लागौँ ।,’ उनले भनिन्।
उनले विगतका कमजोरी दोहोर्याएर मात्र समय खर्चिनुभन्दा वर्तमान समस्याको समाधानमा केन्द्रित हुनुपर्ने बताइन्।
प्रकाशित: ५ भाद्र २०८३ १९:२४ शुक्रबार
-600x400.jpg)


