राजनीति

कांग्रेस १५औँ महाधिवेशनः चितवनमा भोलिदेखि वडाअधिवेशन सुरु हुँदै

नेपाली कांग्रेसको १५औं महाधिवेशन प्रक्रिया भोलि (शनिबार) देखि हुँदै छ। कांग्रेस विधान अनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत भोलिदेखि वडा अधिवेशन  हुन लागेको नेपाली कांग्रेस चितवनले भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।

प्रदेश र जिल्ला तहको अधिवेशनबाहेक सबै तहका निर्वाचन असोज १९ गतेभित्र सम्पन्न हुने कांग्रेसले बताएको छ। चितवनमा १५ औँ महाधिवेशनअन्तर्गत असोज ३ वा ४ गते जिल्लाका ९८ वडामा नै अधिवेशन हुनेछ। असोज ७ गते पालिका अधिवेशन, असोज १० गते प्रदेशसभा तथा क्षेत्रीय अधिवेशन अधिवशेन हुने जिल्ला पार्टी सभापति राजेश्वर खनालले बताए।

वडा, पालिका तथा क्षेत्रबाट चुनिएर गएका महाधिवेशन प्रतिनिधिले असोज १६ देखि १९ गतेसम्म काठमाडाैंमा हुने केन्द्रीय महाधिवेशनमा सहभागिता जनाउनेछन्। प्रदेश र जिल्लाको अधिवशेन भने दशैतिहारपछि गर्ने तयारी भएको अध्यक्ष खनालले बताए।

चितवन कांग्रेसले सबै वडाका क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ। नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा चितवनबाट २७ हजार पाँच सय जना क्रियाशील सदस्य सहभागी हुनेछन्। जिल्लामा कांग्रेसको क्रियाशील सदस्य केही घटेको जिल्ला सचिव ध्रुव पोखरेलले बताए। यसअघि १४ औँ महाधिवेशनमा   क्रियाशील सदस्य २८ हजार २०० थिए।

निर्वाचन सफल बनाउन कांग्रेस केन्द्रले प्रतिनिधि तोकेर सबै जिल्लामा पठाएको छ। ‘व्यवस्थित, मर्यादित, उत्साहपूर्ण र प्रभावकारी रूपमा अधिवशेन सम्पन्न गर्न आवश्यक तयारी छलफल, समन्वय तथा अन्तरक्रियाका लागि ९८ वटै वडा कार्यसमितिलाई बृहत वडा बैठक आयोजन गर्न पत्रचार गरेका थियौँ,’ उनले भने ‘सोहीअनुसार भेला तथा बृहत बैठक आयोजना गरी अधिवशेनको तयारी सम्बन्धी आवश्यक छलफल र समन्वय गरिसकेका छन्।’

यस पटक कांग्रेस चितवनले वडा अधिवेशनबाट ९८ महिला वडा उपसभापतिको नेतृत्वमा आउने अवसर सुनिश्चित गरेको छ। यसैगरी १८९ जना युवा पुस्ताका लागि वडा कार्यसमितिमा स्थान सुनिश्चित गरिएको उनले बताए। ‘पार्टी संगठनलाई थप समावेशी र प्रतिनिधिमूलक बनाउने उद्देश्यले दलित समुदायको प्रतिनिधित्व समेत सुनिश्चित गरिएको छ। प्रत्येक वडाबाट कम्तीमा एक जना दलित सदस्यलाई प्रत्यक्षतर्फ वडा कार्यसमितिमा प्रतिनिधित्वको व्यवस्था गरिएको छ’ उनले भने ‘यो व्यवस्थाले पार्टीको आधारभूत तहको संगठनमा महिला, युवा तथा दलित समुदायको अर्थपूर्ण सहभागिता र नेतृत्व विकासलाई संस्थागत गर्ने अपेक्ष गरिएको छ।’

चितवनमा करिब ३१०० क्षेत्रीय प्रतिनिधि रहेछन्। वडाबाट निर्वाचित हुने यी क्षेत्रीय प्रतिनिधिहरू आउँदाे चरणमा हुने पार्टीका विभिन्न तहका अधिवेशन तथा निर्वाचन प्रक्रियामा महत्त्वपूर्ण भूमिकामा रहने सचिव ध्रुव पोखरेलको भनाइ छ। 

प्रकाशित: २ आश्विन २०८३ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App