नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न साझा राष्ट्रिय दृष्टि र कार्ययोजना निर्माण गर्न सरकार तथा सबै राजनीतिक दललाई आग्रह गरेको छ।
उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले सुकुम्बासी समस्यालाई दलगत विषयभन्दा माथि उठाएर राष्ट्रिय जिम्मेवारीका रूपमा समाधान गर्नुपर्ने निष्कर्ष निकालेको हो।
प्रतिष्ठानले निर्वाचनका क्रममा अधिकांश राजनीतिक दलले सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता जनाए पनि निर्वाचनपछि सरकारले अपनाएको व्यवहार लोकतान्त्रिक र मानवीय मूल्यअनुकूल नभएको भन्दै आपत्ति जनाएको छ। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै त्यसको आलोचना गरेको छ।
बैठकले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकार, सत्तापक्ष, प्रतिपक्ष तथा अन्य राजनीतिक दलबीच साझा दृष्टिकोण र कार्ययोजना आवश्यक रहेको उल्लेख गरेको छ। त्यसका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाई विषयलाई प्राथमिकताका साथ छलफलमा लैजान नेपाली कांग्रेस संसदीय दललाई आग्रह गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ।
यस्तै, समस्या समाधानका लागि अन्तरदलीय संवाद र सहकार्यलाई प्रभावकारी बनाउन भूमि व्यवस्था विशेष अभियान उपसमितिका संयोजक तथा केन्द्रीय सदस्य डा. गोपाल दहितको नेतृत्वमा ‘संवाद र सहजीकरण संयन्त्र’ गठन गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रतिष्ठानले सुकुम्बासी समस्याको दिगो समाधानका लागि राजनीतिक सहमति, संवाद र समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक पहल जारी राख्ने जनाएको छ।
प्रकाशित: ३० असार २०८३ १९:५४ मंगलबार



